Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

पोर्चुगल – वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली दम्पती रोगले च्यापेपछि समस्यामा परेका छन् । आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुरको सूर्यविनायक नगरपालिका-९, सिपाडोलका ४८ वर्षका चन्द्रकिशोर पराजुली र उहाँकी श्रीमती ४६ वर्षकी शर्मिला शाक्य रोगले थलिएका हुन् ।

चन्द्रकिशोरको पक्षाघात भई देब्रे तर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ्यानमै थलिनु भएको छ । श्रीमती शर्मिलाको दुवै मिर्गाैला बिग्रेपछि दुई महिनादेखि ओछ्यान पर्नुभएको छ ।  गएको माघ २६ गते बिहान उठ्न खोज्दा देब्रे तर्फको शरीरको एक हर नचल्ने, मुखबाट र्‍याल मात्र बग्ने र बोल्न पनि नसक्ने भएपछि श्रीमतीले उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएको थियो । उच्च रक्तचापका कारण पक्षघात भएका चन्द्रकिशोर १० दिनको उपचारपछि घर फर्किनुभएको छ । चिकित्सकको सल्लाह अनुसार चन्द्रकिशोरले दैनिक व्यायाम गर्नुपर्ने र नियमित औषधी सेवन गर्नुपर्ने भएको छ । उपचारपछि बोल्न सक्ने भएपनि उठ्न, बस्न र चल्न सक्ने स्थिती भने छैन ।

श्रीमानको औषधोपचार, रेखदेख र स्याहार गरिरहेकी शर्मिलाको श्रीमानलाई अस्पतालबाट ल्याएको केही दिनमै खुट्टा सुनियो । चन्द्रकिशोरले श्रीमतीको उपचारका लागि अस्पताल पुर्याए । सामान्य खुट्टा सुनिएकी शर्मिलाको उपचार गर्न अस्पताल लैजाँदा दुवै मिर्गौला बिग्रिएको चिकित्सकले बताए । शर्मिलाले भन्नुभयो ‘दुवै मिर्गाैला फेल भइसकेको कुरा सुन्दा बुढाबुढी नै रोइकराइ गर्‍यौं तर हाम्रो रोइकराइ सुनिदिने कसले ? दुवै जना थलिएपछि हाम्रा दिन रोएर नै बित्ने गरेका छन्’ गहभरी आँशु निकाल्दै शर्मिलाले आफ्नो पीडा सुनाउनुभयो, ‘हामी त बेसहारा भयौं, सहारा दिने कोही छैन । जीवन र मृत्युको दोसाँधमा छौं हजुर ।

परदेशको बसाइ, त्यसमाथि श्रीमान् श्रीमती दुवै जना ओछ्यानमा थलिनुपर्दा हाम्रो त बिजोक भएको छ ।’ कागजपत्र मिलाएर दुई वर्ष अगाडि मात्र पोर्चुगल आएकी शर्मिलाले छ महिनादेखि काम आउनुभएको थियो ।  अहिले शर्मिलाको दुवै मिर्गाैलाको डायलासिस भइरहेको छ भने चन्द्रकिशाोरको उपचार भइरहेको छ । चन्द्रकिशोर दम्पती ओछ्यानमै थला परे पनि पानीसम्म दिने मान्छे साथमा छैनन् । बिरामीको रेखदेख र स्याहार त कता हो कता, बिहान बेलुकीको खानाको जोहोसम्म गरिदिने कोही छैनन् । पराजुली दम्पती राजधानी लिस्बनस्थित आरोइसको एउटा घरको कोठा भाडामा लिएर बस्दै आएको छ ।

श्रीमान् श्रीमती दुवै थलिएपछि औषधोपचारका लागि सहयोग संकलन अभियान शुरु गरिएको चितवन समाज पोर्चुगलका अध्यक्ष तुलसीराम थपलियाले जानकारी दिनुभयो । चन्द्रकिशोर दम्पतीको जीवनरक्षाका लागि विश्वभर रहेका सबै नेपालीलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको थपलियाले बताउनुभयो । उनीहरुको औषधोपचार र सहयोगका लागि आफूहरु संस्थागत रुपमा लागिपरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताउनुभयो । यहाँको सरकारीस्तरबाट पाउनसक्ने सेवा सुविधा र औषधि उपचारका लागि पनि पहल भइरहेको उहाँले बताउनुभयो । –रासस

तपाईको प्रतिक्रिया