Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैँ – पछिल्ला केही वर्षदेखि शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाको संख्या तीव्र रूपमा बढ्दो छ । खासमा यौनांगबाट बच्चा जन्माउँदा आमालाई पीडा हुने डरले शल्यक्रिया गरेको पाइन्छ । तर, यसरी बच्चा जन्माउँदा दीर्घकालीन रूपमा आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ । त्यसैले, बाध्यात्मक अवस्थामा मात्र सिजरियन डेलिभरीको सहारा लिँदा आमा र बच्चा दुवैलाई राम्रो हुन्छ । यी हुन् सिजरियन डेलिभरीका अवस्था :

प्रियंका विक, स्टाफ नर्स, उपक्षेत्रीय अस्पताल, डडेल्धुरा

शिशुको अवस्था

बच्चाको आसन ठीक नभएको अवस्थामा सिजरियन डेलिभरी गर्नुपर्ने हुन्छ । खासगरी बच्चाको टाउकोको माथिल्लो भाग अर्थात् टुप्पी पाठेघरको मुखमा हुनुपर्छ । तर, यसो नभएर पुठ्ठा, अनुहारका भाग पाठेघरको मुखमा बसेको अवस्थामा सिजरियन डेलिभरी गर्नुपर्ने हुन्छ ।

त्यस्तै, शिशु तेर्सो भई बसेको अवस्थामा पनि सिजरियन डेलिभरी गराउनुपर्ने हुन्छ ।

कहिलेकाहीँ शिशुको खुट्टा वा हात पाठेघरको मुखबाहिर झरेको पनि हुन सक्छ । यस्तो अवस्थामा सिजरियन डेलिभरीको विकल्प हुँदैन ।

बच्चाको ढुकढुकी प्रतिमिनेट १२० भन्दा कम हुँदै गएको अवस्थामा सिजरियन डेलिभरी गर्नुपर्ने हुन्छ । त्यस्तै, १६० भन्दा बढी भएको अवस्थामा पनि यसरी नै डेलिभरी गराउनुपर्छ ।

शिशुले बाक्लो दिसा गरेको अवस्थामा पनि नर्मल डेलिभरी गराउनु हुँदैन ।
आमाको अवस्था

नाल पहिले नै बाहिर आएको वा झरेको छ भने सिजरियन डेलिभरी गर्नुपर्ने हुन्छ ।

साल र नाल पाठेघरको मुखमा बसेको वा झरेको, शिशु जन्मनुअघि नै पाठेघरबाट साल छुट्टिएको अवस्थामा पनि नर्मल डेलिभरी गर्न सकिँदैन ।

गर्भवती आमालाई लामो समयसम्म बेथा लागे पनि पाठेघरको मुख नखुलेको अवस्थामा सिजरियन डेलिभरीको जरुरत पर्छ ।

पाठेघरभित्र बच्चा खेल्नका लागि आवश्यक पानी हुन्छ । यदि यस्तो पानी कम भएको तर बेथा पनि सुरु हुन नसकेको अवस्थामा नर्मल डेलिभरीको स्थिति हुँदैन ।

बच्चा जन्मनका लागि पेल्भिक बोन पनि आवश्यक मात्रामा फराकिलो हुन अवश्यक हुन्छ । यस्तो बोन सानो वा साँघुरो भएको अवस्थामा नर्मल डेलिभरी गर्न गाह्रो हुन्छ ।

शिशु जन्मनका लागि निश्चित समयावधि हुन्छ । बेथा लागेको लामो समयसम्म पनि शिशु बाहिर नआउने र आमाको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएमा सिजरियन डेलिभरीको सहारा लिनुपर्ने हुन्छ ।

शल्यक्रियापछि

आमाको पेट चिरेर बच्चा निकाल्दा उक्त चिरेको भागको विशेष ख्याल राख्न जरुरी हुन्छ । नत्र, उक्त घाउ पाक्ने सम्भावना प्रबल हुन्छ । घाउ पाक्यो भने कीटाणु संक्रमण हुन्छ र गम्भीर प्रकृतिको समस्या पनि निम्तिन सक्छ । त्यसैले गम्भीर रोगबाट बच्न चिकित्सकको सल्लाहअनुसार घाउको नियमित सरसफाइ र औषधोपचार गर्नुपर्छ ।

शल्यक्रियाबाट बच्चा जन्मिसकेपछि केही दिन अस्पतालमै रहनुपर्छ । अस्पतालमा पारिवारिक माहोल नहुन पनि सक्छ । जसले सुत्केरी स्याहारलाई प्रभावित पार्छ ।

शल्यक्रिया गरेर बच्चा जन्माउँदा रक्तश्रावबारे विशेष ध्यान दिन जरुरी हुन्छ । शल्यक्रिया गरेर बच्चा जन्माउँदा होस् वा त्यसभन्दा पछि अत्यधिक रक्तश्राव हुने गर्छ । यस्तो अवस्थामा विशेष ख्याल नगर्दा आमाको ज्यान पनि जान सक्छ ।

तपाईको प्रतिक्रिया