बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो–गतवर्ष पर्यटक र प्रशिक्षार्थी कामदारका रुपमा जापानमा आउनेहरुले सबैभन्दा बढि शरणार्थी भिषा आवेदन गरेको न्याय मन्त्रालयले जनाएको छ ।
शरणार्थीका लागि कूल आवेदकहरु मध्ये ८० प्रतिशत अर्थात १९ हजार ६ सय २९ जना जापानमा छोटो समयका लागि घुम्न तथा प्रशिक्षार्थी कामदारका रुपमा आएकाहरु रहेको मन्त्रालयलाई उदृत गर्दै निक्केई अनलाइनले समाचार प्रकाशन गरेको छ । यो तथ्यांक सन् १९८२ यताकै सबैभन्दा धेरै रहेको पनि उल्लेख गरिएको छ ।

आवेदकहरु मध्य प्रशिक्षार्थी कामदारका रुपमा जापान भित्रिएका तेब्बर अर्थात ३ हजार ३७ रहेका छन् भने छोटो समयका लागि जापान घुम्नका लागि आएकाहरु दोब्बर रहेको मन्त्रालयद्वारा शुक्रबार जारी प्रतिवेदनमा जनाइएको छ ।

कूल आवेदकहरु मध्ये फिलिपिनीहरु सबैभन्दा धेरै अर्थात एक चौथाई रहेका छन् भने त्यसपछि भियतनामी र श्रीलंकन रहेको देखाइएको छ । प्रतिवेदनमा आवेदन गर्ने देशहरुमा कुनै ठूलो संकट भएको नपाइएकोले सुक्ष्म ढंगले छानबिन भैरहेको समेत जनाइएकोे छ ।
सन् २०१० मा शरणार्थीहरुका लागि ल्याइएको नियमको फाईदा उठाउदै शरणार्थी आवेदन गर्नेहरुको संख्या बढेकोमा मन्त्रालयले दुख प्रकट गरेको जनाउदै अब कानुनलाई व्यवस्थित गरी आवेदनमा कडाई गरिने जनाएको छ । नियमानुसार शरणार्थी आवेदकले आवेदन गरेपछि प्रक्रिया पुरा नभएसम्मका लागि काम गर्न पाईने व्यवस्था रहेको थियो ।

अधिकांश प्रशिक्षार्थी कामदारहरुले रोजगारी सम्बन्धी सम्झौताको उलङ्घन गरी गैर भुक्तानीमा काम गरेको पाइएको पनि बताइएको छ । मन्त्रालयले गत जनवरीदेखि शरणार्थी आवेदनमा कडाई गरेको छ । आवेदनलाई अनुचित लागेमा सरकारले तुरन्तै नियन्त्रणमा लिई आफ्नै देशमा फिर्ता गर्ने समेत जनाएको छ ।

गत वर्षमा इजिप्ट, सिरीया र अफगानिस्तान सहितका देशलाई गरेर जम्मा २० जनालाई मात्र शरणार्थीको मान्यता दिइएको पनि जनाइएको छ । ***

तपाईको प्रतिक्रिया