बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – अबको केही समयपछि नै जापानको पार्क, उद्यान, बगैचा, नदि तथा सडकको किनारतिर जापानको राष्ट्रिय फूल साकुरा ढकमक्क फुलेर सबैको ध्यान आकर्षित गर्दैछन् । साकुरा फुल्दाको मौसममा जापान नवदुलहीझैं सिंगारिन पुग्छ र प्रकृतिमा रमाउन मन पराउने यहाँका मानिसहरु साकुराको बोटमुनि झुम्मिन पुग्छन् अनि आपसमा सुखदुख साटासाट गर्दै खानपानसहित रमाईलो गरी पुष्पावलोकन पर्व मनाउँछन् जसलाई जापानी भाषामा हानामी भनिन्छ ।
‘हाना’ भनेको फूल र ‘मी’ भनेको हेनु हो, अर्थात फूल हेर्ने उत्सवकोरुपमा यो साकुरा फुल्ने मौसमले धेरैको मन त्यसैत्यसै लोभ्याईदिन्छ र सबैकुरा बिर्साईदिन्छ । त्यसैले त देश बिदेशका मान्छेहरु ढकमक्क फुलेको साकुराको फूल हेर्न लालायित हुने गर्दछन् ।  यसैअवसरमा जापानमा रहेका नेपालीहरु पनि आफुलाई पायक पर्ने साकुराका उद्यानहरु भएको ठाउँमा भेला भई आफ्नै शैलीमा रमाईलो गर्ने र आपसमा सुखदुख साट्ने गर्दछन् । आफ्नो विदाको अनुकुलता हेरि मिल्ने साथीहरुको समुह बनाई घरबाटै विभिन्न प्रकारका खानेकुरा र पेय पदार्थ लिएर साकुराको बोटमुनि बसेर रमाईलो गर्दै खानु पिउनुको मजा अर्कै हुन्छ । सबैभन्दा पिक समयमा त बस्नका लागि साकुराको बोट मुनि राम्रो ठाउँ पाउन एकाबिहानै गएर उछिन्नुपर्ने हुन्छ, नत्र बस्ने ठाउँको अभावमा हानामी भनेजस्तो नजम्न सक्छ । मौसमको अनुकुलता हेरी मार्च महिनाका अन्तिमका केही दिनहरु देखि अप्रिलको पहिलो साता जापानमा साकुरा फुल्ने उपयुक्त समय हुन् । साकुराको फूल धेरै दिनसम्म नटिक्ने हुनाले छोटो अवधि भित्रै साकुराको सौन्दर्यता हेर्न मौका छोप्नुपर्ने हुन्छ ।

सिन्जुकु ग्योयन, उएनो पार्क, चिदोरीगाफुची, सुमिदा पार्क आसाकुसा, योयोगी पार्क, आसुकायामा पार्क, मेगुरो रिभरसाइड, इनोकाशिरा पार्क, कोइशिकावा कोराकुयिन, कोइशिकावा बोतानिकल गार्डेन लगायतका साकुराका उद्यानहरु सेन्ट्रल टोकियो एरियाका हानामीका लागि उपयुक्त ठाउँहरु हुन् । यसैगरी शोवा मेमोरियल पार्क ताचीकावा, कोगाने पार्क मुशासीकोगाने, माउन्ट ताकाओ आदि टोकियो आसपासमा पर्ने प्रसिद्ध हानामी स्पट मानिन्छन् । जापानको राष्ट्रिय फूल साकुरा धेरै वर्ष पहिले सुरुमा नेपालबाट ल्याईएको भन्ने पढ्न पाईन्छ । साकुरा फुल्ने समयमा जापानीहरु मात्र नभएर विदेशीहरु समेत साकुराको बोटमुनि झुम्मिन पुग्दछन् । यसै मेसो पारेर विदेशबाट समेत बर्षोनी लाखौं विदेशीहरू जापान घुम्न आउने गर्दछन् । यसरी आउनेहरुमा जापानका नजिकका छिमेकी मुलुकहरु दक्षिण कोरिया, चीन, फिलिपिन्स, थाईल्याण्ड, मलेसिया, सिंगापुर, मंगोलिया, भियतनाम लगायतका बढि देखिन्छन् । उसो त अन्य मुलुकबाट पनि साकुराको सिजन छोपेर जापान घुम्न आउने पर्यटकहरुको संख्या बढ्दो रहेको तथ्याङ्कहरुले देखाउँछन् । पछिल्ला समयमा नेपालबाट पनि साकुरा फुल्ने समयमा जापान घुम्न आउनेहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

जसरी जापानले साकुरालाई देशको अर्थतन्त्रसंग जोड्न सफल भएको छ त्यसैगरी नेपालले पनि अलौकिक सौन्दर्यता झल्किने हाम्रा बनपाखा नै राताम्मे बनाएर फुल्ने लालीगुराँसको महत्व र महिमा बारे राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्धनमार्फत देशको अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।***

 

तपाईको प्रतिक्रिया