बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानका प्रधानमन्त्री शिन्जो आबे र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन उत्तर कोरियामाथि निरन्तर दबाव दिन सहमत भएका छन् ।

दुई नेताबीच शुक्रवार भएको टेलिफोन वार्तामा प्रधानमन्त्री आबेले उत्तर कोरियाको रवैयामा केही परिवर्तन आएको भएपनि उसले परमाणु तथा मिसाइल परीक्षण स्थगित गरेर मात्र नपुग्ने बताए ।
सो अवसरमा प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई स्वीकार्य हुने गरी परमाणु तथा मिसाइल विकासमा उत्तर कोरियालाई रोक लगाउन अन्तर्राष्ट्रिय समुदायबाट ठोस कदम चालिनुपर्नेमा जोड दिए ।

प्रत्युत्तरमा राष्ट्रपति मुनले दक्षिण कोरिया, जापान र अमेरिकाको संयुक्त प्रयासमा उत्तर कोरिया वार्ताका लागि तयार भएको बताए । जसका कारण उत्तर कोरियासंग दक्षिण कोरिया र अमेरिकाबीच हुने भनिएको छुट्टाछुट्टै शीखरवार्ता संभव हुन लागेको बताए । उनले दक्षिण कोरिया, जापान र अमेरिका बीचको सहकार्य निरन्तर अगाडि बढ्ने बिश्वास पनि ब्यक्त गरे ।

जापानी सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार फोनवार्तामा पूर्णरुपमा परमाणु कार्यक्रम बन्द नहुञ्जेलसम्म उत्तर कोरियामाथि निरन्तर दबाव जारी राख्न दुबै नेता सहमती भएका छन् ।

आफुहरुले जापान र उत्तर कोरियाबीचको सम्बन्धलाई सामान्य एवं मैत्रीपूर्ण बनाउन चाहेको र त्यसभन्दा पहिले दुईदेशबीच विद्यमान द्विपक्षीय मुद्दा सुल्झाउन जापान कटिबद्ध रहेको प्रधानमन्त्री आवेले बताए । जसमा उत्तर कोरियाद्वारा जापानी नागरिक अपहरण गरिएको लगायतका मामिलाहरु रहेका छन् । उनले अप्रिलको अन्तिम साता हुन गईरहेको उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच हुने शीखरवार्तामा जापानी नागरिक अपहरणको मुद्दा उठाईने पनि बताए ।***

तपाईको प्रतिक्रिया