सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – ओमकुमारी शान्ति कोष म्याग्दीको सहयोगार्थ आइतवार टोकियोमा एक अन्तरक्रियासहितको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आयोजनामा भएको सो कार्यक्रममा उक्त कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अभावको कारणबाट कोही पनि म्याग्देलीहरु स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको बताउनुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष शाक्यले उक्त कोषबाट हालसम्म ५ दर्जनभन्दा बढि विपन्न परिवारका अति संवेदनशील अवस्थाका बिरामीहरुको उपचार भईसकेको बताउनुभयो । उहाँले कोषलाई डेढ करोडको अक्षय कोष बनाउने अभियानमा सहकार्य गर्न बिभिन्न मुलुकमा रहेका म्याग्देलीहरुलाई आह्वान गर्नुभयो । अभियानकै क्रममा आफ्नै खर्चमा विभिन्न मुलुकहरुमा पुग्ने गरेको र सोही सिलसिलामा हाल जापान आउनुभएका अध्यक्ष शाक्यले सहयोगीहरुबाट संकलित रकमबाट निकट भविष्यमै अक्षयकोष खडा गरिने उदघोष गर्नुभयो । कोषको ब्याजबाट विरामीको पारिवारिक अवस्था हेरी उपचारमा सहयोग गरिने लक्ष रहेको बताईएको छ ।

मोना जापानका अध्यक्ष महेन्द्र वानियाँको सभापतित्वमा भएको सो कार्यक्रममा मोना एशिया प्यासिफिकका संयोजक ददिवल खड्का, उपसंयेाजक तारा कार्की, मोना जापानका सल्लाहकारद्वय तिलक मल्ल र महेन्द्र खड्का, एनआरएन जापान क्षेत्रीय समिति नागोयाका संयोजक समेत रहनुभएका मोना जापानका वरिष्ठ उपाध्यक्ष दिपक केसी, गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापा लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । बोल्ने बक्ताहरुले शान्ति कोषका लागि सक्दो सहयोग जुटाउन आ-आफ्नो ठाउंबाट सबै लागिपर्नुपर्नेमा जोड दिनुभएको थियो ।

राष्ट्रियगानबाट सुरु गरिएको सो कार्यक्रममा मोना जापानकी उपाध्यक्ष इन्दिरा गर्वुजाको स्वागत मन्तब्य रहेको थियो ।

कार्यक्रममा ओमकुमारी शान्ति कोषको हालसम्मका गतिविधि र भावी कार्ययोजना समेटिएको भिडियो समेत प्रदर्शन गरिएको थियो ।

कोषको सहयोगार्थ मोना जापानको पहलमा सहयोग राशी संकलन कार्य भईरहेको छ । जसअनुसार मोनाको नागोया क्षेत्रीय कमिटीबाट करिव ४ लाख ६० हजार समेत गरी हालसम्म जापानबाट मात्रै करिव १२ लाख रुपैंया संकलन भईसकेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । मोनाका एशिया संयोजक ददिवल खड्काले ब्यक्तिगतरुपमा २ लाख १० हजार येन, मोनाका वरिष्ठ उपाध्यक्ष दिपक केसीले १ लाख ११ हजार १ सय ११ येन, मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले ५२ हजार येन सहयोग प्रदान गर्नुभएको छ । कोषका लागि यसरी नै स्वतःस्फुर्त सहयोग राशी संकलन भईरहेको बताईएको छ ।
डेढ करोड लक्ष राखिएको उक्त अक्षय कोषमा हालसम्म करिव १ करोड रुपैंया संकलन भईसकेको छ भने थपिने क्रम जारी रहेको बताईएको छ ।
अध्यक्ष शाक्यका अनुसार २०७१ सालमा स्थापना भएको ओमकुमारी शान्ति कोषलाई विदेशमा रहेका म्याग्देलीहरुबाट उत्साहजनक सहयोग भईरहेको छ । अभियानकै क्रममा निकट भविष्यमै अध्यक्ष शाक्य हङकङ, बेल्जियम, कोरिया लगायतका देशहरुमा जाने कार्यक्रम रहेको छ ।

कार्यक्रमको समापन गर्दै सभापति वानियाँले ओमकुमारी शान्ति कोषले हालसम्म गर्दै आईरहेको कार्यको सह्राना गर्दै यस पवित्र कार्यमा हातेमालो गर्न जापान लगायत संसारभरि रहेका म्याग्देलीहरुलाई आह्वान गर्नुभयो । कार्यक्रमको अन्तमा, शान्ति कोषका अध्यक्ष शाक्यले सहभागीहरु सबैलाई मायाको चिनो ढाका टोपी उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रम मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।***

 

ओमकुमारी शान्ति कोष बारे जानकारीमुलक भिडियो 

 

तपाईको प्रतिक्रिया