Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

ललितपुर – विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन् ।

यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन् । संगठनका सदस्य राष्ट्रले कुष्ठरोगी घटाउनुपर्नेमा झनै बढिरहेको छ । सन् २०१० (विसं २०५७ तिर) मा नेपाल सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नयाँ बिरामीको संख्या बढ्नु चुनौतीको विषय बनेको यस क्षेत्रमा कार्यरत व्यक्ति बताउँछन् । महिला र बालबालिकामा यो रोग बढिरहेको आनन्द वन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो ।

यस वर्ष मात्रै १४ वर्षमुनिका २२० नयाँ बिरामी फेला परेका छन् । उहाँले भन्नुभयो, ‘रोग लागेर पनि औषधि नखाने व्यक्तिको श्वासबाट यो रोग अर्कोलाई सर्छ ।’ बिरामीले चाँडो औषधि शुुरु गर्दा उसको रोग नफैलने र अरुलाई नसर्ने हुन्छ । प्रति १० हजार जनसंख्यामा एक प्रतिशतभन्दा कमलाई रोगको प्रभाव देखिएकाले सरकारले रोग निवारणको घोषणा गरेको थियो । सात वर्ष पहिले प्रति १० हजार जनामा ०.७९ रहेको स्वास्थ्य विभाग, कुष्ठरोग निवारण महाशाखाका रवीन्द्र बाँस्कोटा बताउनुहुन्छ ।

यस वर्षको राष्ट्रिय तथ्याङ्क हेर्दा बिरामीको संख्या प्रति दश हजारमा ०.९७ छ । प्रति १० हजारमा एक ननाघेकाले अझै गर्न सकिने भए पनि ढुक्क हुने अवस्था छैन । उहाँ भन्नुहुन्छ, ‘संख्या माथि उक्लिरहेकाले ढुक्क हुने अवस्था छैन ।’ तराईका बाँके, बर्दिया, नवलपरासीलगायत जिल्लामा कुष्ठरोग प्रभावितहरु बढी पाइएको छ । सबैभन्दा बढी बिरामीको चाप प्रदेश नं २ मा छ । यस प्रदेशमा आव २०७३-७४ मा प्रति दश हजारमा १९.७७ बिरामी थिए ।

द लेप्रासी मिसन नेपालका निर्देशक शोभाकर कँडेल कुष्ठरोग स्वास्थ्य मात्रै नभएर सामाजिक र आर्थिक समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो समस्या समाधानका लागि सबै पक्ष मिलेर लाग्न खाँचो छ ।’ नेपालमा कुष्ठरोगको समस्या कम नहुनु नेपालका लागि मात्रै नभएर विश्वका लागि समेत समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले रोग लाग्ने, सर्ने र अंगभंग हुने व्यक्तिको संख्या ‘शून्य’ सहित कुष्ठरोगरहित विश्वको कल्पना गरेको संयोजक पोखरेल बताउनुहुन्छ ।

संगठनले कुष्ठरोग लागेका कारण तिरस्कार गरिने कानून हटाउन भनेको छ । नेपालको मुलुकी ऐनको विवाहसम्बन्धी महलमा कुष्ठरोग लागेकामा विवाह गर्न-गराउन नहुने भनेर राखिएको छ । उहाँ भन्नुहुन्छ, ‘यसले गर्दा कुष्ठरोग प्रभावितलाई अन्याय भएको छ ।’ माइक्रोब्याक्टेरियम लेप्रे नामक कीटाणुका कारण यो रोग लाग्छ । कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने यो रोग लाग्छ ।

विभिन्न अध्ययनले कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि एक प्रतिशतलाई मात्र रोग लाग्छ । बाँकी ९९ प्रतिशत व्यक्तिको शरीरमा भएको रोग निरोधक शक्तिले काम गर्ने अध्ययनमा देखिएको छ । कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति हुँदैन । उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गएर अंगभंगको अवस्था आउँछ । कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार यो आवमा प्रतिलाखमा ११.२३ बिरामी थप भएका छन् ।

लेप्रोसी मिसन अस्पतालमा सन् २०१७ (विसं २०७३ तिर)मा सात हजार ८०५ बिरामीले उपचार गराए । अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीको संख्या एक हजार ५४० थियो । अन्य संस्थाले ८३ बिरामीलाई विशेष उपचारका लागि आनन्द वन अस्पतालमा सिफारिस गरी पठाएका थिए । अस्पतालले कुष्ठ प्रभावित व्यक्तिको पुनःस्थापना र सन्तानको शिक्षामा समेत सहयोग पुर्याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया