पूर्खाले घ्यू खाए
तर पनातिको हात गनाएन
सारा जंगल नै फडानी गरेर घर बनाए
आलडाँडाँ र गहतेबारी बनाए
तर यो मायानाथको पनाति
अतिवादी पूर्खाको सत्यवादी सन्तति बन्छु भन्छ ।
–
जिजुबाले पाँचवर्षे जिजूमा बिहे गरे रे
माघे पँधेरो बनाए रे
झगरे र खाङसाँङ सबैतिर ससुराल बनाए रे
वारि र पारिका आफन्त चिन्न सकेनन्
छोराछोरी पढ्न दिएनन्
पढेपछि मान्छे बिग्रिन्छ भनेर
घाँस मात्रै कटाए रे ऊ बेला
जिमथली, चाल्नेखोला र सुनकोशीको
पानी गाग्रीमा बोक्दा बोक्दै
जन्तरी फुपू झापातिर लब’ म्यारिज गरिछन्
नाबालिग फुपूहरूको बिहे गर्दा
फुपाजूको खेतको गरो मात्रै हेर्थे रे
अनि खोया बनेको हाम्रा फुपू र काकाहरूको
बतासे घरको सानो पिँडीमा मायानाथले
बुढेसकाल बिताएछन्
तर जीवनसँग कहिल्यै डराएनन् रे मायानाथ ।
–
आफ्ना रूपवतीहरूलाई सुनकोशीको
खहरे भेल सम्झेर उनले जात्रा र पर्वमा
‘रम’ र ‘रउस’ गर्न कहिल्यै चुकेनन्
ठूली जिजूमाको घुडाँमूनिको ठूलो खत
र ओखलढुंगे मायानाथको सम्वन्ध प्रगाढ छ
उनको प्रतापी त्यो ढुंगाको चोटले
जिजूमा दूईतीन वर्ष थलिनु भएछ
प्रेम र युद्दमा सब कुरा जायज हुन्छ भनेर
पछि फेरि सम्झौता गर्नु भएछ
मायानाथको पनाति उसको
जिजुबा जत्तिको आधुनिक त हुन नसक्ला
पूर्खाको लुटिएको खुशी फर्काउँछु भन्छ
अतिवादी पूर्खाको सत्यवादी सन्तति बन्छु भन्छ ।
( कविको २०१७-१२-३०मा ‘मनोहराको छेउ’ कविता संग्रह प्रकाशित भएको छ ।)