शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुवात गरेको छ । भैरहवाले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा भैरहवाले सहज जित हात पारेको हो । ११९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १६.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । भैरहवाको जितमा भारतीय खेलाडी पुनित विष्टले नटआउट ४२ रन बनाए । त्यस्तै, कप्तान शरद भेषवाकरले ३२ रनको योगदान दिए । भैरहवाका लागि आरिफ शेखले नटआउट २३ र हरिशंकर शाहले १४ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो । काठमाडौंका लागि अमित श्रेष्ठले २९ र भारतीय खेलाडी सागर कुमारले २८ रन बनाएका थिए । काठमाडौंका लागि राजु रिजालले भने २२ रन बनाएका थिए । बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ र कप्तान शरद भेषवाकरले २ विकेट लिए ।

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको छ । प्रतियोगितअन्तर्गत बिहीबार पनि दुई खेल हुँदैछ । पहिलो खेल ललितपुर प्याट्रिएट्सले भैरहवासँग र दोस्रो खेल चितवन टाइगर्सले काठमाडौं किंग्ससँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया