काठमाडौं – नेपालले एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३.।५ ओभरमा अलआउट हुँदै ११२ रनमात्रै बनाउन सक्यो । सिंगापुरका लागि साइ हर्ष भेनुगोपालले ३१, आर्नभ वाध्वाले २१ र राओल शर्माले १५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सूर्य तामाङ र अजय कुमार लोनियाले समान ३-३ विकेट लिए । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको थियो ।
सिंगापुरका लागि इशान सवनीले २ विकेट लिए । उपाधि उचालेको नेपालले प्रतियोगिताको कुनै पनि खेलमा हार ब्यहोर्नु परेन । नेपालले खेलको ५ वटै खेलमा जित हात पारेको छ ।