शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) बाँधिएका एक जना छन् ।
स्थलगत मार्गबाट आउने केही छुटपुटबाहेक सबै दूतावासको सम्पर्कमा आउने गर्छन् । उनीहरू नेपाली दलालमार्फत नेपालबाट हिँडेर विभिन्न मुलुकका दलाल भेट्दै पैसा बुझाउँदै आइपुगेका हुन्छन् । यसरी नेपालबाट क्यारेबियन मुलुक, साउथ अमेरिका, मेक्सिकोको बोर्डर हुँदै अमेरिका आइपुग्न तीन महिनादेखि नौ महिनासम्म लाग्छ । कतै मरुभूमिमा हिँड्दै, मालवाहक ट्रकमा कोचिएर, महिनौं दिनसम्म पानीमात्रै पिएर, कतै पानीजहाज चढ्दै, कतै लुकेर धेरै दुःख झेल्दै आइपुगेका हुन्छन् ।
एउटा व्यक्ति यहाँसम्म आइपुग्दा सामान्यतया ४० देखि ५० लाख खर्च भएको हुन्छ । ‘७५ लाखसम्म दलाललाई बुझाएर आएको मान्छे भेटियो’, दूतावासका एक अधिकारीले भने, ‘ताप्लेजुङको फुङलिङबाट ६ महिना लगाएर, त्यत्रो पैसा खर्च गरेर आइपुगेको मान्छेले कहिले त्यो ऋण तिरिसक्ने ? सुरुका केही महिना त काम गर्न पनि पाउँदैनन् । उनीहरूलाई खान र बाँच्नकै लागि समस्या हुन्छ ।’
उनीहरू अमेरिका छिर्नेबित्तिकै आत्मसमर्पण गर्छन् । इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले हिरासतमा राख्छ र अन्तर्वार्ता लिएर असाइलम (राजनीतिक संरक्षण) फाइल गर्छ । यसरी आइपुगेका सबैले असाइलम फाइल गर्न पाउँछन् । त्यसपछि आइसका अधिकारीहरूले केही रकम धरौटी लिएर मुद्दाअनुसार केहीलाई खुट्टामा जीपीएस लगाएर छोडिदिन्छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले आप्रवासी नीतिमा कडाइ गर्न थालेपछि त्यसरी धरौटी बुझाउनुपर्ने रकमको दर बढेको छ । पहिले मुद्दा हेरेर पाँचदेखि १० हजारसम्म बुझाउनुपथ्र्यो भने अहिले १० हजारभन्दा बढी रकम बुझाइरहेका छन् ।

तपाईको प्रतिक्रिया