टोकियो – केही वर्षदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका गुल्मेली युवा गायक प्रेमकुमार बस्नेतले नयाँ शैलीको पञ्चवाजामा दोहोरीको म्युजिक भिडियो बजारमा ल्याएका छन् । गायक बस्नेत र गायिका जमुना सनमको स्वरमा सजिएको ’माथि रेसुङ्गा तल खानीगाउँ’ बोलको म्युजिक भिडियो यु-ट्युव मार्फत हालै बजारमा आएको हो ।
नेत्र अर्यालको शब्द लय र आशिष अविरलको संगीत संयोजन रहेको सो म्युजिक भिडियोमा प्रकाश सपुत, करिश्मा ढकाल, जीवन र सविनाको अभिनय रहेको छ ।
सनम क्रियशनको प्रस्तुती ’माथि रेसुङ्गा तल खानीगाउँ’ मा झांगिदै गएको मायाप्रीति बैबाहिक जीवनमा रुपान्तरण हुँदै गर्दाको सन्दर्भलाई बिषयवस्तुका रुपमा उठान गरिएको छ । संधैका लागि जन्मघर छोड्नुपर्दाको नारी पीडा र आफुले चाहेको जीवनसाथी पाउँदाको खुशी एवं कौतुहुलतापूर्ण काउकुटी नै प्रस्तुत गीतमा केन्द्रीय भाव रहेको छ ।
गायक बस्नेतले ’पाल्पा घुम्न जाउँ….’, ’बुटवल पोखरा….’ लगायत करिव आधा दर्जन जति साँगीतिक सिर्जनापछि ‘माथि रेसुङ्गा..’ प्रकाशमा ल्याएका हुन् । लोक तथा दोहोरी क्षेत्रमा बिशेष दखल राख्ने सुमधुर स्वरका धनी बस्नेत बाद्यबादनमा पनि उत्तिकै माहिर छन् । कम बोल्ने र मिजासिला स्वभावका गायक बस्नेत टोकियो रोधी क्लवमा पनि आबध्द छन ।
’सबैले सुनेर रचनात्मक सुझाव तथा प्रतिक्रिया दिनुहोला’ – समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै गायक बस्नेतले भने – ‘जसले गर्दा साँगीतिक साधनाका आगामी दिन थप ऊर्जाशिल बनाउन सकियोस् ।’
नेपाली साँगीतिक सिर्जना र साधनाका लागि पछिल्ला समय जापान उर्वरभूमि बन्दै आएको छ । परदेशमा रहेर पनि आफ्ना कला, सँस्कृति, गीत, संगीत र भाषा साहित्यको श्रीबृद्धिमा अनवरतरुपमा साधनारत जापानमा रहेका नेपाली सर्जकहरुको कृति एकपछि अर्को गर्दै धमाधम बजारमा आईरहेका छन् ।***