काठमाण्डौ- नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाहमा पछिल्लो समय कमी देखिएको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।
देशको केन्द्रीय बैंक –नेपाल राष्ट्र बैकंका अधिकारीहरुले विदेशिने नेपालीहरुको संख्यामा कमी आएकाले रेमिट्यान्स घटेको र त्यसले, अर्थतन्त्रको स्थायित्वका लागि महत्त्वपूर्ण ठानिने विदेशी मुद्रा सञ्चिती तथा व्यापार घाटा जस्ता पक्षलाई नकरात्मक प्रभाव पार्नसक्ने जनाएका छन्।
विज्ञहरुले चाहिँ रेमिट्यान्समा निर्भर रहने अवस्था अन्त्य नगरे अर्थतन्त्र जोखिम पर्ने भन्दै आन्तरिक स्रोतका विकल्पमा ध्यान दिन सुझाएका छन्।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको सरकारी आँकडा छ जुन गत वर्षको भन्दा बढी हो।
आयात
तर तथ्याङ्क संकलन अन्तिम चरणमा रहेको भदौको हकमा भने परिमाण गत वर्षभन्दा कम हुने देखिएको निचोड सुनाउँछन् नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका निर्देशक पिताम्बर भण्डारी।
उनी भन्छन्, “गत वर्ष भदौमा ६२ अर्ब रुपैयाँ रेमिट्यान्स थियो तर यसपालि भदौमा त्यति नपुग्ने देखिन्छ।”
रेमिट्यान्स कम हुँदा विदेशी मुद्रा सञ्चिती घट्नेछ जसका कारण आयात धान्नका लागि रकम अभाव हुनसक्छ।
निर्यातभन्दा आयात झण्डै चार गुणा बढी छ।
त्यो चिन्ताजनक तस्वीर साउन महिनाको तथ्याङ्कमा पनि झल्कन्छ जतिखेर भित्रिएकोभन्दा खर्च भएको विदेशी मुद्रा ३ अर्ब रुपैयाँले बढी रहेको अधिकारीहरु बताउँछन्।
कारण
अर्थतन्त्रको खम्बा मानिने भुक्तानी सन्तुलनमै त्यस्तो खाले प्रभाव पार्ने रेमिट्यान्स कमीको कारण के हो त?
राष्ट्र बैंकको अनुसन्धान विभागका निर्देशक भण्डारी भन्छन्, “विदेश जाने नेपालीहरुको संख्यामा कमी आएको देखिन्छ। खासगरी कतार जाने नेपालीको संख्यामा कमी छ”।
तर कतिपय विज्ञहरु रेमिट्यान्समा बढी भर पर्दा अर्थतन्त्र जोखिममा परेको भन्दै त्यसलाई कम गर्न आन्तरिक स्रोतको विकल्प खोज्न सुझाउँछन्।
त्यस्तैमध्येका एक, अर्थविद् केशव आचार्य भन्छन्, “रेमिट्यान्स कम हुँदा आर्थिक क्रियाकलाप संकुचित हुन्छन्। दीर्घकालका लागि रेमिट्यान्स भरपर्दो साथी होइन। त्यसको विकल्प खोज्नैपर्छ।”
पछिल्लो सरकारी आंकडा अनुसार, नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको एक चौथाईभन्दा बढी योगदान छ।बीबीसी