मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धारका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्ति पनि झल्किन्छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो ।

२०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन तथा त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा महत्वपर्ण योगदान गर्नुभएको थियो ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया