काठमाडौं – शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘ए मेरो हजुर २’ ले हिन्दी चलचित्र ‘बादशाहो’ ले प्रतिष्पर्धा गर्दैछ । शुक्रबार एउटा नेपाली र एउटा हिन्दी चलचित्र मात्रै रिलिज भएकाले ‘ए मेरो हजुर २’ ले राम्रै व्यापार गर्ने अपेक्षा गरिएको छ ।
नायिका झरना थापाले ‘ए मेरो हजुर २’ बाट निर्देशनमा डेब्यू गरेकी छन् । सुनिलकुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर २’ ट्रेलरले युट्युबमा रेकर्ड नै राखेको थियो । सार्वजनिक भएको २४ घण्टामै यस चलचित्रको ट्रेलरलाई साढे ५ लाखभन्दा बढी पटक हेरिएको छ ।
सांगीतिक चलचित्र ‘ए मेरो हजुर २’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक सलिनमान बानियाँको जोडी रहेको छ । चलचित्रमा एक जना युवक र युवतीको प्रेम कथा भएको र परिवारका कारण उनीहरुको सम्बन्धमा आएको समस्यालाई देखाइएको छ । चलचित्रमा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, झरना थापालगायतका कलाकारको अभिनय रहेको छ ।
निकै नै लोकप्रिय भएको चलचित्र ‘ए मेरो हजुर’ बाट केही कुराहरु लिइएको भए पनि ‘ए मेरो हजुर २’ सिक्वेल नै चाहिँ नभएको निर्माण पक्षको दाबी छ । चलचित्रको ‘कसम हो कसम’ र ‘किनिदेउ न साइँला दाइ’ गीत दर्शकले मन पराएका छन् ।
त्यस्तै ‘बादशाहो’ मिलन लुथरियाको निर्देशनमा बनेको बहुप्रतिक्षित हिन्दी चलचित्र हो । यस चलचित्रले लामो समयदेखि खासै हिट फिल्म दिन नसकेका अजय देवगन र इमरान हाशमीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
‘बादशाहो’ सन् १९७० को दशकको भारतको राजनैतिक घटनाक्रममा आधारित छ । त्यो समयमा भारतमा संकटकाल लागेको थियो । चलचित्रमा अजय देवगन, इमरान हाशमी, विद्युत जामवाल, इलियाना डिक्रुज, ईशा गुप्ता, सञ्जय मिश्रालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सनी लियोनीले एउटा आइटम सङ्ग गरेकी छन् ।
अजय देवगन र मिलन लुथरियाको यो चौथो चलचित्र हो । यस अगाडि लुथरियाले देवगनलाई लिएर ‘कच्चे धागे’, ‘चोरी–चोरी’, ‘वन्स अपन अ टाइम इन मुम्बई’ बनाएका थिए ।
‘बादशाहो’ लाई अजय देवगन र मिलन लुथरियाको ड्रिम प्रोजेक्टका रुपमा हेरिएको छ । यसलाई सफल बनाउन दुबै जना चलचित्रको प्रमोशनमा लागेका छन् । चलचित्रको गीत ‘रश्क–ए–कमर’ र ‘सोचा है’ दर्शकले निकै नै मन पराएका छन् ।