शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

नवलपरासी – घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै नवलपरासीको ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् । स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेका हुन् ।

जिल्लाको दक्षिणी भेगका महिला घरमै सुत्केरी हुने गरेकामा अहिले तराई भेगका ९२ प्रतिशत महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय, नवलपरासीले जनाएको छ । विशेष गरी महिला आफ्नो पायक पर्ने सरकारी र निजी स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेको पाइएको छ ।

घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्था जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

तराई भेगका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको पहुँच रहे पनि जिल्लाको पहाडीक्षेत्रका हुप्सेकोट र बुलिङ्टार गरी दुई गाउँपालिका (साविक १३ गाविसमा) रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीलाई धेरै समस्या झेल्नु परेका छन् ।

त्यस क्षेत्रका अधिकांश स्वास्थ्य चौकी तल्लो तहका कर्मचारी वा कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् । बिरामीले गाउँमै स्वास्थ्य सेवा पाउन नसकेपछि स्थानीयवासी कावासोती, गैँडाकोट, चितवनलगायतका स्थानमा उपचार गराउन जान बाध्य छन् ।

तपाईको प्रतिक्रिया