सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सञ्चालक समितिको अध्यक्षमा पुनः डा. श्रेष्ठ

टोकियो – एभरेष्ट इन्टर्नेशनल स्कुल जापानको आइतवार टोकियोमा भएको तेस्रो अधिवेशनबाट डा. भूपालमान श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ ।

डा. श्रेष्ठ तेस्रोचोटी एभरेष्ट इन्टर्नेशनल स्कुलको सञ्चालक समितिको अध्यक्ष हुनुभएको हो । १३ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा भूषण घिमिरे, मेघराज नेपाल, रोशन केसी, बिश्वेश्वर रेग्मी, कपिलदेव थापा, सुजाता श्रेष्ठ, नरबहादुर थापा, पुष्करजंग थापा, डिपी कँडेल, बिपिन घिमिरे, सगुन थापा र मनिषा बाँस्तोला रहनुभएको छ । सञ्चालक समितिको पहिलो बैठकले ३ सदस्यीय कार्यकारी बोर्ड र सल्लाहकार समिति निर्माण गरिने बताईएको छ ।

अधिवेशनमा प्रिन्सिपल प्रदिप थापाले स्कुलको गतिबिधिहरुका बारेमा जानकारी गराउनुभएको थियो भने अध्यक्ष डा. श्रेष्ठले स्कुलको आर्थिक प्रतिबेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यकारी बोर्डका सदस्य मेघराज नेपालले स्कुलको भौतिक पूर्वाधार ब्यवस्थापनका लागि भईरहेका पहलहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी प्रोमोटरहरुको तर्फबाट बोल्दै केशव थापाले स्पष्ट लक्ष र मिशनका साथ स्कुल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अब नेपाली विद्यार्थीका लागि मात्र नभएर इन्टर्नेशनल विद्यार्थीलाई समेत ध्यानमा राखी पाठ्यक्रम छनौट गर्नुपर्ने बेला आएको धारणा ब्यक्त गर्नुभयो ।
यसैगरी अभिभावक समेत रहनुभएका अर्का प्रोमोटर सगुन थापाले एभरेष्ट स्कुलले नेपाली पाठ्क्रमअनुसार पठनपाठन गराउनुका साथै जापानी समुदायमा नेपाल र नेपालीलाई चिनाउने काम पनि गरिरहेको विचार ब्यक्त गर्नुभयो ।
यसैगरी सल्लाहकार किरणविक्रम थापाले स्कुलले विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चालक समितिका बीचमा रहेर समन्वयकारी भूमिका खेल्न सक्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

अन्तमा, अधिवेशनलाई समापन गर्दै समारोहका सभापति डा. श्रेष्ठले जापानमा नेपाली समुदायको सामुहिक प्रयासबाट शुरु गरिएको एभरेष्ट इन्टर्नेशनल स्कुलको हालसम्मको यात्रामा सहयोग र सहकार्य गर्दै आउनुहुने सबैमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सबै प्रोमोटरहरुको रचनात्मक सहयोग जारी रहने बिश्वास ब्यक्त गर्नुभयो । अधिवेशन समारोहको सञ्चालन कार्यकारी बोर्डका सदस्य भूषण घिमिरेले गर्नुभएको थियो । अधिवेशन समारोहमा प्रमुख अतिथिकारुपमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा आउने कार्यक्रम रहे पनि उहाँ आउनुभएन ।

सन २०१३ मा १३ जना विद्यार्थीहरुबाट सुरु भएको सुगिनामी वार्डको आशागायास्थित एभरेष्ट इन्टर्नेशनल स्कुलमा हाल १ सय ७२ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीको चाप बढेसंगै आशागाया ब्लकमा कक्षा कोठा अपुग भएपछि ओगिकुबोमा पनि एउटा छुट्टै भवन भाडामा लिई स्कुलले ठूला कक्षाका विद्यार्थीहरुलाई पठनपाठन गराईरहेको छ । हाल एभरेष्ट स्कुलमा नर्सरीमा १२ जना, एलकेजीमा १९ जना, युकेजीमा २२ जना, कक्षा १ मा १८ जना, कक्षा २ मा २० जना, कक्षा ३ मा १९ जना, कक्षा ४ मा १९ जना, कक्षा ५ मा ११ जना, कक्षा ६ मा ११ जना र कक्षा ७ मा १९ जना रहेका छन् । विद्यार्थीहरुमा धेरैजसो नेपालीहरु रहे पनि केही जापानी, बंगाली लगायत केही अन्य मुलुकका बालबालिकाहरु पनि अध्ययनरत छन् । स्कुलमा शिक्षक शिक्षिका २५ जना र ३ जना प्रशासकीय कर्मचारी गरी २८ जना  कार्यरत छन् ।

नेपाल सरकारबाट मान्यता प्राप्त एभरेष्ट इन्टर्नेशनल स्कुल कक्षा १२ सम्मको अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने लक्ष सहित सो बमोजिमको भौतिक पूर्वाधारको ब्यवस्थापनमा जुटीरहेको छ । स्कुललाई कक्षा १२ सम्मको पढाई हुन सक्ने क्षमता र खेलमैदान सहितको सुबिधा सम्पन्न भवनको शिघ्र ब्यवस्थापन गर्नु नयाँ सञ्चालक समितिको सबैभन्दा ठूलो चुनौती रहेको छ ।***

तपाईको प्रतिक्रिया