काठमाडौं – गरे के सम्भव छैन भन्ने कथन चरितार्थ गर्दै धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घरको नमुना बस्ती ठड्याएका छन् । ती युवा हुनुहुन्छ, दिनेश तामाङ ।
नमुना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहेका बेला दिनेशले पनि धादिङको ढोलामा नमुना बस्ती निर्माण गर्नुभयो । सामाजिक संघ–संस्थासँग सहयोग जुटाएर उहाँले १६ महिनामा ५५ घर तयार पार्नुभएको हो ।
आलेगाउँमा २६ घर र भुवालेपानीमा २९ घरका दुई बस्ती उनले तयार पार्नुभएको छ । ती घरमा ३ सय १० भूकम्पपीडित बस्न थालेका छन् । ती घर जिल्लाको दुर्गममा पर्ने रुबीभ्याली गाउँपालिकाको कपुरगाउँका पीडितलाई हस्तान्तरण गरिएको हो ।
गाउँको चारैतिर पहिरो झरेर बस्न नसक्ने भएपछि उनीहरु विस्थापित भएर आलेगाउँ र भुवालेपानीमा त्रिपालमुनि बस्नै आएका थिए । क्यानडास्थित चाइल्ड हेभन इन्टरनेशनल क्यानडा–नेपालले ३८ रोपनी घडेरी किन्न २९ लाख रुपैयाँ सहयोग गरेपछि शिविर बसेकै जग्गा किनेर बस्ती निर्माण सुरु गरिएको तामाङले बताउनुभयो ।
प्रतिघर निर्माणका लागि १४ लाख खर्च भएको छ । प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाखको श्रमदान गरेका छन् ।