काठमाडौं – दुई वर्षअघिको शक्तिशाली भूकम्पले धराशायी बनेको सिंहदरबारको मुख्य प्रशासनिक भवन जोगाउने कि भत्काउने भन्ने बहस सुरु भएको महिनौं हुँदा पनि संरक्षणसम्बन्धी कुनै निर्णय हुन सकेको छैन । सिंहदरबार पुनर्निर्माणको काम तत्काल थाल्न अढाई महिनाअघि गठित कार्यान्वयन उपसमितिले यसबीचमा दुईपटक बैठक गरे पनि निचोड दिन सकेको छैन ।
उपसमितिका पदाधिकारीसहितले सोमबार सिंहदरबारको भित्री संरचनाको भ्रमण गर्ने निधो गरिएको थियो । तर ‘सरकारी बिदा’ भन्दै भ्रमण स्थगन गरिएको छ । ‘यत्तिको गम्भीर र संवेदनशील विषयमा कहिले कोरम नपुगेको भन्दै र कहिले सरकारी बिदा परेको भनेर स्थलगत भ्रमण (सर्वेक्षण) गर्न पनि सकिएको छैन,’ उपसमितिसम्बद्ध एक प्राविधिकले भने, ‘सिंहदरबारभित्रकै प्रशासन संयन्त्रले सिंहदरबार जोगाउनेभन्दा भत्काउने मनसायमा काम गरिरहेको देखिन्छ ।
’राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशक एवं स्ट्रक्चरल इन्जिनियर हरिराम पराजुलीको संयोजकत्वमा गठित समितिले पनि ‘औपचारिक पत्राचार’ बाहेक कुनै काम गर्न सकेको छैन ।
‘बाहिरबाट हेर्दा देखिएजस्तो स्थिति हुँदैन, हामी नियम र विधानभित्र रहेर काम गरिरहेका छौं,’ संयोजक पराजुलीले भने, ‘एउटा विज्ञ समूहले यो वैशाख १० भित्र सिंहदरबार पुनर्निर्माणको अवस्था र सम्भावनाबारे अन्तिम अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै छ । यसबीचमा हाम्रो समूहले सिंहदरबारभित्रको प्राविधिक र अन्य स्थिति थाहा पाउन छिट्टै स्थलगत अध्ययन गर्दै छौं ।’
पुनर्निर्माण प्राधिकरण मातहत रहने भनिएको सिंहदरबार पुनर्निर्माण उपसमितिमा पुरातत्त्व विभागका महानिर्देशकसमेत सदस्य छन् । तर, महानिर्देशक एवं सदस्य भेषनारायण दाहाल लामो समयदेखि उपत्यकाबाहिर रहेकाले सिंहदरबार संरक्षणरपुनर्निर्माणबारे आफू जानकार नरहेको बताउँछन् । ऐतिहासक महत्त्वको सिंहदरबार सबलीकरण (रेट्रोफिटिङ) गर्नसमेत असम्भव रहेको भन्दै सरकारलाई तीन महिनाअघि सुझाव प्रतिवेदन बुझाउने परामर्शदाता कम्पनी डिजिकन इन्जिनियरिङ कन्सल्ट प्रालिलाई फेरि आफ्नो निष्कर्ष अध्ययन पेश गर्न वैशाख १० गते प्राधिकरणमा बोलाइएको छ । ***