काठमाडौं – उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो । नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए । नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार्यान्वयनमा आउन सक्ने बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
नयाँ नियम लागू भएपछि अब पैदलयात्रुले निर्धारित ठाउँबाट मात्र हिँड्नुपर्ने हुन्छ । अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ ।
सो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ । यो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए ।