दिपायल – सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलको पिपल्ला बजारमा आइतबार भीषण आगलागी भएको छ । ट्यांकरबाट इन्धन खन्याउँदा एक्कासि आगो सल्केर पेट्रोलपम्पसहित तीन पसल जलेर नष्ट भए । एक जना घाइते छन् । इन्धन भरिएको एउटा ट्यांकर र ८ मोटरसाइकल पनि जलेका छन् ।
पिपल्ला बजारस्थित जेभी आयल स्टोरमा आइतबार दिउँसो १ बजे आगो लागेको हो । ट्यांकरबाट पेट्रोलपम्पमा तेल खन्याउँदा घटना भएको थियो । तेल खन्याउन सहयोग गरिरहेका कर्ण भण्डारी घाइते हुनु भएको छ । सभासद कल्पना सोपको निवास र सुनचाँदी पसल जलेको छ । पसलमा राखिएका २ वटा मोटरसाइकल र गरगहना आगोले नष्ट भएको उहाँले बताउनु भयो । सभासद सोप र मञ्जु खड्काको चियाखाजा पसल पेट्रोलपम्पसँगै जोडिएका थिए । प्रहरीले आगलागीबाट राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाको कार्यालय रहेको पक्की भवन भने जोगाएको छ ।
आगलागीमा परेका सबै पसल जस्ताले छाएका थिए । ती पसलको बीचमा राष्ट्रिय वाणिज्य बैंकको शाखा थियो । त्यो भवन पक्की हुँदा आगलागी नियन्त्रण गर्न केही सहज भएको प्रहरीले जनाएको छ । दिउँसो १ बजेबाट सुरु भएको आगलागी प्रहरी, व्यापारी र स्थानीयवासीको सहयोगले पौने ३ बजे नियन्त्रणमा आएको हो । ट्यांकर र पेट्रोलपम्पमा राखिएका ड्रम र जर्किनमा इन्धन भएकाले आगो नियन्त्रण गर्न कठिनाइ भएको थियो । आगो लागेर ड्रम पड्कँदा पिपल्ला बजारको जनजीवन आतंकित बनेको थियो ।
समयमै दमकल नआउँदा आगलागी नियन्त्रण हुन नसकेको स्थानीयले बताए । दिपायल सिलगढी नगरपालिकाको दमकल बिग्रेकाले डडेल्धुराबाट दमकल झिकाएर आगो नियन्त्रण गरिएको थियो । नगरपालिकाको दमकल एक वर्षदेखि मर्मत अभावमा थन्किएको छ । कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यले चाइनिज कम्पनीको दमकल भएकाले त्यसका पार्टपुर्जा नेपालमा नपाउँदा मर्मत गर्न नसकिएको बताउनु भयो ।
‘हामीले दमकलको अवस्थाबारे प्रहरी, प्रशासनलाई यसअघि नै जानकारी गराइसकेका थियौं,’ उहाँले भन्नुभयो, ‘नयाँ दमकल ल्याउन अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर टेन्डर आह्वान गरिसकेका छौं । यही बेला दु:खद घटना हुन पुग्यो ।’ आगलागीपछि विद्युत्, टेलिफोन र इन्टरनेटलगायत सेवा अवरुद्ध छ । अाजको कान्तिपुर दैनिकमा समाचार छ ।