काठमाडौं – स्थानीय तह निर्वाचनका लागि चीनबाट ल्याउन लागिएको १० हजार थान मतपेटिका रसुवागढी–केरुङ नाकामा आइपुगेको छ । ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका चीनबाट ल्याउन लागिएको छ ।
त्यसमध्ये पहिलो चरणमा बिहीबार नै १० हजार थान मतपेटिका रसुवाको केरुङ नाका आइपुगेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने करिब ८० हजार थानमध्ये आयोगले चीनबाट ३० हजार थान मतपेटिका ल्याउन लागेको छ ।
निर्वाचन आयोगसँग अघिल्लो संविधानसभा निर्वाचनमा जापानबाट ल्याइएका मतपेतिकामध्ये करिब ६० हजारको हाराहारीमा प्रयोग गर्न मिल्ने मतपेटिका छन् । अपुग रहेको मतपेटिका चीनबाट ल्याउन लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिकामध्ये १० हजार थानको भन्सार व्यस्थापनको काम अघि बढिरहेको शर्माले बताउनुभयो ।