सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – एथ्लेटिक्सको विश्व च्याम्पियनसिपमा यो वर्ष रुस सहभागी हुन नपाउने भएको छ । सरकारकै संलग्नतामा खेलाडीले प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको आरोपमा प्रतिबन्धमा रहेकाले आउँदो अगस्टमा हुने विश्व च्याम्पियनसिपमा रुस सहभागी हुन नपाउने भएको हो ।

एथ्लेटिक्सको प्रशासकीय निकाय इन्टरनेशनल एसोसिएसन अफ एथ्लेटिक्स फेडेरेशन आइएएएफले रुसमाथिको प्रतिबन्ध लम्ब्याउने पक्षमा मत दिएपछि रुस सहभागी हुन नपाउने भएको छ । आइएएएफले सन् २०१५ को नोभेम्बरमा रुसमाथि प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धकै कारण रुसले गएको वर्ष भएको रियो ओलम्पिकमा सहभागी हुन पाएको थिएन । रुसमाथिको प्रतिबन्ध आउँदो नोभेम्बरसम्म कायम रहने भएको छ । एथ्लेटिक्सको विश्व च्याम्पियनसिप आउँदो अगस्ट ४ देखि १३ सम्म लण्डनमा हुँदैछ ।

तर रुसका खेलाडी स्वतन्त्र खेलाडीको रुपमा भने सहभागी हुन पाउने छन् । आइएएएफ काउन्सिलको सोमबार बसेको बैठकले रुसमाथिको प्रतिबन्ध लम्ब्याउने पक्षमा मत दिएको हो । रुसका एक हजार भन्दा धेरै खेलाडीले सन् २०११ देखि २०१५ सम्म सरकारी संलग्नतामै प्रतिबन्धित औषधि प्रयोग गरेको वाडाको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया