मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

ललितपुर – सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारकोे छ । “समयमानै कुष्ठरोगको उपचार गरौं , अपाङ्गता हुनबाट बचौंँ” भन्ने मूलनाराका साथ भोलि यो दिवस देशभरि मनाउने तयारी गरेको छ ।

अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । विश्वमा प्रत्येक वर्ष दुई लाख र नेपालमा मात्र प्रत्येक वर्ष तीन हजार मानिसमा नयाँ रोग देखिने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । विश्वभरी एक लाख ७५ हजार कुष्ठरोगी बिरामीको उपचार भइरहेको अवस्थामा नेपालमा मात्र दुई हजार पाँचसय जनाको उपचार भइरहेको जनाइएको छ ।

संसारभरी कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिदैन । नेपालमा तीन हजार एकसय र विश्वभरिबाट दुईलाख १० हजार व्यक्ति बहुऔषधि उपचारले कुष्ठरोगबाट मुक्त भएको तथ्याङ्ले देखाएको छ ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक एवम् कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेकाअनुसार दक्षिण एसियाली देशमा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको छ । छिमेकीमुलुक भारतमा मात्र एकलाख ३७ हजार कुष्ठरोगीका बिरामी रहेको उहाँको भनाइ छ । भौगोलिक रुपले नेपालको तराई क्षेत्रमा यो रोगको प्रकोप अत्यधिक देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँके र बर्दिया जिल्लामा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको छ ।

“खोपमुक्त गाउँ जस्तै कुष्ठरोग मुक्त” गाउँ बनाउने अभियान अन्तर्गत सप्तरी जिल्लाबाट कार्यक्रम सुरु गरिने उहाँले बताउनुभयो । कुष्ठरोग निवारण हुन बाँकी रहेका अछाम, मुगु, सुर्खेत, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, मोरङ र झापा गरी १८ जिल्लालाई सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया