सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

बिशेषत: युवा पुस्ताका पाठक माझ परिचित नाम हो, लेखक सुबिन भट्टराई । यसअघि भट्टराईका समर लभ, साया र कथाकी पात्र गरी ३ वटा पुस्तकहरू प्रकाशन भैसकेका छन् । समर लभ र साया उहाँका अत्याधिक मन पराईएका पुस्तकहरू हुन् । मुख्यत प्रेममा आधारित भएर पुस्तक लेख्न रुचाउने भट्टराईको चौथो कृति ‘मनसुन’ शनिवारदेखि बजारमा आउँदैछ । उहाँको नयाँ पुस्तक ‘मनसुन’ मा केन्द्रित रहेर समुद्रपारि डटकमका लागि सहकर्मी गोविन्द मरासिनीले गर्नुभएको संक्षिप्त कुराकानी :books-copy

तपाईको चौथो कृति मनसुन बजारमा आउँदैछ कस्तो महसुस भइरहेको छ ?
एकदमै उत्साहित छु । साच्चै भन्ने हो, भने किताबले कस्तो प्रतिक्रिया पाउला, पाठकको रेसपोन्स कस्तो आउँला भनेर मलाइ त निन्द्रा, भोक पनि लाग्न छाडेको छ । मैले यत्रो दुख, मेहनत गरेर लेखेको पुस्तकबारे नराम्रो रेसपोन्स पो आउने हो कि भनेर कताकता डर पनि लागेको छ ।

मनसुन कस्तो किसिमको पुस्तक हो ?
मेरा अघिल्ला पुस्तक समर लभ, साया जस्तै यो पनि लभ स्टोरी नै हो । यसमा देखाउन खोजेको प्रेम पनि मनसुन हो । मानिसको जीवनमा मनसुन जसरी नै प्रेम आउँछ भन्ने देखाउन खोजिएको छ । एकतर्फी प्रेममा फोकस छ मनसुनमा प्रेम गर्न कति गाह्रो हुन्छ भन्ने पनि दर्साउन खोजिएको छ ।

समर लभ र साया कै सिक्वेल त होइन ?
होइन, यो फ्रेश कथा हो । समर लभ जसरी नयाँ थियो यो पनि त्यस्तै नयाँ हो ।

मनसुनले कस्तो पुस्तालाई लक्षित गर्छ त ?
यसले पनि समर लभ र सायाले जस्तोलाई लक्षित गरेको थियो त्यस्तैलाई लक्षित गर्छ । प्रेमसंग सम्बन्धित भनेपछि युवा पुस्तामात्र भन्ने बुझिन्छ तर प्रेम त सबै पुस्तामा हुन्छ होइन र ? त्यसैले यो पुस्तक युवाका लागि मात्र नभई सबैका लागि हो । युवाले बढी पढ्लान त्यो फरक कुरा हो । युवालाई लक्षित भनिएको पुस्तक पढिरहेको छु भनी धक मानेर प्रौढ पाठक पनि मेरा पुस्तक लुकीलुकी पढेको देखेको छु ।

माया–प्रेम, दुःखान्त, वियोगान्त लेखन तपाईको रोजाइमा पर्नुको रहस्य चाहिँ ?
केही रहस्य छैन, एकदमै सामान्य कुरा पाठकले त्यही रुचाउँछन् । मेरो बिचारमा मैले अन्वेषण गर्दा नेपालमा प्रेम सफल भएर घरजम गरेका मान्छे भन्दा पनि प्रेममा धोका खाएर छटपटिएका व्यक्ति धेरै छन् । त्यसैले पनि त्यताप्रती केन्द्रित हुन्छु ।

कतै तपाईले लेख्ने विषयवस्तु आफ्नै यथार्थ घटना त हैनन् ?
आफ्नै त लेख्दिन तर आफू नभएको भन्ने चाहिँ हुन्न । हरेक लेखाइमा लेखक आफू कहि न कहि जोडिन्छ । लेखकले कि आफूले भोग्नुपर्छ कि अरूको देख्नुपर्छ । दुईवटा चीजको समिश्रण हुन्छ । फिलिङस आफू राख्छौं कथा, पात्र चाहिँ अरूको देखेर लेख्छौ ।

तपाईका पुस्तक माया प्रेमसँग सम्बन्धित हुन्छन्, तपाईको बिचारमा प्रेम के हो ?
यो एकदमै गाह्रो प्रश्न लाग्छ । यथार्थ जवाफ म सँग पनि छैन, तर पनि मेरो बिचारमा भन्नुपर्ला बायोलोजिकल परिवर्तन, व्यक्तिहरूको हर्मोन चेन्जबाट नै प्रेम सुरु हुन्छ र यो नै केही हदसम्म प्रेम हो । प्रेमले एक समयमा एक किसिमको र अर्को समयमा अर्कै किसिमको व्याख्या लिएर प्रेम आउने हुनाले यथार्थ परिभाषा कठिन छ ।sam_6093

कस्ता विषयवस्तु समेटिएका पुस्तकहरू पाठकको रोजाइमा परिरहेका छन् ?
मलाई लाग्छ, सदियौंदेखि संसारका विभिन्न व्यक्तिले प्रेमलाई नै बढी रुचाउँछन् । प्रेमको सेरोफेरोमा राखिएका कुराहरू नै पढी रुचाईन्छ र पाठकको रोजाईमा पनि बढी त्यै पर्छ ।

तपाईको बुझाइमा विदेशको तुलनामा पठन संस्कृति कस्तो छ नेपालमा ?
पहिला त्यति थिएन् तर अहिले आएर त नेपालमा क्रान्ति नै भएको छ । अहिले नेपालको जनसंख्या जति छ जुन हिसाबले पाठकको संख्या वढिरहेको छ त्यसलाई एकदमै सकारात्मक लिनुपर्छ ।

तपाईका आफ्ना कृतिमा आधारित रहेर सिनेमा बनोस भन्ने लाग्दैन् ?
बन्दै पनि छ । समर लभमा आधारित रहेर सिनेमा बन्ने प्रक्रियामा छ, हामी नायिकाको खोजीमा छौँ नायिका पाउँदा साथ तिहार पछि सुटिङ हुन्छ । समर लभ बनेपछि त्यसको सिक्वेल सायाको पनि अवश्य अवश्य हुन सक्छ र बन्न पनि सक्छ । मनसुनको पनि किताब बजारमा नआउँदै कुरा चल्न थालिसकेको छ ।

तपाई आफूलाई निकै मन परेको पुस्तक र मन पर्नुको कारण चाहिँ ?
मलाई वीपी कोइरालाका सबै पुस्तकहरू मन पर्छन् । मलाई पारिजातको सिरिषको फुल पनि एकदमै मन पर्छ कतिसमय त सिरानीमा राखेर सुत्थे । मलाई धच गोतामे घामका पाइलाहरू एकदमै वेष्ट किताब हो नेपाली साहित्यमा, धुब्रचन्द गौतमका कृति भन्दा लेखाई मन पर्छ । यी किताबहरू पढेर नै लेखक भए जस्तो लाग्छ । यी पुस्तकहरू मन पर्ने फरक फरक कारण छन् वीपी कोइरालाले महिलाहरूको यौन मनोबिज्ञानलाई प्रस्तुत गर्ने शैली, पारिजातको भावुकता मन पर्छ, गोतामेका कथाहरू पढौं पढौं लाग्ने खालका हुन्छन् र धुबचन्द्र गौतमको लेखाइ नै मन पर्छ ।

अन्त्यमा, तपाईले आम पाठकलाई कस्ता पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ?
आफू कुन मुडमा हुनुहुन्छ त्यसमा पनि भर पर्छ आफ्नो मुड अनुसारका किताबहरू छानेर पढ्नुहोस । प्रेमकथा पढ्ने मुडमा हुनुहुन्छ भने त्यै अनुसारको पढ्नुहोस यदि अन्य पढ्ने मुुडमा हुनुहुन्छ भने त्यसै अनुसारको छान्नुहोस ।

तपाईको प्रतिक्रिया