काठमाडौँ – नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । गत वैशाखमा चितवनमा आयोजित केन्द्रीय साधारणसभामा प्रस्तुत भएको विधान संशोधन प्रस्तावमा प्राप्त सुझावहरुलाई समावेशी गरी विधान संशोधन समितिका संयोजक एवं महासंघका पूर्वसभापति डा. सुरेश आचार्यले महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई हस्तान्तरण गरेलगत्तै महासंघका जिल्ला एवं प्रतिष्ठान शाखा तथा एशोसियट अध्यक्षहरूको राष्ट्रिय भेलाबाट संशोधित विधान जारी गरिएको हो ।
महासंघ अध्यक्ष डा. विष्टका अनुसार राष्ट्रिय निर्देशन ऐनबमोजिम प्रक्रिया पुरा गरी तत्कालदेखि संशोधित विधान लागू हुनेछ । विधानको नयाँ व्यवस्था बमोजिम महासंघमा अव केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको संगठनात्मक ढाँचा रहने छ भने महासंघ थप समावेशी र ट्रेड युनियन अधिकार सम्पन्न हुनेछ ।
पाल्पाको रानीमहलमा सम्पन्न केन्द्रीय समितिको वैठकपछि तानसेनमा हिजो आयोजित भेलाले १५ बुँदे पाल्पा रानीमहल घोषणपत्र जारी गर्दै श्रमजीवी पत्रकार ऐन र पछिल्लो न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकार र मिडिया व्यवस्थापनलाई आग्रह गर्नुका साथै अनुगमन कार्यलाई अभियानकौ रुपमा अघि बढाउने र कार्यान्वयन नगर्ने पक्ष एवं मिडिया केन्द्रित आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।