काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । बिहान ९ बजेदेखि भृकुटीमण्डपमा हुने मतदान अपराह्न ५ बजेसम्म चल्ने छ ।
मतदानमा ५३ सदस्यका लागि झन्डै डेढ सय जनाले उम्मेदवारी दिएका छन् । मतदान सकिएलगत्तै काँग्रेस केन्द्रीय कार्यलय सानेपामा मतगणना हुने निर्वाचन समितिले जनाएको छ । संघको सभापतिमा उमा रेग्मी र मिना पाण्डेको उम्मेदवारी परेको छ । निर्वाचन समितिले बिहीबार प्रकाशित गरेको अन्तिम नामावली अनुसार अध्यक्षमा दुई, महासचिवमा तीन र कोषाध्यक्षमा दुईजनाले उम्मेदवारी दिएका छन् ।
सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहको प्यालन बनाएर उम्मेदवारी दर्ता भएको छ । संघको सभापतिमा देउवा समूहबाट रेग्मी र पौडेल समूहबाट पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । महासचिवमा भने तीनजनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट महासचिवमा धना खतिवडाको र पौडेल प्यालनबाट गोमा केसीको उम्मेदवारी परेको छ ।
त्यस्तै महासचिवमै किरणकुमारी सरकारले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी छन् । कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंहको उम्मेदवारी परेको छ । थापा पौडेल र सिंह देउवा प्यानलका हुन् । संघको विधान अनुसार खुला २२ जना, प्रत्येक प्रदेशबाट तीन –तीन जना, आदिवासी, मधेसी तीन र दलितबाट एकजनाका साथै मुस्लिमबाट एक जना सदस्यसहित ५३ जना सदस्य निर्वाचित हुने छन् ।