काठमाडौँ – नेपाललाई ट्रान्टिज बनाई लागूऔषधको कारोबार गर्दै आएको अन्तर्राष्ट्रिय गिरोहका दुई भरिया राजधानीमा पक्राउ परेका छन् ।
दक्षिण अमेरिकी मुलुकबाट विभिन्न मुलुक हुँदै नेपाललाई ट्रान्जिट बनाएर मलेसियामा तस्करी गर्ने उद्देश्यले ३ केजीभन्दा बढी कोकिनसहित दुई जना भरिया पक्राउ परेपछि उनीहरूको पोल खुलेको आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ । दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट नेपाल ल्याइएको उक्त कोकिन थाई नागरिकले नेपालमा रिसिभ गरेर मलेसिया जाने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि उनीहरूको योजना लागूऔषध नियन्त्रण ब्युरोले पत्ता लगाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा उक्त लागू औष्धको मूल्य ६ करोड १० लाखभन्दा बढी पर्ने ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसीले जानकारी दिनुभयो । लागू औषधको अन्तर्राष्ट्रिय गिरोहले नेपाल भएर मलेसिया पुग्न सुरक्षित बाटो हुने भन्दै बोलिभियन नागरिक रोशी गुडे टोलेडो भाइलेजोसलाई नेपालसम्म उक्त सामान पुर्याइदिन र त्यहाँ रहेकी थाई महिला बारान्या कावापिकुलालाई दिन आग्रह गरेका थिए ।