काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले साझा प्रकाशनको समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभएको छ । प्रकाशनका पदाधिकारीले आज उहाँको सरकारी निवास बालुवाटारमा संस्था बचाइदिन आग्रह गरेपछि प्रधानमन्त्री दाहालले उक्त आश्वासन दिनुभएको हो ।
प्रधानमन्त्री दाहालले मुलुकको भाषा साहित्याको जगेर्ना गर्ने सो संस्था कुनै पनि हालतमा मर्न नहुनेमा आफू स्पष्ट रहेको अवगत गराउनुभएको थियो । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्था विगतको अनियमितता र पाठ्यपुस्तक वितरणको काम खोसिएका कारण आर्थिक रुपमा सङ्कटग्रस्त भएकाले रु ४० करोड उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।
प्रकाशन घाटामा गएपछि कर्मचारी कटौती र बाँकी तलब भुक्तानीका लागि चलअचल सम्पति बिक्रीको प्रक्रियामा छ । भेटका अवसरमा पूर्वमन्त्री तथा प्रकाशनका सञ्चालक सदस्य प्रदीप नेपाल, दीनानाथ शर्मा, सदस्य हरिहर खनाल र जीवनचन्द्र कोइरालालगायत सहभागी हुनुभएको थियो ।