चितवन – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले वर्तमान सरकारले देश र नागरिकको पक्षमा काम गर्न नसक्ने दाबी गर्नुभएको छ । संसदीय व्यवस्थामा सरकार बनाउनु र भत्काउनु सामान्य रहेको भन्दै यस्तो व्यवस्थाले देशको विकास हुन नसक्ने बताउनुभयो ।
आइतबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले वर्तमान सरकार दक्षिणपन्थीको समर्थनमा बनेको आरोप लगाउँदै देश र नागरिकको हितमा काम गर्न नसक्ने दाबी गर्नुभयो । नेता वैद्यले मधेसको जायज माग पूरा गर्नुपर्ने बताउँदै संविधान संशोधनले मात्रै देशको समस्या समाधान नहुने दाबी गर्नुभयो ।
पार्टीले उपरकर्णाली आयोजना र सुकुम्बासी समस्या समाधानका लागि छिट्टै राष्ट्रव्यापी आन्दोलन गर्ने बताउँदै अध्यक्ष वैद्यले माथिल्लो कर्णाली देशकै लगानीमा बन्नु पर्ने भन्दै भारतीय कम्पनीलाई दिएको बिरोधमा असोज २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र सुकुम्बासी समस्या समाधानको माग गर्दै आउँदो भदौ १५ गते देशव्यापी आन्दोलन गर्ने जानकारी दिनुभयो ।