चौतारा – भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोक, तातोपानी गाविसको लिपिङ बजारमा आज थप तीन घर बगाएको छ । तीन पक्की घरसहित एनसेलको टावर समेत नदी कटानले बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । यसअघि ६० घर बगाइसकेकोे छ ।
तातोपानी क्षेत्रमा पानी नपरे पनि चीनबाट बगेर आउने सो नदीमा पानीको बहाब घटबढ हुने गरेको र नदीले बजार क्षेत्रतर्फ निरन्तर कटान गरिरहेकाले तातोपानीदेखि लिपिङ बजारमा रहेका सडकको तल्लो भागका घर उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो ।
दिनभरि काम गरेर बेलुका भएपछि आफूसहित स्थानीयवासी बास बस्न सुरक्षित ठाउँ खोज्दै माथिल्लो गाउँमा जाने गरेको श्रेष्ठले बताउनुभयो । नदीले ठाउँ ठाउँमा राजमार्ग पूरै कटान गरेपछि भिरमा परिणत भएको र धेरै ठाउँमा पैदल हिँड्ने बाटो समेत नभएको हुँदा ठूलो जोखिम उठाएर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।
नदीको कटान बस्तीतर्फ बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।