काठमाडौं – व्यवस्थापिका संसदको शनिबारको बैठक पनि आन्दोलनरत मधेसी मोर्चामा आबद्ध दलका सांसदहरुले बहिष्कार गरेका छन्। सभामुख ओनसरी घर्तिमगरले सदनको बैठक शुरु गर्नासाथ मोर्चा र संघीय गणतान्त्रिक मोर्चाका सांसद उभिएर विरोध जनाए ।
त्यसपछि सभामुखको अनुमतिमा उषा यादवले आफूहरु निरन्तर सदनको कारबाही बहिष्कार गर्दै आउँदा पनि सरकारले समस्या समाधानका लागि पहल नलिएको भन्दै विरोध गर्नुभयो ।
आफूहरुले संविधान पुर्नलेखनको माग गर्दै आएको भन्दै त्यो माग पुरा नभए मुलुकमा नयाँ द्वन्द्व उत्पन्न हुनसक्ने बताउनुभयो ।
यादवले नाकाबन्दीका कारण जनताले दुःख कष्ट झेल्नु परेको भन्दै आफूहरुले शान्तिपूर्ण अनसन बसे पनि यदि समयमा सम्बोधन नभए आन्दोलनको स्वरुप फेर्न बाध्य हुने भन्दै आजको बैठक बहिष्कार गर्ने भन्दै अन्य सांसद सहित बाहिरिनुभयो ।