काठमाडौँ – नेपालमा रोजगारीको उचित व्यवस्था नहुँदा म जस्ता कयौँ नेपाली युवाहरू ज्यानको बाजी राखेर बिदेशिरहेका छन् । अझ छिट्टै धेरै पैसा कमाउने र परिवारलाई सुख दिने सोचले द्धन्द्धग्रस्त क्षेत्रहरू अफगानिस्तान, सिरिया, लिविया र इराक लगायतका मुलुकमा समेत जान पछि परेनौं । अफगानिस्तानमा राम्रो कमाइ हुने आशा बोकेर म पनि सन् २०१२ मा अफगानिस्तानको राजधानी काबुलतर्फ लागे ।
सुरक्षा गार्डको लागि अफगानिस्तान पुगेको मलाई त्यहाँ सुरक्षा भने प्रमुख चुनौती लाग्यो । काम गर्नेहरुप्रति त्यति सुरक्षा लागिरहेको थिएन । काबुलमा रहेका विभिन्न देशका दुताबासहरुमा नेपालीलाई सुरक्षा गार्डका रूपमा काम दिइन्छ । यसबाहेक नेपालीले अफगानिस्तानमा पाउने भने काम होटलमा हो तर निकै कम । हामीलाई कम्पनीले कन्ट्याकमा काम लगाएकाले हाम्रो बस्ने कोठा त्यस्तै १०/१२ मिनेटको फरकमा थियो । गत सोमबार म लगायतका केही साथी क्यानेडियन दूतावासको ड्युटीमा थियौँ, हाम्रो ड्युटी सकिएर साथीहरू आँउलान् र हामी जाउँला भनेर साथीहरूको प्रतीक्षामा रहँदा एक्कासि खबर आयो, साथीहरू बाटोमा आँउदा आउँदै तालीवानीको आक्रमणमा परेर १२ जना नेपालीसहित १४ जनाले ज्यान गुमाए रे । उक्त खबरले कम्पनीमा काम गरिरहेका हामी स्तब्ध भयौ नेपालबाट धर्मपत्नी, बुबा, आमा लगायत छरछिमेकीले तारन्तार फोन गर्न थाल्नुभो । उक्त घटनामा ज्यान गुमाएका पनि आफ्नै गाउँका आफन्तहरु परेकाले मेरो घरको वातावरण त्रासमय रहेको सहज अनुमान लगाएँ ।
उक्त घटनापछि हामी क्यानेडीयन दूतावासमा काम गर्ने करिब ७० जना नेपालीहरू निकै त्रसित भयौँ र नेपाल फर्कने सोच बनाउन थाल्यौ । कम्पनीबाट पनि नेपाल फर्कन चाहनेलाई त्यस्तो रोकावट थिएन । कमाई राम्रो हुने भएकाले ज्यान बाजी राखेरै भए पनि हामी नेपालीहरू हाँसीहाँसी काम गर्न बाध्य थियौँ । त्यहाँ कमाइ हुने भनेको त्यस्तै एक लाख हो । नेपालमा कहाँबाट कमाउने हो र त्यति त्यसैले नेपालको अस्थिर राजनीति र पढेकाले पनि रोजगार नपाएको देख्दा उतै ठिक मान्न बाध्य थियौँ हामी । नेपाल फर्कने सोच बनाइरहेकै बेला समाचारमा काबल आक्रमणमा निधन भएका नेपालीको शव लिन नेपालबाट विमानसहित टोली आउने र फर्कन चाहने अन्यलाई पनि लैजाने भन्ने समाचार सुनेपछि म सहित २४ जना नेपाली फर्कने निर्णय गर्यौँ ।
उक्त घटनापछि घटनाप्रती अनेक किसिमका अनुमान लगाईए तर मैले जाने बुझेसम्म उक्त घटना नेपाली कामदार प्रति नै लक्षित हो । अफगानिस्तानमा नेपालीलाई रोजगारमा जाँदा अन्य केही पनि समस्या छैनन् खाली सुरक्षाको मात्र समस्या हो । त्यहाँका लागि भिसाको समस्या, रकम नपाउने लगायतका केही समस्या छैनन् सबै कम्पनीले नै मिलाई दिन्थ्यो एउटै कुरा चाहिँ तिनीहरूले हामीलाई सुरक्षा मात्र दिन सकिरहेका थिएनन् । बारम्बार हामीलाई सुरक्षा देऊ भन्दा पनि उनीहरूले वास्ता गरेनन् त्यसमा हाम्रै मान्छेहरूको पनि हात छ । जस्तो कि हामीलाई नै हेर्न कमाण्डिङ गर्ने नेपाली दाजुभाइ नै हुन्छन् यिनीहरूले हाम्रो कुरालाई सुनेनन्, वास्ता गरेनन् अनि हाम्रो कुरा माथि पुर्याएनन् । हाम्रो कम्पनीले डाइरेक्टरले पनि त्यो गर्न चाहेनन् त्यसैले यो घटना पनि घट्यो जसका कारण हामी त्रसित भएर फर्कन बाध्य भयौँ ।
यदि दूतावास भएको यो समस्या केही हदसम्म समाधान हुन्थ्यो कि भन्ने हो । जुन नेपालमा एक किसिमको हल्ला छ फर्कन चाहानेलाई फर्कन दिँदैनन् भन्ने त्यसका कुनै सत्यता छैन । घटनापछि पनि कम्पनीले तिमीहरू जान चाहनेहरु जाऊ, हामी पठाउँछौं, कति जना जाने, कति जना बस्ने भनेर भनिरहेको छ । हामीले काम गरेको कम्पनीमा घर जान्छु भन्दा नदिने त्यस्तो चाँहि छैन । कम्पनीले नेपाल फर्कने बारे सबैलाई सोधेको थियो, फर्कन नचाहने कुरा उहाँहरुकै कुरा हो । हामी चाँही नेपाल सरकारको जहाजमा फक्यौँ ।
हामीले नदेखेका अफगानिस्तानकै अन्य ठाँउहरुमा भने त्यस्ता समस्या नहोलान् भन्न सकिन्न । यदि त्यस्तो समस्या छ भने नेपाल सरकारले पहल गरेर उनीहरूलाई फर्कन सहयोग पुर्याउनुपर्छ । कतिपय नेपालीहरू दलालको फन्दामा परेर पनि अफगानिस्तान पुगेका हुन्छन् त्यस्तालाई चाहिँ समस्या पर्न सक्छ । तर, म चाँहि श्रम स्वीकृत नै लिएर नै वैधानिक हिसाबले गएकाले त्यस्तो फाल्टु समस्या भोग्न परेन । म अफगानिस्तानमा काम गरेर फर्केको एक नेपालीको हैसियतले नेपाली कामदार जो विदेश जान चाहन्छन् चाहे अफगानिस्तान होस् चाहे अन्य मुलुक पैसा नदिने हो भने पठाउँदैनन् । अब नेपालको चल्दै आएको चलन नै यही हो । नेपाल सरकारले त्यसमा कसरी हुन्छ विदेश जाने कामदारलाई सुरक्षाको समेत ग्यारेन्टी हुने गरी सहज व्यवस्था मिलाउन सके धेरै राम्रो हो । वैदेशिक रोजगारीको क्षेत्रमा दलालहरुको बिगबिगी छ त्यसमा कडाई गरेर सरकारले नै रोजगारमा पठाएर बरु ट्याक्स लिए पनि राम्रै हो । यदि कोही अफगानिस्तान जान चाहाने नेपालीहरू हुनुहुन्छ भने त्यहाँ सुरक्षाका हिसाबले हेर्ने हो एकदमै कमजोर छ तर केही ठाउँमा भने सुरक्षाको राम्रो व्यवस्था पनि छ । त्यसैले तपाईहरु जानुअघि नै म यो ठाउँमा जाँदै छु भनेपछि आफू जाने ठाउँमा सुरक्षाको व्यवस्था छ कि छैन, ड्युटी आवर के कस्तो छ, तलब कस्तो छ सबै बुझेर मात्र गएमा निकै राम्रो हुन्छ ।
नेपालमा सानो जागिरले परिवार पाल्न समेत धौँधौँ पर्छ जसले गर्दा हामीजस्ता युवाहरू बिदेशिरहेका छन् । अब अफगानिस्तान जानै हुन्न भन्ने पनि होइन, हामी फेरी पनि बाध्यतावस पनि जानै पर्ने हुन सक्छ नेपालमा अस्थिर राजनीति र उचित रोजगार नभएपछि विदेश नगई त हुन्न । तर, विदेश जाँदा पनि अत्यन्तै बुझेर मात्र गए दुःख पाइन्न । अफगानिस्तानमा पनि केही ठाउँहरूमा निकै राम्रो तलब र सुरक्षापनि उस्तै छ ती ठाउँमा जादाँ खासै फरक पदैन । त्यसैले म पनि केही समयको नेपाल बसाइपछि सोच बिचार गरेर विस्तृतमा बुझेर फेरी फर्कने सोच चाहिँ छ । नेपालमा जबसम्म युवाहरू लक्षित रोजगारी नीति आउँदैन् तबसम्म हामी जस्ता युवाहरूले विदेशिनुको विकल्प देख्दैनन । तर, विदेश जाने नाममा नबुझि हावाको भरमा पनि जानु हुन्न भने मेरो सुझाव हो । (काबुल घटनापछि नेपाल फर्कनु भएका प्रेमबहादुर तामाङसँग गोविन्द मरासिनीको कुराकानी )