Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुँदै 

नवलपरासी – नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा ल्याइएको पार्टीको संशोधित विधान पारित भएको छ ।

यसबाट अब नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । आज दिउँसोदेखि नयाँ नेतृत्वको प्रक्रिया सुरु हुने बताइएको छ । यता बन्दसत्रमा ल्याइएको पार्टीको नीति तथा कार्यक्रम र राजनीतिक दस्ताबेजमाथि प्रतिनिधिले आ–आफ्ना भनाइ राख्ने क्रम मङ्गलबार नसकिएकाले आज बिहान पनि प्रतिनिधिले यसप्रति आफ्नो सुझाव र भनाइ राख्दैछन् । महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उच्च माविको प्राङ्गणमा जारी छ । बन्दसत्रमा ल्याइएको राजनीतिक दस्ताबेजमा मधेसको माग पूरा गर्न आन्दोलन एक मात्र विकल्प रहेको उल्लेख छ ।

पार्टीका केन्द्रीय सदस्य विकेशकुमार मिश्राले भन्नुभयो, ‘दस्ताबेजमा तराईमा दुई प्रदेश साथै मधेसमा देखिएको समस्या संविधान संशोधनमार्फत शीर्ष तीन दलले जिम्मेवारी लिएर समाधान गर्नुपर्नेछ ।’ महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्ताबेज पारित गरिँदैछ । बन्दसत्रमा यसबाहेक पार्टीको विधान संशोधन, पार्टीको नयाँ मधेस आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल भएको आयोजक जिल्ला नवलपरासी तमलोपाका उपाध्यक्ष पुरन चौधरीले जानकारी दिनुभयो ।

पार्टीको विधान र राजनीतिक दस्ताबेज पारित भएपछि आज दिउँसोदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ । यस पटक एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव ३, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी ३३ सदस्यीय कमिटिको निर्वाचन हुनेछ भने १६ वटा आरक्षण सदस्यको समेत निर्वाचन हुँदैछ । यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । यस पटक निर्वा्चित र मनोनीत गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।

महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । विशेषगरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रूपमा हेरिएको छ । महाधिवेशनका कारण जिल्लामा शान्तिसुरक्षासमेत कडा बनाइएको छ । महाधिवेशन आज साँझ नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।

तपाईको प्रतिक्रिया