सीमा आभास
अदिभा बिना झ्याल ढोकाको एक चिसो स्टोर हाउस हो । यो अजिवको मान्छेले एकलाख कुरा कानबाट छिराएको छ भने नब्बे हजार शरीरमै हुर्काएर दश हजार जति मात्र मुखबाट बाहिर निकाल्छ ।
यसलाई जसरी सम्झे पनि पुग्छ । यो अजीव अदिभा र म न साथी हाँै ? न कुनै नाता छ । दिनमा एकपटक कमसेकम एक घण्टा मेरोमा आएकै हुन्छ । उमेरले ऊ मभन्दा छ सात बर्ष कान्छो होला । उसलाई दिएको समयवापत म घण्टाको हिसाबले ऊबाट पैसा लिन्छु । ऊ मेरोमा आएर कहिलेकाहिँ एकवचन पनि नबोली निस्किएर जान्छ । कहिले मेरो ओछ्यानमा मुख छोपेर दिनभरि सुतेर जान्छ । ऊ यौनमा लिप्त पुरुष पनि हैन । कहिले खानेकुरा लिएर आउँछ । ऊ फरकफरक मुडमा आइरहेको हुन्छ । चुपचाप अनुहार पढेर म उसको मुड जान्दछु । उसको एउटा बानी सधै एकै हुन्छ । ऊ जहिल्यै असाध्यै कम बोल्छ । असाध्यै कम हाँस्छ । भन्नैपर्दा उसलाई राम्रोसंग हाँस्न आउँदैन ।
दिनैपिच्छे लुगा फेर्छ । दिनहुं आर्युवेदिक साबुनले नुहाउँछ । चिटिक्क परेको जीउडाल । कालो हेल्मेट जस्तो सुन्दर र आकर्षक कपाल सहितको टाउकोले उसलाई झनै हेन्डसम बनाएको छ । गोलो र गोरो अनुहारमा क्रिम दलेकै हुन्छ । दाह्री काट्न आबश्यक सामान, केहि चकलेट, कोरकार पारेको डायरी, एउटा सानो फलामको टुक्रा, सुकेको बेसारको ठुन्को उसको कालो ब्यागमा रहेकै हुन्छ ।
अरु सामान त आबश्यक परेर बोक्यो तर फलामको टुक्रा र बेसारको ठून्कोचाहिँ किन बोकेको होला ? म चित खान्छु । धेरैचोटि सोधेँ बोक्नुको कारण तर बताएन । कहिलेकाहिँ जिस्काएर सोधीदिन्छु, ‘बेसार र फलामको टुक्रा कतै छुट्यो कि ?’ मेरो ठट्टा उसलाई पच्तैन । रिसाउँछ । ऊ रिसाएपछि झनै जिस्काउन मन लाग्छ ।
अदिभाका मनमा केके कुराहरु जम्मा भएका छन होला ? उसलाई बनाउने भगवानलाई केही अंश थाहा हुँदो हो अनि यो आफँैलाई । बाँकी कसैलाई केही थाहा हुदैन । होस पनि कसरी ? चिसा स्टोर हाउस ।
ऊ प्रशस्त जाँड खाएको बेलामा धामीझैँ बकेर आफूलाई हलुका पार्न खोज्छ । बोल्ने बेलामा यसका घाँटीमा के अड्कन्छ कुन्नी मुखसम्म आउनै नपाई पेटतिरै फर्किन्छ । बिचरा कति कुरा सिञ्चित गर्न सकोस । कतै झ्याल ढोका नभएको उसको मनमा हतपत न छिर्न सकिन्छ न निस्कन । दह्रो पर्खालभित्र कसरी रहन सक्नु ? म उसलाई चियाउँछु मात्र । त्यो भन्दा बढ्ता उसँग अपेक्षा गर्नु नै बेक्कार हो ।
अदिभा र मेरो भेट अचम्म तरिकाले एक नामी र महंगो बेश्यालयमा भएको थियो । म सँधै बेश्याकुञ्जमा जाने भएकोले सबैले त्यस्तो त सोच्छन । स्पस्ट पारुँ ? म बेश्या होइन । त्यहाँ जानुको मेरो उद्देश्य अर्कै छ । कुनैदिन चिया पिउँदै सुनाउँला । तथापी म बेश्याकुटीमा धेरैचोटि गएकीछु । आजभोलि पनि गइरहेकी छु । अदिभा बेश्यालय जाने नियमित र अनियमित दुबै ग्राहक हैन । ऊ बेश्याकुञ्जमा गएर अँध्यारो र घोप्टे अनुहार लाएर फर्केको मैले धेरैचोटि देखेँ । बेश्यालय जान्थ्यो । बेश्यासंग जाँदैनथ्यो । म अनुत्तरीत छु । तै पनि बेश्यालय किन जान्थ्यो ? हाम्रो त्यहिँ चिनजान भयो मित्रता भएन । भेटघाट भयो प्रेम भएन ।
यो म कहाँ आउँदा सधै एक बट्टा चुरोट ल्याइदिन्छ । पहिला त याक चुरोट पिउँथें । आजभोलि पाँचसयपचपन्न ऊ र मसँगै पिउँछौं । धुवाले छलेको उसको उदास अनुहारमा सन्तुष्टिका नसाहरु पहिल्यै कसैले काटिवरि फालिदिएजस्तो लाग्छ । यसको अनुहारमा एउटा टुकी बत्ती बलेको देखेको छैन । के पिर छ यसको मनमा ? किन यतिबिघ्न उदास हुन्छ ? मुखले केहि नभनेपछि कसरी थाहा पाउनु ?
मेरो शरीरमा सिंचिएको यसको कुमारत्व अझै जिवित छ । यसको मौनता देख्ता बेलाबेला सल्बलाउँछ विगत ।
त्यतिबेलाको मौसम गर्मी थियो । नजिकै खोला भए पनि यसलाई पौडी खेल्न आउँदैनथ्यो । कसरी पौडी खेल्ने र आफूलाई बँचाउने झर्को नमानी बिस्तारपूर्वक सिकाएँ । पन्ध्रै दिनमा यो असल पौडीबाज भोे । त्यसपछिदेखि अदिभा र म कुशल पौडीवाज भयौं । वाजी मारेर पौडीमा कतिचोटि खोला वारपार गरीयो ? कतिचोटि उसले जित्यो ? कतिचोटि मैले जितेँ ? एकीन हिसाब छैन । प्रतिस्पर्धामा उत्रिए पनि हारजित केही भएन । आजसम्म पनि भएको छैन ।
फूल पानीमा तैरिएर कतै नभिजी बगेझैं जोखिमयुक्त खोलामा कसरी पौडने ? फूल कसरी सुघ्ने ? यसको रस कसरी खाने ? मैले नै सिकाएँ । त्यहि दिनदेखि मलाई ‘पानीफूल’ भनेर बोलाउँछ । उसले यसरी बोलाउँदा म पानीमै छचल्किएर विलाएको छालजस्तै क्षणिक आनन्दित भएर बिलाउँछु । हेर्दा खस्रो देखिए पनि नरम र मिठो बोल्नु अदिभाको नैसर्गिक गुण हो ।
मैले उसलाई अदिभा भनेर बोलाउँदा उसको अनुहार छिटै उज्यालिन्छ । म आनन्दित हुन्छु । नामको अर्थ नबुझी ऊ खुसी भएकोमा । यहाँ सुटुक्क भनुं ? अदिभा अर्थात अण्डा दिने भाले उसले यो कुरा थाहा पाउने छैन । थाहा दिनु जरुरी छैन ।
म उसको सुगन्धित पानीफूल । ऊ फूल भएको पोखरीमा ढुंगा हान्छ । म तरंग भएर परसम्म फैलन्छु । ऊ मैले नखरा पारेको मन पराउँछ । म त्यसै गर्छु ।
जरुर यो यौटा सक्षम भाले हो । जबदेखि यो मेरो जिवनमा प्रवेश ग¥यो त्यहि बेलादेखि यसले मलाई अण्डा पारिदिरहन्छ । उसले अण्डा पारिदिन्छ र त मेरो जिवन यतिको हाइफाइले चलेको छ । कहिले काहिँ त यो सुनको अण्डा नै दिन्छ । त्यसबेला भन्न मनलाग्छ सु¬अदिभा अर्थात सुनको अण्डा दिने भाले । मैले यसोभन्दा ऊ अलिक कम खुसी हुदै भन्छ, ‘सुअदिभा त अलिक केटीको जस्तो नाम भएन र ?’ म मात्र नखरा हाँसो हाँसी दिन्छु ।
उसकी स्वास्नीलाई भन्दा मलाई बढी थाहा छ यसको रुची र बानी ब्यहोरा । ऊ खल्तीमा पैसा भो कि आएर निर्वाध खन्याउँछ र जान्छ । उसकी स्वास्नीलाई के थाहा फूललाई कसरी चुम्नुपर्छ ? भमरालाई कसरी रस चुस्न दिनुपर्छ ?
यो अण्डा दिने भाले सदाभन्दा फरक छ आज । अलिक बढ्ता नै बोलेको छ । बातैपिच्छे ‘मेरी पानीफूल’ भनिरहेको छ । यसको रहस्य बुझ्न सकेकी छैन । म अन्दाज लगाउन सक्छु आज यसले आफ्नो मनको पर्खालमा एकातिर सानो प्वाल खोपेको छ । त्यहि प्वालबाट यसलाई चियाउने कोसिसमा छु ।
यो मधुर साँझमा किन एक्कासी मनको पर्खालमा प्वाल खोप्यो यसले । एक अँध्यारो प्रकाशहिन कोठा बनाएर बसेको यसको मनमा कुन भुइँचालोले प्वाल पारेको छ । म गम खान्छु । उसले भनेको थियो, ‘मसंग बिहे गरेर हिँड ।’ मलाई उसको कुराले त्यस्तो कुनै असर गरेन । अनायास भन्न पुगेंछु, ‘बुद्धकी स्वास्नी हुनुभन्दा स्वतन्त्र बेश्या हुन हजार गुणा ठिक ।’ उसको अनुहार नराम्रो गरी खुम्चिएको थियो त्यसबेला । हुनुपर्छ, आज यसलाई स्वास्नीदेखि साह्रै रीस उठेको छ । या अरु नै केहि भो ? म अन्दाज लाउन खोज्दिनँ ।
अदिभा प्राय भन्ने गर्छ, ‘स्वास्नीले हिसाब खोजेर दिक्क लाउँछे । तलब त बुझाउनै प¥यो ओटि जति पानीफूललाई ।’ यसको ओटिले नै मात्र म खुसी छु । त्यसकी स्वास्नीका हातमा पर्ने तलबजत्ति म सजिलै हात पार्छु । बिचरा † त्यो बबुरी के थाहा पाउछे ? अदिभा कहाँ के गर्छ ?
मेरो आयस्रोत यो सिउर काटिएको भाले हो । यसको सिउर मैले नै काटिदिएकी हँु । फूलको रसबिना बाँच्न नसक्ने भमरा हो यो ।
यसकी स्वास्नी घरको छेउमा रोपिएको गमलाकी फूल बाहेक अरु केहि हुन सकिन । यो घुमन्ते चरो, अदिभा जंगलको फूल चुस्न घरको फूललाई गमलामा कैद गर्छ । घर बसुन्जेल आँखाभरि त्यहि गमला हेर्छ । त्यहि गमलालाई स्याहारसुसार गर्दै फूलजस्तै सौम्य फूल्छे यसकी स्वास्नी ।
मंगलबार साँझ अदिभा सधैकोभन्दा फरक मुद्रामा टुप्लुक्क आइपुग्यो मेरो ढोकामा । आज फरक तालमा कुदिरहेको छ यसको अनुहारको भाब । मैले सोधँे, ‘किन फरक छौ ?’ अलिक थकित र उदास मुद्रामा भन्यो, ‘आज आउन मन थिएन । खल्ती रित्तो थियो । तर के गर्नु आज स्वास्नी गणेशको ब्रत बसेकी छे ।’
मैले अलिक कडासंग भनँे, ‘थाहा होला नि मेरोमा उधारो काम हुँदैन ।’
‘त्यहि भएर स्वास्नीसँग पाँचसय मागँे । ब्रत बसेको दिन भएर होला किन चाहियोसम्म पनि भनिन ।’
अदिभा मेरो जिवनको एक अभिलासाको क्षितिज । मेरोमा आउने अरु के कति केटाहरु कस्ता थिए हिसाब भएन । तर अदिभा म कहाँ आउन्जेलसम्म कुमार नै थियो । त्यसदिन त्यसको मुख रातो गुलाब भएको मेरा आ“खामा अझै तस्विर छ । बसन्तको कुनै बिहानी, पहिलो प्रहरको सितका बुँदाबँुदा मैले नै टकटकाएकी थिएँ गुलाबका पत्रबाट । मैले नै चाटेकी थिएँ सितले बिथोलेको मेरो हत्केला ।
अदिभा मेरो ओछ्यानमा आएर लगातार निदाएको आज पाँचौदिन हो । यतिका दिनसम्म ऊ जम्मा पाँच शब्द पनि बोलेको छैन । मैले जे भने पनि मुख छोपेर सुनेको नसुन्यै गरी सुत्छ ।
केहि घण्टाको लागि म आफ्नै कामले बाहिर निस्किएकी थिएँ । फर्किएर आउँदा ऊ त्यहाँ थिएन । चुरोट, बिस्कुट, अलिकति चकलेट ऊ सुतेको खाटमा छरपस्ट थिए । अब्यवस्थित हुनु त अदिभाको पर्याय नै हो । तलतल लागिरहेको थियो । चुरोट पिउन बट्टा खोलेँ । बट्टाभित्र सेतो कागज पट्याएर राखेको रहेछ । त्यहि बोल्न नसक्ने अदिभाका नराम्रा अक्षर कनिकुथी पढेँ ।
‘प्रिय पानीफूल !
म धेरै बोल्न सक्तिनँ । कुनैदिन म युद्धबाट बँचेर आएको एक सिपाही हुँ । मेरो कमाण्डमा धेरै ठाउँमा आक्रमण भएका थिए । जनधनको क्षती गराएपछि हामीले जितेको घोषणा गरी आफ्नो धर्म निर्वाह गरेका थियौँ । म एक शिविरमा बसेको बफादार सिपाही हुँ । भर्खरै म अयोग्य साबित भएको छु । कुनैदिनको म योग्य कमाण्डर । अहिले अयोग्य भएको छु । मेरी दिदीलाई बैरी साबित गरेर मैले नै उडाएको थिएँ । आमा त्यसैको घातले बित्नु भो रे । मेरो भेट भएन । घर गएको छैन । खै किन हो श्रीमतीसंग म भित्रभित्रै चिसिँदै गएको छु । ऊ चट्टान हँुदै गएकी छे ।
मैले जितेँ या युद्धले । म आफ्नै हातबाट हत्या गरिएको व्यक्ति साबित भएको छु आफ्नै नजरमा ।
मेरो झोलामा हर्दम रहने त्यो फलामको टुक्रा गोलीको खोका हो । त्यहि खोकाले दिदीलाई सकेको थिएँ । सुन † आज भन्दैछु, त्यहि खोकालाई बिषय बनाएर तैँले ठट्टा गर्दा त्यसले मेरो छाती पटकपटक खोप्थ्यो पानीफूल ।
केहि बर्षदेखि दशा लागेको छ भन्थिन दिदी । ज्योतिषीले भने अनुसार दशा टार्न बेसारको ठुन्को बोक्थिन । दिदीको सास गएपछि उनको हाते ब्यागमा गोलीको खोका र बेसारको ठुन्को भेटेँ । त्यो बेसारको ठुन्कोले दिदीको बिपत्ती र दशा टा¥यो टारेन ? जे होस उनी मेरै हातबाट मारिइन । मेरो पनि दशा र बिपत्ती टर्छ कि दिदीजस्तै हुने हुँ ? थाहा छैन ।
तेरो ओछ्यानमा सुतेर धेरै कुरा जानेको छु । मलाई घृणा नगर । अब उप्रान्त तँसंग भेट गर्न आउने छैन । चुरोट ल्याइदिएको छु, पिउनु । म तँलाई प्रेम गर्छु पानीफूल !’
सुनसान कोठामा म एक्लै छु । मौसम ठिक छैन । जीउमा १०४ डिग्रीको ज्वरो चढेको अनुभूति हुँदैछ । म दुइऔलाले चुरोट चेपेर धुवाँ उडाइरहेकी छु । मेरो ओठको बीचबाट निस्किएको धुवाँ शुन्यमा हराएजस्तै मबाट अदिभा पनि हरायो ।
त्यसको जस्तै मेरो कहानी भन्न बाँकी नै छ । अब कसलाई सुनाउँ ? सोच्तासोच्तै पाँचवटा चुरोट पिइसकेंछु । बेवारिसे ठुटाहरु मेरो सामुन्ने एस्ट्रेमा छन । छैटौँ चुरोट सल्काउँदा सल्काउँदै अनायास फुसफुसाएँछु, ‘म पनि तँलाई प्रेम गर्छु अदिभा !’