आधा रातमा शहर घुम्नु मेरो जीवनको दीर्घलोभ हो। ल्याम्प पोष्टबाट खसेको उज्यालोको स्पर्श कामुक लाग्छ।
एक्लै मनमौजी हुन पाइन्छ। यसरी मध्य राति हिँड्ने साथी पाउन निकै मुस्किल छ। यो बाटो कहाँ पुग्छ भनेर थाहा पाइरहनु पर्दैन। के खाने भनेर सोचिरहनु पर्दैन।
ट्याक्सीवालाले आश गर्दै बोलाउँछ । जाँदिन भन्न पाइन्छ।
काठमाडौंमा हो भने पुलिसले निकै ‘तंग’ गर्छ। ‘अस्पतालमा बिरामी पु¥याएर आएको हुँ । घर यहीँ अगाडि हो’ भन्दै हिँड्दा हुन्छ। कुक्रुक्क परेर बसे सडक जिन्दगी रहेछ भनी ठानेर छाडिदिन्छ। उस्तै पुलिस फेला
परे मुख सुँघेर रक्सी पिएको बहानामा सय पचास माग्न भ्याई हाल्छ।
भुँइचालोले यस्तो जिन्दगीमा फेरबदल गरिदिइएको छ।
अचानक जिन्दगीको उत्पात माया लागेर आयो ।
जे देखे नि किन्न मन लाग्ने। जे देखे नि खान मन लाग्ने। फोटोमा देखेको ठाउँ उडिहालम् जस्तो लाग्ने म मनुवालाई आज किन यस्तो लाग्दै छ?
किन कतै हिँड्न मन लाग्दैन? बोल्न मन लाग्दैन? खान मन लाग्दैन? किन समुन्द्रको किनारतिर बरालिन मन लाग्दैन? किन हाइकिंग वा ट्रेकिङ्को बहानामा पहाडतिर उक्लिन मन लाग्दैन?
मलाई आफ्नो माया लाग्न थाल्यो। मान्छेहरूको माया लाग्न थाल्यो। घर परिवार र देशको माया लाग्न थाल्यो ।
जोगी हुन्छु भन्दै हिँडेको मान्छे । भुँइचालोले सांसारिक बनाई दियो।
हैन हैन म सांसारिक नै रहेछु । यो थाहा पाउन भुँइचालो नै पर्खनु प¥यो।
यसपालिको अन्तिम हिउँद मैले कोरियामा बिताएँ । जंगलले हरियो गुमाएको थियो। घर छेउको पोखरी ढुंगो जसरी जमेको थियो। पानीले आफ्नो बग्ने धर्म बिर्सिएको थियो। कुनै चित्रकारले क्यानभासमा सेतै मात्र रंग पोखेर बिर्सिहिँडे जसरी आँखाको भूमण्डल सेतै मात्र देखिन्थ्यो।
घरछेउको बगैँचामा फूलका विरुवा मरेका हुन् कि बाँचेका हुन् खुट्याउन सक्दिनथेँ। कसैले नदेख्ने गरी नंङले हाँगाहरू कोट्याउथेँ । भित्र हरिया रेसाहरू देखिन्थे। थाहा पाउँथेँ यो जीवित छ। तर विश्वास गर्न सक्दिनथेँ। यहाँ फेरि मुनाहरू पलाउँछन्। बोटमा हरियो फर्कन्छ । फूल फुल्छ । फेरि प्रकृति पूर्ववत् देखिने छ।
हिउँ थामिएपछि दिनहरू बिस्तारै न्याना भए। साकुराका रुखहरू सेताम्मे भएर फुले। मुनाहरू पलाए। चौरीमा हरियो उम्रियो। अहिले बगैँचामा हरियो मात्र छ । फूलहरू मात्र छन्।
पर्खनु पर्ने रहेछ। हिँउद नआई बर्खा नआउने रहेछ।
भुइँचालोलाई कोरियाको उदास हिँउद सम्झिएको छु। जुन सुन्दरताको क्रुर नमुना हो।
यो विपत्तिपछि सोह्र वर्षीय ठिटोले जिन्दगी केही हैन भनिदिएको छ।
मलाई जिन्दगी खास केही जस्तो लागेको छ। आफ्ना रहर र इच्छाहरूलाइ भोगचलन गरिहाल्ने हतारो जागेको छ। दिन, घण्टा, मिनेट र सेकेण्डको सयम समेत महत्वपूर्ण लाग्न थालेको छ। काम गर्न कहिल्यै मन लाग्दैन थियो। अचानक काम गर्न मन लागेको छ। जिन्दगी आज बाँचेर आजै सकिन्छ जस्तो लाग्थ्यो। भोलि पनि बाँच्नु पर्ने रहेछ।
मान्छेहरू निराश भएका छन्। जुन स्वभाविक हो। सारा जीवनको लगानीबाट निर्मित घर माटोमा परिणत भएको छ। दैनन्दिनले युटर्न लिएको छ । यो भोगाइको पराकाष्ठा हो। दुःखको चरम उचाइ हो।
चोर बाटो हुँदै ठूलो लगानीमा अमेरिका पसेको मित्रले हतास हुँदै म्यासेज लेख्यो,‘म त देश फर्कँदै छु । तिमी कहिले फर्कन्छौँ ?’
जसको अमेरिका पुग्नु अन्तिम सपना थियो । नेपालको घर जग्गा बेचेर दलालको पुच्छर समात्दै दुःख कष्ट भोग्दै अमेरिका पुगेको जवान किन देश फर्कने हतारमा छ? उसलाई किन देश दुख्यो? ऊ यता आएर अब के गर्छ? देश बनाउँछ? वा दुइ चार दिन आफन्त, साथीभाइ भेटेर उतै फर्कन्छ ? कि जान्यो उसले देश, समय, आफन्त भन्दा माथि पैसा होइन भन्ने?
यो विपत्तिपछि ऊ भित्र देशको माया पलायो कि निराशामा डुब्यो? सोच्दै छु । आफ्नो सबै भन्दा ठूलो सपनालाई एक झोक्कामै त्याग्न सक्नु भनेको अनियन्त्रित भावुकता हुन सक्छ ।
बसेको मान्छे उभिनु पर्छ । उभिएको मान्छे हिँड्नु पर्छ। हिँडेको मान्छे दौडनु पर्छ । प्राकृतिक विपत्ति हामीलाई मात्र परेकौ हैन। अरु अरुलाई पनि परेको छ । प्रत्येक घरमा मान्छे मरेका छन्। आफ्नो घरमा मात्र हैन। अहिले सम्झनु पर्छ । गाईजात्रा निकाल्ने परम्पराको उत्पत्ति कथा।
भूूँइचालो आउने दिन आफ्नै मनमौजी पारामा थिएँ। भोलिपल्ट बिदा भएकाले रातभरि शहर घुम्नु मेरो दीर्घ सोख हुँदै हो।
काम सकेर सिधै जिन्जुतिर लागेँ। सडक फुड खाएँ। ठूला सपिङ मलतिर ओहोरदोहोर गरेँ। महँगा समानहरूको आईसप गरेँ। स–साना हटिया जस्ता बजार छिरेर सस्ता कपडा र जुत्ता किनेँ। जसले मलाई नेपालकै हाटबजारको धित मेटाउँछ।
मोबाइलमा डाटा लिमिट क्रस भएको थियो। कतै उभिएर फ्रि वाइफाइ सर्च गर्ने दुःख गरिन।
यसरी घुम्दा दुनियाँबाट एक्लो हुनुको फाइदा मैले निकै राम्रोसँग लिन जानेको छु। यसकारण पनि सामाजिक सञ्जाल खोलिन। कुनै न्युज एप चलाइन।
राति दश बजे एउटा बारमा छिरेँ। आँखा टेलिभिजनको स्किनमा प¥यो। कोरियाली भाषाको समाचारमा नेपाली कोलाज छ। भत्किएको धरहरा छ। वसन्तपुर र पाटन छ। अन्य थुप्रै घर र विभत्स दृश्यहरू छन्।
मोबाइलमा फेसबुक खोलेँ। मेरो दिमाग चट्कियो। ठूलो स्वरमा रोएछु। चाल पाइनँ। मेरो रुवाइ सेन्सलेस थियो। कोरियनहरूले के भयो भन्दै सोध्न थाले।
‘यो हाम्रो देश हो।’ रुन हुँदैन भन्ने चाल पाउनु अघि नै यति बोलिसकेछु।
एउटा दुर्घटित देशको मान्छे अचानक आँखा अघि उभिँदा सान्त्वना दिनु पर्छ भन्ने पनि भुलेछन् क्यार! कोही केही बोलेनन्।
एक छिनपछि पिउँदै गरेको बियरको मग टेबलमा बिसाएर एउटा कोरियन बोल्यो, ‘खराब समाचार! नआत्तिऊ। जापानमा पनि भुँइचालो आएको थियो। सुनामी आएको थियो। मान्छे मरेका थिए।’
अर्को टेबलबाट अर्काे कोरियनले थप्यो, ‘अब तिम्रो देशमा पनि सुनामी आउन सक्छ।’
मेरो देशमा समुन्द्र छैन। तर, पहाडहरू भत्कन सक्छन् । हिमालहरू खस्न सक्छन् । यो सुनामी भन्दा कहाली लाग्दो हुन सक्छ।
कोठामा फर्केँ। घरमा फोन गर्न खोजेँ। लागेन। रातभर निदाइन। अनौठो त्रासमा फसेँ।
घर फर्कन मन लाग्यो। एक हप्ताभित्र घर फर्कन्छु। सोचेँ।
किन फर्कन्छु, के गर्छु, आफैंलाई थाहा छैन। तर घर फर्कन्छु।
अनियन्त्रित भावुकताले मलाई घर जाने बाटो देखाइदियो।
दुई दिनपछि फेरि जिन्जु गएँ। आज केही किन्नु थिएन तर कोरियाली आमैको पसलमा गएँ। यो दूर देशमा सान्त्वना खोज्दो रहेछु । यसकारण आमैलाई भेट्न मन लाग्यो।
‘तिम्रो घरमा के छ?’ मलाई देख्ने बित्तिकै आमैले सोधिन्।
‘मेरो घरमा ठिकै छ। केही भएन। तर अरुका धेरै घर भत्के। मान्छेहरू धेरै मरे।’
उनी मसँगसँगै निराश भइन् ।
‘अब धेरै मेहेनत गनुपर्छ। घरहरू फेरि बनाउन सकिन्छ। हाम्रो देशमा पनि धेरै मान्छ मरेका थिए। युद्ध भएको थियो। हाम्रो देश गरिब थियो। मान्छेहरू पेटभरि खान पाउँदैन थिए। म पनि धेरै दिन भोकै बसेको छु।…’
बुढी आमै राकिएकी छैनन् ।
‘…पछि धेरै कुरा राम्रो भयो। हामीले धेरै काम ग¥र्यौँ । मेहनत ग¥यौँ । हामीले सरकारलाई आफूसँग भएको सुनसमेत दिएर सहयोग गरेका थियौँ । भोलिपर्सि तिमीहरूको देश पनि हाम्रो जस्तै हुनेछ । तिमीहरू यहाँ आएजस्तै अरु देशबाट काम गर्न मान्छेहरू आउने छन्। पहिला पहिला हाम्रो देशबाट पनि मानिसहरू विदेशमा काम गर्न जान्थे।’
बुढीले मलाई बालकलाई जसरी सम्झाइन्। कोरियाली बुढाबुढीहरू स्नेही हुन्छन्। अरुको दुःखमा समाहित हुन सक्छन्। उनी मसँगसँगै दुखी भइन् । तर सकेको हिम्मत दिन बिर्सिनन्।
बुढी आमैले भनेजस्तो हामी मेहनत गर्न सक्छौँ। फेरि उठ्न सक्छौँ।
भत्किएको घर भत्किमात्रै रहँदैन । मेहेनत गरे सबै जुटे फेरि बन्छ । लागेको घाउ पनि निको हुन्छ। हामी बलियो छौं ।
हामी अवश्य उठ्छौं।