Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

Hom Subediसभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरु तथा भाषा साहित्यप्रेमी सहभागीहरु,
चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न राष्ट्रबाट पाल्नुभएका सहभागी तपाईहरुलाई सम्बोधन गर्न पाउदा अत्यन्त खुशी लागेको छ ।

यो मोती जयन्तीको अवसरमा हुने गरेको सम्मेलनमा सर्वप्रथम म मोतीराम भट्टप्रति श्रद्धान्जली अर्पण गर्दछु । अन्तर्राष्ट्रिय साहित्य समाज र चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, टोकियो, जापान, सेप्टेम्बर १८, १९, २०, २१, २२, र २३, २०१५ को आयोजना विगत २००९ देखिका अनुभवको परिणाम हो । यस पटक अनेसास क्याविनेट र जापान च्याप्टर आ-आफ्ना मन न फटालिकन मिलेर काम गरेका छन् । यद्यपि व्यवस्थापनको भार त जापानलाई छँदैछ । त्यसको लागि म केन्द्रको संस्थापक अध्यक्षको हैसियतले केन्द्रिय क्याबिनेट र जापानका आयोजकहरुप्रति आभारी व्यक्त गर्दै यो अवसरमा ससम्मान धन्यवाद पनि व्यक्त गर्दछु । यो सम्मेलनमा सम्मानित हुने सबै सहभागीलाई स्वागत, सम्मान र बधाई ज्ञापन गर्दछु ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज के हो ? भूगोल, काल र राज्यका सीमा भन्दा माथि उठेर अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रति समर्पित व्यक्तिहरुको समूह नै अनेसास हो । अनेसासको अध्ययनका विविध पक्षहरु छन्ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार तथा पद, विभूषण तथा पारितोषिकहरु, विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम, कविता महोत्सव, अनेसासका पुस्तक प्रकाशन र अन्तर्दृष्टि पत्रिका प्रकाशन, र ग्लोबल नेटवर्क इत्यादि ।
अनेसासको स्थापनामा मलाई साथ दिने संस्थापक व्यक्तिहरु थिए- शिवप्रसाद सत्याल ‘पीठ’, अच्युत श्रेष्ठ, राजु श्रेष्ठ, लव गाउंले, नन्दादेवी सुवेदी, पुरुषोत्तम सुवेदी, पुरु घिमिरे, डि.बि. तामाङ, प्रकाश सुवेदी, राम मालाकार, बासु सत्याल, कल्पना सुवेदी, कल्पना सत्याल, माधव शर्मा, रिषिनाथ सुवेदी, डा.विष्णु पौडेल, डा.अमर गिरी, डा. हरिहरप्रसाद भट्टराई, भाष्कर गिरी र धनमान थापा । आज यी स्मरणीय छन् । अनेसासको विस्तारको यो समाचार सन्. १९९० को दशैको विजयाताक काठमाडौमा हल्ला भो र छापियो पनि । यिनै २० जना संस्थापकमध्येबाट जनवरी ११, १९९१ को दिन निवासस्थानमा यसको विधान परिषदको गठन भयो । विधान परिषद्मा श्री होमनाथ सुवेदी, डा.विष्णु पौड्याल, डा. अमर गिरी, डा. हरिहर भट्टराई, श्री शिवप्रसाद सत्याल ‘पीठ’, श्री राम मालाकार, श्री अच्युत श्रेष्ठ, श्री भाष्कर गिरी, श्री डिगबहादुर तामाङ्ग, श्री लव गांउले, श्री पुरु घिमिरे रहेका थिए । यसका संस्थापकहरु माथिका २० हुन् । यस अवसरमा सँस्थापक अध्यक्षको हैसियतले म उहाँहरुप्रति आभार र सम्मान प्रकट गर्दछु ।

गभर्नमेन्ट अफ डिष्ट्रिक्ट फ कोलम्बियाले जून २२, १९९३मा अनेसासलाई दर्ता गरयो । त्यसको लगत्तै पछि सेप्टेम्बर २२, १९९३ मा अमेरिकाको आयकर विभागबाट (इन्टर्नल रेभेन्यु सर्विस्) बाट Federal Tax Exemption प्रदान गरयो । फरवरी ३, १९९४ मा D.C. Department of Finance & Revenue बाट विक्रीकर नलाग्ने गरी State Tax Exemption स्वीकृत भयो ।
अनेसास कस्तो संस्था हो ??
अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो ।
अनेसासको इतिहासबाट जापानतिर नियाल्दा कस्तो देखिन्छ < यो यौटा जिज्ञाषाको विषय हो । अनेसास उता अमेरिकामा थियो यता भने नेपाली समाज जापान खोलेर तिलक मल्ल, विश्वनाथ शर्मा, भवन भट्ट र खेम भट्टचन जस्ता साथीहरुले काम गरिरहेका थिए । पछि थकाली समाज, तामाङ समाज, गुरुंग समाज लगायतका सँस्थाबाट भाषा र साहित्यको काम गर्दैगर्दा अनेसास केन्द्रको पनि सेवा गरिरहेका थिए । त्यसपछि डा. कुमार बस्नेत, हेमनाथ घिमिरे, पाण्डबराज कार्की, सुदेश घिमिरे, दीपा राजभन्डारी आदिले अनेसास जापानलाई स्थापना गरे । त्यही कदमले २००३ देखि आज २०१५ सम्म निरन्तर यो अगाडि बढिरहेको छ । अनेसास, जापान च्याप्टरका अध्यक्षहरु जसले अहिलेसम्म नेतृत्व दिदै आउनुभएको छ उहाँहरु यस प्रकार हुनुहुन्छ – १. डा. कुमार बस्नेत २००३-२००५, २. वेद पौडेल २००५-२००७, ३. बेलु थापा २००७-२००९, ४. दिनेशराज ज्ञवाली २००९-२०११, ५. प्रकाश पौडेल माइला २०११-२०१३, ६. आलोक चालिसे २०१३-२०१५ ।

जापानबाट केन्द्रमा गएर सेवा प्रदान गर्नेमा डा. कुमार बस्नेत, ई. २००९ मा अध्यक्ष हुनुभयो । त्यस्तै प्रकाश पौडेल माइला, अनेसास केन्द्रमा काम गर्नेहरुमा प्रकाश पौडेल माइलाले प्रधान सम्पादक अन्तर्दृष्टि (२००८-२०१०), मनोनित केन्द्रिय सदस्य (२००८-२०१०), केन्द्रिय कार्यसमिती उपाध्यक्ष २०१४-२०१६), केन्द्रिय कार्यसमिति सदस्य (२०१२-२०१४)मा काम गर्नुभएको छ । त्यस्तै आलोक चालिसेले ई. २००९ मा नै मनोनित केन्द्रिय सदस्यमा रहेर काम गर्नुभएको हो । लिटेरेरी बुक एवार्ड ट्रस्टमा डा. कुमार बस्नेत र देवमान हिराचन ट्रस्टी भएर सेवा पुराउनु भएको छ । यो सेवाको लागि उहाँहरु स्मरणीय हुनुहुन्छ । जापानमा छयालीसभन्दा बढी च्याप्टर हुनसक्ने विभिन्न प्रान्त रहेका छन् । यिनमा अनेसासका च्याप्टरहरु खोलेर अनेसास जापानलाई जापानको यौटा सशक्त केन्द्र बनाउने योजना रहेको पाइएको छ । यसमा अहिलेसम्म नागोयामा यौटा च्याप्टर खोली यसको प्रारम्भ गरिएको छ । यही सेप्टेम्बरको १०, मंगलबारको दिन नागोयामा संस्थापक अध्यक्ष र चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका मुल आयोजक समितिका संयोजक प्रकाश माइलाको उपस्थितिमा भएको यौटा कविता गोष्ठीले देखाएको छ त्यस क्षेत्रमा भएका नेपाली संघसंस्थाका र विशिष्ठ कम्पनीका शीर्षस्थ नेपाली सलाकारहरु यो च्याप्टरलाई बढी सक्रिय भाषा शिक्षण र साहित्य सिर्जनामा अझ विकसित गर्दै जानेकुरामा एकमतले दृढसङ्कल्पित थिए । त्यसरी उपस्थित अभिमत दिने खास व्यक्तिहरु हुनुहुन्थ्यो- नागोया च्याप्टरका अध्यक्ष सन्देश पोखरेल, जापान च्याप्टरका महासचिव विष्णुप्रसाद घिमिरे, एनआरएन जापानका निवर्तमान अध्यक्ष पारसमणि पोखरेल, करुणा कम्पनीका अध्यक्ष डिलाराम खरेल, त्यस्तै सरोज कंडेल, सुदीप अधिकारी, भूमिका पौडेल, नन्दादेवी सुवेदी, भैरवप्रसाद अधिकारी, रामप्रसाद खरेल, रामवहादुर खत्री, यम पछाईहरुको अभिमत र उपस्थितिले नागोया च्याप्टरको दर्तादेखि लिएर सबै कुरामा सक्रियता देखिदै जाने कुरो प्रमाणित भएको छ । यो जापान च्याप्टरको विकासक्रम सतचासिस प्रान्तमा पुगोस् भन्ने सबैको चाहना छ ।

अमेरिका बाहिरबाट केन्द्रिय अध्यक्ष हुनेहरुमा पहिले क्यानाडाबाट किरण ढुंगाना ई. १९९६ मा भएका हुन् भने दोस्रो जापानबाट ई. २००९ मा डा.कुमार बस्नेत भएका थिए । अनेसासको इतिहासमा जापानले केही खास कदमहरु चालेको छ र ती कदममा कदम राखेर आज हामी यो टोकियो महानगरीमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा यसलाई सम्पन्न गर्न हाजिर भएका छौ । आज हामी चौथो मन्जिलमा आएका छौं । यस्ता धेरै मन्जिल हामीले चढ्नु छ । नेपाली जाति, भाषा, साहित्य, कला र सँस्कृतिको विश्वव्यापीकरणमा अझ अगाडि बढ्दै जान्छ । त्यसरी जाने क्रम अनन्त छ । हामीले यी मन्जिल थप्दै जानुपर्छ । यो अनेसास सम्मेलनको माथि उठ्दै जाने क्रम यो घर यो सम्मेलन को यो सँस्कृतिको सँस्थापक म जापानलाई मान्छु । यो चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो कुन, पहिले कहिले र कुन देशको नेतृत्वको बेलामा भएको थियो ? यो प्रश्न गर्दा उत्तर आउँछ – यो अन्तर्राष्ट्रिय सम्मेलनको सँस्थापकमध्ये प्रमुख सँस्थापक जापान हो । अनेसास केन्द्रको नेतृत्व जापान च्याप्टरबाट डा. कुमार बस्नेतले गरिरहेको बेला डा. कुमार बस्नेतले नै यो यस्तो प्रकारको अन्तर्रास्ट्रिय सम्मेलनको आवश्यकता औंलाए । उनी आफैले अन्तर्रास्ट्रिय साहित्य सम्मेलन आयोजक समिति आफ्नै उपाध्यक्ष भारती गौतमको संयोजकत्वमा गठन गरी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन न्युयोर्कमा २००९ मा गरी गराएर यस्तो प्रकारको सम्मेलनको स्थापना गरेका हुन् र त्यस पछि यो सम्मेलन २०११ मा युकेमा ज्ञानेन्द्र गदाल अध्यक्ष भएको बेला जयाराईको संयोजकत्वमा लन्डन सम्मेलन गराउनुभयो भने तेस्रो सम्मेलन गीता खत्री अनेसास केन्द्रको अध्यक्ष भएको बेला सीता पाण्डेलाई कन्भेनर बनाएर २०१३ मा वाशिङ्गटन डिसीमा सम्पन्न भयो । चौथो अन्तर्राष्ट्रिय सम्मेलन पदम विश्वकर्मा अध्यक्ष भएको बेला प्रकाश पौडेल ‘माइला’ लाई केन्द्रिय संयोजक र स्थानिय संयोजक आलोक चालिसेलाई बनाएर यो चौथो सम्मेलन आज सम्पन्न हुन गइरहेको छ । यो यस्तो प्रकारको सम्मेलनको नेतृत्व र स्थापना गर्ने अभियन्ता जापान नै थियो । त्यसको लागि जापानका ऐतिहासिक योद्धाहरुप्रति म आभारी ब्यक्त गर्दछु । यो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको चौथो मन्जिलमा चढेर यो सम्मेलनका ऐतिहासिक योद्धाहरुप्रति सम्मान स्वरुप ताली दिएर सबैले सम्मान गरौं ।

अन्तमा, अनेसास पच्चिसौं वर्षमा छ । अनेसासले यसको रजतजयन्तीलाई अन्तर्राष्ट्रिय स्तरमा वृहद् रुपमा मनाउने निर्णय गरेको छ । त्यसबेला तपाईहरु अमेरिका आउनुहोस । यहाँ हामीलाई जुन् सम्मान र न्यानो माया दिनुभो त्यसको भारा त्यसै गरी हामीले वाशिङ्गटनमा दिने छौं । हाम्रो परिवार अब नेपालको भूगोलभित्र मात्र न भएर अमेरिका, सिड्नी, टोकियो, डिसी, कतार र क्यानाडामा पनि छ । हामी एक्ला छैनौं । हामी एनआरएन् नेपाली जाति नेपाली भाषा, साहित्य, पत्रकारिता, कला र जनसँस्कृतिले यौटै सूत्रमा आबद्ध छौं । अनेक डायस्पोरामा भए पनि हामी यौटै परिवारमा छौं र एकतामा छौँ । यो विश्वव्यापीकरणको सागरमा आफू लोप न भई आफ्नो पहिचानलाई दिगो र जीवन्त राख्दै जीवनको समराङगणमा आफूलाई आहुति दिदै विश्वका अन्य भाषाभाषीको तुलनामा हामी पनि अस्तित्वपूर्ण बनौं । यो हाम्रो तीव्र आकाङ्क्षा हो । यो हाम्रो जीवनको सम्बल र शक्ति हो । जीवनको सार र स्वरुपलाई अर्थपूर्ण दिशामा लाने बचनवद्धता पनि हो ।

आउनोस् । अर्को २ वर्षको मोती जयन्तीको अवसरमा पाचौं अन्तर्राष्टिय सम्मेलनमा  अष्ट्रेलिया, कतार वा क्यानडामा भेटौंला । यसमा जेजस्ता त्रुटी भए तिनलाई मार्क गरेर योभन्दा व्यवस्थित अर्को पाचौं सम्मेलन गरौंला ।
यो सम्मेलनमा सम्मानित हुने सबैलाई बधाई ।

अन्तर्राष्ट्रिय साहित्य समाज र चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, टोकियो, जापान, सेप्टेम्बर १८, १९, २०, २१, २२ र २३, २०१५ को परिचयात्मक सम्बोधनलाई न लम्बाई म यतिमा नै पूर्ण बिराम लगाउछु ।
अनेसास सम्मेलनको सफलताको लागि शुभकामना र धन्यवाद ।

होमनाथ सुवेदी
संस्थापक अध्यक्ष,
सेप्टेम्बर १८, २०१५

तपाईको प्रतिक्रिया