Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

अहिले मलाई एक पटक नेपाल पुगेरै छोड्ने भुत सवार भएको छ 

Sato Sanमेरो नाम सातो साबुरो हो । म अहिले ६९ वर्षको भएँ । केइयो विश्वविद्यालय अस्पताल सिनानोमाचीमा रेडियोलोजिष्टका रुपमा ३५ वर्ष काम गरेर रिटायर्ड जीवन बिताएको पनि ४ वर्ष भयो । रिटायर्ड जीवन पनि पत्यांईलाग्दो हुँदोरहेछ । त्यसैले आफ्नै घर नजिकै एउटा प्राईभेट क्लिनिकमा हप्ताको २ दिन फेरि काम सुरु गरेको छु । आफुले जानेको काम भएकोले रमाईलै लागेको छ ।
मेरी १०२ वर्षकी बूढीआमा हुनुहुन्छ । उहाँलाई मैलै निकै महङ्गो बृद्धा स्याहारकेन्द्रमा राखेको छु । त्यसबापत मासिक २ लाख येन शुल्क तिर्दै आएको छु । उमेरका कारण आमाले अचेल धेरै कुराको भेउ पाउनुहुन्न । म र मेरी श्रीमतीबाहेक उहाँले अरुलाई हम्मेसी चिन्नुहुन्न । फुर्सद हेरी हामी महिनामा २, ३ चोटी आमालाई भेट्न जान्छौं । भेट्न जाँदा जब मलाई उहाँले देख्नुहुन्छ अनि बाल्यकालमा बोलाउने गरेको नाम ‘साबुरो’ भनेर चिच्याउनुहुन्छ । त्यतिमात्र हो र ? मानौ म उहाँका लागि बच्चो छु, कहिले मेरा सेतै फूलेका केश सुम्सुम्याउनुहुन्छ त कहिले मेरा टाउको र गालामा झ्याम कि झ्याम दिनुहुन्छ । मैले नतमस्तक भएर सहिदिन्छु, किन कि मलाई थाहा छ, यो उहाँले मलाई गरेको अपार माया हो । कहिले आँखाभरि आँशु पारेर भावुक हुँदै भन्नुहुन्छ – ‘तँ सानोमा असाध्यै चुलबुले थिईस्, मेरो छातीमा लडिबुडी खेलेर दूधको मुन्टा टोकेर हैरान् पार्थिस्, हुर्केपछि पनि मैले तँलाई कहिले फकाएर, कहिले तर्साएर पढाईमा बिशेष दखल बनाए । त्यसैको फलस्वरुप एउटा सूचीकारको छोरो तँ रेडियोलोजिष्ट बनेको होस् ।’

अहिले घरमा हामी बूढाबूढी र ठूलो छोरो गरी तीनजना मात्र छौं । मेरा दुइभाइ छोरा हुन् । ३५ वर्षिय ठूलो छोरो जापानमै सामान्य जागीरे छन् भने कान्छो छोरो १० वर्षदेखि उच्चशिक्षा हासिलका लागि अमेरिकामा छन् । हवाई उडान प्रविधि बिषयमा अध्ययन गरिरहेका कान्छो छोरोलाई खर्च भर्दा भर्दा गाह्रो भईरहेको छ । हामी बूढाबूढी छोरोले छिटो पढाई सकेर आफ्नै कमाईमा रमाएको हेर्न चाहान्छौं । बूढ्यौलीमा नाति-नतिना खेलाउने रहर आफ्नो ठाउँमा छँदै छ तर छोराहरुले अझै बिहे गरेका छैनन् गर्ने सुरसार पनि केही छैन र नढाँटीकन भन्नुपर्दा आफुलाई भने अत्यार लागिसकेको अवस्था हो । किनभने हामीसंग अव समय धेरै बाँकी छैन ।

मेरो अहिलेको रस्तीबस्ती साइतामा केन र गुन्माकेनको सिमाना क्षेत्रमा छ । मेरो पुर्ख्यौली थातथलो भने यामागाता केन हो । हामी ४ दाजुभाइ र ४ दिदीबहिनी हौं । म बाहेक अरु सबै पुर्ख्यौली ठाउँमै बस्दै आएकाछन् । सुरुदेखि नै आमा मसंगै बस्दै आउनुभएको थियो । जब उहाँ आफै दिसापिसाब र आफ्नो ज्यानको हेरचाह आफै गर्न नसक्ने हुनुभयो त्यसपछि उहाँलाई हामीले घरमै राख्न असमर्थ भएका हौं । आमा घरमा एउटा छुट्टै कोठामा बस्नुहुन्थ्यो । बूढ्यौलीले च्याप्दै गएपछि दिशापिसाब पनि ओछ्यानमै गर्न थाल्नुभएको धेरै भएको रहेछ । तर लाजले भन्न सक्नुभएको रहेनछ । उहाँको कोठामा पस्दा दूर्गन्ध आउन थालेपछि मात्र हामीले चाल पाएका थियौं । श्रीमतीले अब आमालाई स्याहारसुसार गर्न नसक्ने गुनासो गर्न थालिसकेकी थिईन् । यसरी नै सुसारे बन्दै जाने हो भने आफु बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने स्थिति आउन सक्ने भन्दै उनले आमाका लागि वैकल्पिक ब्यवस्था गर्न घुमाउरो पाराले दबाब दिईरहेकी थिईन् । हामीसंग अलिअलि बैंक ब्यालेन्स भएकोले कतै शुल्क तिरेर स्याहार केन्द्रमा राख्ने ब्यवस्था गरियोस् भन्ने उनको आशय मैले बुझिसकेको थिँए । धेरै दिनको पालो कुराईपछि घर नजिकै एउटा अलि महंगो खालको बृद्धा स्याहार केन्द्रमा हामीले सिट पायौं । एकदिनको कुरो हो बाहिर मुसलधारे पानी परिरहेको थियो । आमालाई घरबाट स्याहार केन्द्रमा लैजाने तरखर गर्दै थियौं । केन्द्रसंग सहमति भईसकेकोले झरीको दिन भए पनि आमालाई ट्याक्सीमा राखेर लैजानै भयौं । तर आमाले कुनै हालतमा पनि घर नछोड्ने अडान लिनुभयो । उहाँले बलिन्द्रधारा आँशु खसाल्दै भन्नुभयो – मैले तिमीहरुलाई जन्माउन, हुर्काउन, बढाउन पढाउन कति दुख गरें, खाईनखाई, सुती-नसुती कति मिहिनेत गरे तर आज म तिमीहरुका लागि घाँडो भएको रहेछु, आफुलाई जन्मदिने आमालाई आज काम नलाग्ने निर्जीव वस्तुसरह बाहिर फ्यांक्न लागिरहेका छौं, मेरो मन साह्रै दुखेको छ, कृपया मलाई घरबाट निकाला नगर ।’

आमाको यो अलाप-विलापले मेरो मन साह्रै कुँडियो तर पनि घरमा भन्दा स्याहारकेन्द्रमा उहाँको राम्रो हेरचाह हुने र मासिक चर्को शुल्क तिरे पनि हामीलाई पनि आमाको सुसार आफैले गरेको जस्तै सन्तुष्टि मिल्ने भएकोले फकाई फुलाई आमालाई स्याहारकेन्द्रमा पुर्‍यायौं । बाटाभरि ट्याक्सीमा आमाले सराप्नुभयो -‘तिमीहरुको पनि बूढ्यौली लाग्ला, हातगोडा चल्न छोड्ने दिन आउलान्, तिमीहरुका पनि सन्तान छन् उनले पनि मलाई जस्तै यसरीनै जबरजस्ती घरबाट निकालेर कतै लगेर छोडे भने तिमीहरुको मन कस्तो हुन्छ’ – भन्दै साह्रै मर्मस्पर्शी कुराहरु गर्नुभयो । हामी पनि भावुक भयौं, तर हामीसंग भएको विकल्प त्यहि एउटा थियो । दिनहरु चिप्लिदैं आज ८ वर्ष जति भयो आमा स्याहारकेन्द्रमा आधा होसमा आधा बेहोसमा बूढ्यौलीका दिनहरु बिताउँदै हुनुहुन्छ ।

म त्यस्तै हाईस्कुलको विद्यार्थी थिएँहुँला, एक दिन आमा र मैलै संगै बसेर एउटा नाटक हेरेका थियौं । नाटक आफ्नो ज्यानको स्याहार आफै गर्न नसक्ने अशक्त अवस्थाका बृद्धाहरुको जीवनशैलीमा केन्द्रित थियो । त्यो नाटक हेरेपछि आमाले मलाई भन्नुभएको थियो – ‘साबुरो’ नाटकमा जस्तै म पनि आफ्नो दिशापिसाब आफै स्याहार्न नसक्ने भएँ भने मलाई कतै लगेर फालिदिए हुन्छ है, केही फरक पर्दैन । बेकारको अरुलाई दुख दिएर बाँच्नुको अर्थ छैन ।’
अहिले आमालाई भेट्न जति पटक स्याहारकेन्द्र पुगे पनि मलाई झम्टीहाल्नुहुन्छ अनि कहिले सत्तोसराप दिनुहुन्छ भने कहिले अनुहारबाट भित्र पस्दै गएका आँखाले मलाई एकनाशले हेरेर बच्चालाई झैं मुसार्नुहुन्छ अनि मेरा फूलेका केश मिलाईदिनु हुन्छ । त्यहि भएर भनिन्छहोला ‘आमाको काख, अरुको लाख’ । म आफै ७० वर्ष पुग्न लागिसके तर आमाको काखको छेउ पुग्दा आफुलाई बच्चोझैं लाग्छ अनि बाल्यकालमा उपद्रो गरेर आमालाई सताएको झलझली सम्झन्छु ।
मानिसको जीवन पनि चर्खाझै अचम्मको छ । आज आफै बृद्धाश्रममा जाने दिन नजिकै आउँदै छ । बूढेसकालले छोपेपछि कुन दिन के हुन्छ केही भन्न सकिन्न । केही गरी म पहिलेनै तलमाथि भए भने श्रीमतीका लागि बाँचुञ्जेल खान पुग्ने गरी बिमा गरिदिएको छु, अलिअलि बचेखुचेको बैंक ब्यालेन्स स्वतः श्रीमतीको नाममा नामसारी हुने ब्यवस्था मिलाएको छु । अब जति दिन बाँचिन्छ, सुख र सन्तोषले बाँच्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

करिव ७ वर्ष अगाडिको कुरो हो, मैले काम गर्ने केइयो विश्वविद्यालय अस्पतालमा एक जना नेपाली पत्रकार (तिलक मल्ल)  स्वास्थ्य परिक्षणका लागि आएका थिए । हामीबीच चिनजान भयो, भिजिटिङ कार्ड आदानप्रदान भयो । त्यसपछि पनि उनीसंग नियमित भेटघाट र संगै खाने पिउने क्रम चलिरह्यो र अहिले पनि जारी छ । त्यस अघिसम्म नेपाल भन्ने देशको नाम मात्र सुनेको थिएँ, त्यहाँका मानिस कस्ता हुन्छन्, भेषभूषा, भाषा, सँस्कृति, खानपान कस्तो हुन्छ भन्ने बारे खासै थाहा थिएन । नेपालीसंग हिमचिम बढेपछि नेपाली खाना पाइने ठाउँहरुका बारेमा जानकारी भयो, नेपाली खाना मन पर्न थाल्यो, नेपालको बारेमा अरु धेरै कुरा जानकारी भयो । नेपाल सम्बन्धि जानकारीमुलक पुस्तकहरु बजारमा खोजेर किनेर ल्याई अध्ययन गर्ने गरेको छु । अहिले मलाई नेपाल एकपटक पुग्नैपर्ने मुलुक रहेछ भन्ने लागेको छ र मलाई जसरी भए पनि नेपाल पुगेरै छोड्ने भुत सवार भएको छ, त्यसैले म छिट्टै एक पटक नेपाल जाँदैछु र अरु जापानीहरुलाई पनि जीवनमा एक पटक नेपाल पुग्न आग्रह गर्न चाहान्छु । ***

(कुराकानीमा आधारित)

(यो आलेख मिति २०१५ को जुलाई १० मा अर्थात ७ बर्ष अगाडि प्रकाशित  भएको हो । त्यसपछि  उहांसंग २, ३ पटक मात्र फोनमा सम्पर्क भएको छ।  १ चोटी भेटेर नेपाल जानुभएको  छैन भने फेरि सम्झाईदिन मन छ )      

तपाईको प्रतिक्रिया