शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं- एमाओवादी समर्थित ३५ वटा जनवर्गीय संगठनको संयुक्त राष्ट्रिय मोर्चाले कांग्रेस-एमालेले दुई तिहाईको दम्भ देखाएर संविधान जारी गर्न खोजे सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

मोर्चाको काठमाडौंमा सम्पन्न पाँचौ बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाले विगतमा भएका १२ वुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न आन्दोलनमा भएका सहमतिहरुलाई लत्याएर अघि बढे दुई तिहाई त के छ सय एक सभासदले पनि संविधान जारी गर्न नसक्ने बताएको हो ।

मोर्चाका महासचिव गोपाल किराँतीले बहुमतको दम्भ देखाएर कांग्रेस-एमालेले संविधान जारी गरे त्यो अन्तरिम संविधानको समेत खिलाफमा हुने भन्दै आफूहरु अदालत जाने चुनौती दिएका छन् । उनले भने, ‘अन्तरिम संविधानको धारा १३८ बमोजिम कांग्रेस एमालेले संविधान ल्याउन नचाहे त्यही धारालाई टेकेर उक्त ल्याइएको संविधान बदर गराउन हामी अदालतको ढोका ढक्ढकाउन जान्छौं ।’

किराँतीले बहुमतको दम्भ देखाएर कांग्रेस-एमालेले जनविरोधी संविधान जारी गरे आफूहरु बाध्य भएर त्यसको विरुद्धमा स्वायत्त जनसरकार घोषणा गर्ने र समानान्तर राज्य चलाउने समेत उदघोष गरेका छन् ।

तपाईको प्रतिक्रिया