पोखरा – ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’, ‘आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्यूंझाउन’ जस्ता जनजिब्रोमा झुण्डिएका लोकगीत गाउँदै देशको कुनाकन्दरामा पुग्ने जनकविकेशरी धर्मराज थापाको निधनले पोखराको गौरव र लोकसाहित्यको क्षेत्रमा देशले नै अभिभावक गुमाएको पोखरेली स्रष्टाहरूले बताएका छन्।
पोखराको बाटुलेचौरमा १९८१ सालमा जन्मिएका थापाले नेपाली लोकसंस्कृतिको अनुसन्धान र विकासमा महत्वपूर्ण योगदान रहेको कवि तीर्थ श्रेष्ठ बताउँछन्। पोखरामा जन्मिएका थापाले मेचीदेखि महाकालीसम्म गाउँका कुनाकुनामा मात्र होइन, प्रवासमा समेत रहेका नेपालीमाझ गएर देशभक्तिका गीत गाई नयाँ जागरण ल्याउन महत्त्वपूर्ण योगदान दिएको कवि श्रेष्ठ सम्झन्छन्।
जीवनको अन्तिम क्षणमा पोखरामै बस्ने र यहीँ मृत्युवरण गर्ने उनको इच्छा थियो तर उनी बिरामी भएकाले त्यो सम्भव भएन। ‘उहाँको अन्तिम संस्कारमा सहभागी हुन नपाएकोमा दु:खी छौं’, श्रेष्ठले भने, ‘उहाँले २००७ सालमा कविता लेखेर पम्प्लेट नै तयार गरी काठमाडौंका सडकमा एकदुई पैसामा कविता बिक्री गरेर खर्चको जोहो गर्नुभएको थियो।’
जनकविकेशरी थापाको निधनले पोखरा नै शोकमा डुबेको लोकगायिका हरिदेवी कोइरालाले बताइन्। ‘उहाँसँग धेरै कार्यक्रममा सँगै हिँड्ने मौका पाएँ। लोकसंस्कृतिको विकासमा लाग्न उहाँ सधैं झकझक्याई रहनुहुन्थ्यो’, उनले भनिन्। पोखरामा जन्मेर गण्डकी प्रदेशका लोकभाका राष्ट्रिय रूपमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण योगदान दिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट बताउँछन्।
‘लोकसाहित्यमार्फत उहाँ पोखराको रत्नका रूपमा उदाउनुभयो र देशकै रत्नका रूपमा चिनिनुभएकोमा हामी पोखरेली गौरव गर्छौं’, कवयत्री सरस्वती प्रतीक्षाले भनिन्, ‘त्यति बेलाको समयमा देशको कुनाकुनामा गएर लोकसंस्कृतिमा योगदान दिने विराट् व्यक्तित्व राष्ट्रले पाउन मुस्किल रहेको उनले बताइन्।
विसं १९८१ को साउने संक्रान्तिमा बाबु हर्कबहादुर र आमा मनमायाको सन्तानका रूपमा जन्मेका धर्मराजले पाँच वर्षमै आमाको ममता गुमाए। पाँच वर्षको उमेरदेखि नै अक्षराम्भ गरेका उनी सानैदेखि भजनकीर्तन, लोकगीत, लोकगाथामा रुचि राख्थे। यतिमात्र नभएर गाउँबेसी अनि वनपाखामा गीत र दोहोरी गाउन पनि उनी खप्पिस थिए। १५ वर्षको हुँदा १३ वर्षकी सावित्रीसँग उनको विवाह भएको हो।
पोखरामै जन्मेहुर्केका उनी पहिलोपटक १९९६ सालमा सतबीउ छर्न आफन्तसँग काठमाडौं छिरेका थिए। आर्थिक समस्या परेका कारण त्यति बेला उनले चारखाल अड्डामा फैसलाको नक्कल सार्ने काम गरी केही कमाई गरेका थिए। उनले २००१ सालमा तत्कालीन श्री ३ सरकारको गुठी बन्दोबस्त अड्डामा जागिर खाने मौका पाए। त्यहीँ रहँदाखेरि उनी साहित्य लेखनतर्फ आकर्षित हुन थालेका हुन्। उनले त्यति बेला उद्योग मासिक पत्रिकामा ‘कुवा’ शीर्षकको कविता प्रकाशित गरेका थिए।
साहित्यमा रुचि भएकै कारण धर्मराजको संगत कविशिरोमणि लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, पुष्करशमशेर, केदारमान व्यथितहरूसँग भयो। बिजुली अड्डाबाट सञ्चालित रेडियोमा उनले गीत, कविताहरू वाचन गर्थे। २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि आयोजना गरिएको कवि सम्मेलनमा उनले ‘भरियाले बिसायो भारी’ कविता प्रस्तुत गरेका थिए।
लोकसंस्कृति र साहित्यमा लागेका उनले विभिन्न समयमा नाटकमा समेत अभिनय गरेका छन्। विसं २००९ असारमा ‘कुञ्जीनी’ नाटकमा अभिनय गरेका थिए उनले। भारतका विभिन्न सहर भ्रमण गर्दासमेत उनले नाटकमा अभिनय गरेका थिए। श्री ५ त्रिभुवनको जन्मोत्सवमा सिंहदरबार नाचघरमा प्रदर्शन भएको गीतप्रधान नाटकमा संगीतकार र नायकको भूमिका उनले निर्वाह गरेका थिए।***