कहिलेकाँही भोलि आउन पनि असाध्यै गाह्रो हुन्छ, हो त्यस्तै एक दिन आएको थियो घनेलाई पनि केहि महिना पहिले । किन कि उसका लागि त्यो दिन जीवनकै महत्वपूर्ण र खुशीयालीको दिन थियो । नहोस पनि कसरी ? लामो संघर्षमय प्रतीक्षापछि अँगालोभरिकी जीवनसंगीनीसंग भेट हुने दिन थियो त्यो उसका लागि ।
घने गाउँको उच्चमाद्यामिक विद्यालयमा पढाउने नाम चलेकै माष्टरमा गनिन्थ्यो । कलेज सकेर गाउँ फर्केपछि उसले पढाउन सुरु गरेको थियो । किन किन माष्टरी जागीर उसलाई रमाईलो लाग्दै आएको थियो । उसको सक्रियता, क्रियाशिलता र सहयोगी भावनाबाट गाउँलेहरु मात्रै हैन छिमेकी गाउँसम्म उसको गुनगान गाईन्थ्यो । यो गुनगान पल्ला गाउँकी बाटुलीको कानमा पनि नपर्ने कुरै भएन । एक दिनको कुरा हो, घनेले पढाउने कलेजमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न अन्य साथीहरुसंगै बाटुली पनि आएकि थिई । साँस्कृतिक कार्यक्रममा पनि घने माष्टरकै बढ्दो क्रियाशिलता तारिफयोग्य नै थियो । विद्यार्थीहरुलाई नाचगान उसैले सिकाएको थियो । घने माष्टरको प्रतिभा देखेर बाटुली पनि भित्रभित्रै प्रभावित भईसकेकी थिई । उनीहरुको त्यहिंनै पहिलो औपचारिक चिनाजानी भयो । एकअर्काबिच नजिकको मित्र बने । त्यतिबेला बाटुली नजिकैको कलेजमा पढ्दै थिई ।
गहुँगोरो वर्ण, गोलो अनुहारकी, ठूलाठूला आँखा, लामो केश, हाँस्दा गालामा खोपिल्टो पर्ने न त धेरै अग्ली न त होची, ठिक्ककी ज्यानकी बाटुली पनि भरिदैं गएको बैंशमा बिछट्टै राम्री देखिन्थी । कम बोल्ने स्वभावकी बाटुलीको नशालु हेराईमा घने माष्टर लठ्ठ पर्दै गएको थियो । वल्ला गाउँ, पल्ला गाउँमा हुने बिभिन्न कार्यक्रमहरुमा घने र बाटुलीको भेटघाट र हिमचिम बाक्लिन थालेको थियो । संगसंगै पीरतिको आँकुरा पनि पलाउन थालिसकेको थियो । समय बित्दै जाँदा उनीहरुबिच झांगिदै गएको मायापीरतिले गन्तब्य खोज्न थालेका थिए । सोहीमुताविक उचित समय जुराएर उनीहरुले धुमधामसंग बिबाह पनि गरे । बाटुलीको कलेजको थप अध्ययन चल्दै थियो भने यता घने माष्टरको पनि कलेजमा जिम्मेवारी थपिदै थियो । यति धेरै मिलेको सुन्दर जोडी देखेर डाह गर्नेहरु पनि हुने नै भए ।
तर दिनपछिको रात र रातपछिको दिन भनेजस्तै घने र बाटुलीको दाम्पत्य जीवनमा पनि सँधै संगै जिउने र संगै मर्ने वाचा कसम खाएका उनीहरुसामु बाँकी भविष्य थप सुखद बनाउन बिदेश रोज्नुपर्ने दिन आयो । गाउँघर र रस्तीबस्तीमा बिदेशको प्रभावले प्रत्यक्ष असर पारेको थियो । बिदेशको अस्थायी धनले स्वदेशका पौरखी हातहरुलाई निरुत्साहित गराएको मारमा घने पनि नपर्ने कुरै भएन । सोहि अनुरुप उसको मनस्थिति पनि अब बिदेश नै जाने बनिसकेको थियो । सबै कुरा मिलिसकेपछि एकदिन घने पनि कुक भिसामा जापान जाने भयो । वास्तवमा उ शिक्षक थियो, त्यो पनि उच्चमाद्यामिक विद्यालयमा अंग्रेजी पढाउने । १० वर्षको अनुभवसहितको प्रमाणपत्र पेश गरेर भान्से बन्न तयार भएर घने जापान हिड्यो । आफु जापान भित्रिएको ६ महिना वर्षदिन भित्रैमा आफुलाई पनि जापान झिकाउने शर्तमा बाटुलीले घनेलाई बिदेश जानका लागि सहमति जनाएकी थिई ।
कक्षा कोठामा चक र डष्टर समाएर सम्मानित जागीर पकाएको घनेले जापानमा डाडु र पन्यू समाउन पर्ने भयो । आफुभन्दा धेरै कनिष्ठ र सामान्य लेखपढ गर्न पनि नजान्नेहरुलाई सिनियर अर्थात गुरु मानेर बिहान ९ बजेदेखि रातीको १२ बजेसम्म खट्नुपर्ने भयो । त्यति मात्रै हो र ? तलबसुबिधाका बिषयमा समझदारी पत्रमा जेसुकै लेखिएको भए पनि साहुको बोलीनै अन्तिम मान्नुपर्ने भयो । शीरमा चुच्चो सेतो टोपी र एप्रोन लगाएको उसको ज्यान साँगुरो किचनमा भएपनि उसको मन बाटुलीकै अनुहार वरिपरि डुलिरहन्थ्यो भने ध्यान गाउँकै विद्यालयको विद्यार्थीहरुले भरिएको कक्षाकोठामा हुन्थ्यो । कहिलेकाँही त लाग्थ्यो चटक्कै छोडेर नेपाल नै फर्कौ तर लिएर आएको साहुको कर्जा चुक्ता गर्न बाँकी नै थियो । जतिसुकै पींडा र असन्तुष्टि सहेर भएपनि उसले केहि वर्ष संघर्ष गरेरै फ़र्कने निधो गर्यो । यसरी नै २, ४ महिना गर्दै करिव एक वर्ष पुग्नैलाग्दा उसले आफ़्नी श्रीमती बाटुलीलाई जापान झिकाईदिन आफ़्नो साहुसमक्ष
निवेदन गर्यो । सबै प्रक्रिया पुरा भएपछि बाटुलीको भिसा पनि झर्यो । अब बाटुली पनि जापान आउने भई ।
हवाई टिकटलगायतका आवश्यक तयारी पुरा भएपछि बाटुली जापान उड्ने दिन पक्कापक्की भयो । बाटुली आउने दिन घनेलाई बिहानै निद्राले छोड्यो, घडि हेर्दै हतार हतार उ नारितातर्फ प्रस्थान गर्यो । निर्धारित समयभन्दा धेरै अगाडि नारिता विमानस्थलको आगमन कक्षमा पुगेर घने ब्यग्र प्रतीक्षामा बस्यो । बाटुलीले घनेलाई आफ़्नो ल्याण्डिङ समय बिहान साढे एघार बजे भनेकी थिई । करिव एक वर्षपछि उनीहरुको मिलन हुने क्षण नजिकिदै थियो ।
आधुनिक सञ्चार सुविधाले नियमित सम्पर्क भईनै रहे पनि अनेको कौतुहुलताले घनेको मनमा काउकुटी लाग्न थालेको थियो । मेरी बाटुली कस्ती भईहोली, यात्रामा कतै केहि समस्या पर्यो कि, जहाजमा लामो समयसम्म अत्तालिई कि, जापान देखेर कति खुशी होली, दुवैजना संगसंगै दुख गरेर राम्रो भविष्यको निर्माण गर्ने योजना बुन्दै गर्दा उ झन कति खुशी होली ? यस्तै यस्तै कथा बुन्दै बाटुलीलाई कुरेर बसेको घनेको धैर्यताको बाँध टुट्न लागिसकेको थियो । घडिको सुइरो पनि निकै ढिलो चलायमान भईरहेका थिए । एकपछि अर्को गर्दै हुलका हुल यात्रुहरु अध्यागमनबाट बाहिरिईरहेका थिए तर उसको बाटुली भने कहिलै निस्किनन् । हेर्दा हर्दा उसका आँखा थाकिसकेका थिए । अब भने घनेको मनमा चिसो मात्रै हैन निधारमा चिटचिट पसिना नै आउन थालिसकेको थियो । समय निकै ढल्किसकेको थियो । पौने दुइ सम्म पनि बाटुली नआएपछि जापानमा भएका उसका चिनेजानेका जान्नेसुन्नेहरुसंग लिएको सल्लाहअनुसार अध्यागमन विभागमा सोधपुछ गर्दा पत्ता लाग्यो कि बाटुली त बिहान साढे नौ बजे नै नारिता विमानस्थलबाट बाहिरिईसकेकी रहिछन् । आजसम्म बाटुलीप्रति कुनै आशंका नगरेको घनेले एकाएक यो बज्रपात ब्यहोर्नुपर्दा उसको दिमाखले के गर्ने के नगर्ने ठम्याउनै सकेन । उसले के गरी हँ यो ? यो सबै कसरी संभव भयो ? यी र यस्ता सयौं प्रश्नहरुले एकैचोटी उसलाई जिस्काउन थाले । गह्रुँगो र भारी मन लिएर घने एक्लै लुरुलुरु कोठातिर फर्क्यो ।
बाटुली आउँछे भनेर घनेले उसलाई मनपर्ने फलफूल, सागसब्जी, माछा तथा जुस लगायतका खानेकुराहरु टन्नै किनमेल गरेर कोठामा राखेको थियो । भिसा झरेकै दिनदेखि उसको मन फुरुङ्ग भएको थियो कि यो कोठामा बाटुलीको प्रवेश हुने दिन कहिले आउला भनेर । एअरपोर्टबाट फर्केर घने सरासर कोठामा छिर्यो, दिन हो या रात उसलाई पत्ता भएन । ओछ्यानमा पल्ट्यो र सिलिङतिर हेर्दै घटना बारे जोड, घटाउ, गुणन र भागा गर्दै सोंचमग्न भयो । उसलाई आफ़्नो जिन्दगी शुन्य-शुन्य र फिका-फिका लाग्न थाल्यो । भगवानप्रतिको आस्था, मिहिनेत र इमान्दारिताप्रति बिश्वास टुट्न थाल्यो । पृथ्वी नै चिराचिरा परेझै लाग्यो, भविष्यका सुन्दर पानाहरु धुजाधुजा भएर च्यातिए । आफुले सबैभन्दा धेरै माया गर्ने प्राणीले पनि जीवनमा यस्तो धोका दिन सक्दारहेछन, त्यसैले त मान्छेहरु आत्महत्यासम्मको अप्रिय निर्णय गर्दारहेछन् भन्नेसम्म उसले सोच्न भ्यायो । केहिबेरपछि आफुलाई सम्हाल्दै हिम्मत बटुलेर उसले नेपालदेखि जापानमा चिनेजानेका सबैतिर सोधीखोजी त्रि्र पार्न थाल्यो । लामो सोधीखोजीबाट एउटा तितो तर सत्य कुरोको चुरो फेला पार्यो घनेले ।
घनेसंग बिछोडिए पछि बाटुली पनि विरक्तिएर हिड्न थालेकी थिई । उसका पनि फेसबुकमा थुप्रै साथीहरु थिए । आधुनिक युवती त्यसमाथि चञ्चले स्वभावकि बाटुली पनि एक प्रकारको फेसबुक क्रेजीजस्तै भईसकेकी थिई । फेसबुककै माध्यमबाट जापानमै रहेका एकजना युवासंग बाटुलीको घनिष्ठता बढ्दै गएको थियो । जापानमै पढेका राम्रै कमाई गर्दैआएका ती युवा पनि छिमेकी गाउँकै भएकाले बाटुलीले पनि बिश्वास गर्न पुगी । चकलेटी अनुहार भएका खाइलाग्दो ज्यानका ती युवा किन किन बाटुलीलाई औधी मन पर्न थालिसकेको थियो र उसले पनि बाटुलीलाई असाध्यै मन पराउँथ्यो । मान्छेलाई मान्छे मन परेपछि पर्यो पर्यो, दायाँ बायाँ अरु केहि सोच्दैनन् भन्छन् त्यस्तै भयो बाटुलीलाई पनि । आफ़्नो मनमन्दिरमा बाटुलीले घनेको स्थानमा ती युवालाई सजाउन थालिसकेकी थिई । उनीहरु नियमित सञ्चार सम्पर्कमा रहन्थे । आफ़्नो श्रीमान जापानमै भएको, आफु पनि जापान आउने योजनामा रहेको कुरा बाटुलीले ती युवकलाई सबै बताएकी थिई । ती युवाले पनि जापान आउनका लागि श्रीमानकै च्यानल प्रयोग गर्ने र आइसकेपछि आफुसंगै बस्ने अनि बिबाह गर्ने जस्ता योजना बुनिसकेका थिए । सोही योजनाअनुसार घनेलाई बाटुलीले आफु नारिता आईपुग्ने समय वास्तविक समयभन्दा २ घण्टा ढिलो बताएकी थिई । तर बाटुली भने बिहान साढे ९ बजे नै नारिताबाट बाहिरिएर ती युवकसंग रमाना भईसकेकी रहिछन् । यी सबै कुरा घनेले भरपर्दो सूत्रबाट पत्ता लगाएको थियो ।
कति दुख गरेर आफ़्नो श्रीमतीलाई जापान झिकाएर सुखदुख संगसंगै जिउने आफ़्नो सपना सबै भताभुङ्ग परेको र श्रीमती बाटुली सँधैका लागि आफुबाट टाढिएको बज्रपातले थिलोथिलो भएर घने जीवनदेखि हरेस खाँदै अहिले जापानमा भौतारिईरहेको छ । घनेले छँदाखाँदाको नेपालको जागीर गुमायो, श्रीमती गुमायो, थोरबहुत १ वर्षम्मको कमाई गुमायो, समाजमा प्रतिष्ठा गुमायो, घटनाले गर्दा अस्थिर मनस्थितिका कारण गरिरहेको कामबाट पनि हात धुनुपर्यो । घनेसंग अब बाँकी छ त केवल उसको रौनकता हराएको १ थान जिन्दगी बाँकी छ र आफु आउँदा लागेको १२ लाख र बाटुली झिकाउँदा लागेको ५ लाख साहुको ऋण र त्यसको ब्याज बाँकी छ । अनि बाँकी छ, सपनाको देश जापानमा भत्केको जिन्दगी बोकेर नयाँ पालुवा पलाउने झिनो आशा ।
(कथा र पात्र काल्पनिक हुन् कसैसंग मेल खान गएमा संयोग मात्र हुने छ)