सानैबाट म त हजुर, संगीतप्रेमी परें !
त्यै संगीत सिक्छु भनि, गर्नुसम्म गरें !!
कहिले गायक भएँ हजुर, कहिले हिरो भएँ !
अन्त्यमा, आ’र हजुर, म त जिरो भएँ !!
कृष्ण जस्तै गोपिनीको, प्यारो बन्छु भनि !
किने हजुर प्वालैप्वालको, बाँसको ढुंग्रो पनि !
बाँसुरीको सुर त हजुर, झनै बेसुर भयो !
त्यै रिसले ढुंग्रो पनि, भात पकाउन गयो !!
जबदेखि गाईने दाइको, कला मैले सुनें !
त्यस्तै बन्छु भनि हजुर, सारंगी नि किनें !!
रेट्दा रेट्दै सारंगीको, तार जति छिने !
मरे गए जान्ने होईन, त्यल्लाई पनि चिरें !!
पियानोको धुन त हजुर, सुन्दा कति मीठो !!
खुब मे’नेत गरें हजुर, सिक्छु भनि छिटो !!
ठेला परे हातमा हजुर, बटन थिच्दा थिच्दा !
केही गरे’नि आएन हजुर, सा रे ग म धुन त !!
सानै देखि गाँउघरमा, मादल देख्दै आ’को !
त्यै बजाउने ढंग पनि, मलाई न भा’को !!
कहिलेकाँही त त्यै पनि, ठोक्थें एकोहोरो !
खरी जति खसाएर, मादल भयो थोत्रो !!
पंचेबाजा बज्ना साथै, नाच्थें ताल तालले !
बाहुन भ’र तिनी पनि, न’छो भन्थे बा’ले !!
सिक्ने कुरै भएन हजुर, नछोएसी बाजा !
तै पनि लिन्छु हजुर, सुनि त्यसको मजा !!
(सर्जक घिमिरे गुल्मेली समाज जापानका सचिव हुन)