तीन वर्ष अगाडि उनी मलाई खोज्दै आएका थिए । शायद कसैले सुनाईदिएहोला फलानालाई भेट्नुस् न भनेर । ‘ओ हो दाइ ! तपाई त जिल्लाबासी पर्नुभयो । म भरखर आएको छु, काम र कोठाको समस्या छ, सहयोग गर्नुपर्यो । ठूलो लगानी गरेर विद्यार्थी भिसामा जापान आइयो, यहाँ त लाष्टै गाह्रो रहेछ । आफ़्नै अभिभावक ठान्ने छु, फोन उठाईदिनुहोला ‘ – भन्दै मोबाइल नंवर आदानप्रदान गर्यौ, मलाई पनि आफ़्नैजस्तो लाग्यो रमाईलो महशुस भयो । त्यसपछि बिचमा सानातिना सकेको सहयोग गरियो नै ।
ठिक एक वर्षपछि भेट्दा अलिकति जापान बसाइ सहज बनेछ क्यारे उनको भाषा निकै फेरिएको थियो । ‘ओ हो दाइ के छ यार ? के हो भेटघाट, फोनसम्पर्क केहि छैन ? ‘ – भनेर मैले नै उनलाई भेट्न खोज्दै जानुपर्ने अर्थात मैले नै के छ कसो छ गरेर सोधीखोजी गरेर फोन गर्नुपर्ने जस्तो गरी उनी ठूला मान्छे भईसकेको आशयको कुरा गरेका थिए । मैलै सुनिरहें अनि उनका दिनहरु सहज हुँदै गएको अनुमान लगाए मात्र ।
आज नजिकैको स्टेशनबाट म आउँदै गर्दा उतै जाँदैगरेका उनै ३ वर्ष पहिले विद्यार्थी भिसामा जापान आएका तन्नेरी भाइसंग जम्काभेट भयो । लामो समयपछि भेटेकोले मैलै के छ, कसो छ र सञ्चो-बिसञ्चो सुरु गर्न नपाउँदै एउटा हातले खल्तीबाट फ़्याट्ट चुरोट निकालेर सल्काउँदै धुँवाजति मैतिर फ़्यांक्दै भने – ‘के छ बूढा ? अचेल त अत्तोपत्तो छैन नि ?’ कानमा उनको हेडफोन थियो, म्युजिकको हल्का आवाज बाहिरै सुनिन्थ्यो, शायद म्युजिकको मजा लिदैंथिए, हल्का ज्यान पनि हल्लाईरहेका थिए । मानौ उनले मलाई शान देखाईरहेका थिए र आफु अब जापानमा सेटल भएर हरेक कुरामा सक्षम भईसकेको संकेत गरिरहेका थिए । मैले त्यसरी नै बुझें ।
उमेरले आफ़्ना छोरासमानका ती तन्नेरीले बोल्ने तीन वर्ष अगाडिको भाषा, १ वर्ष अगाडिको भाषा र अहिलेको भाषा सुन्दा मलाई लाग्यो यि जवानको भोलि बोल्ने भाषा कस्तो होला ? मनमनै गहिरिएर सोंच्न बाध्य बनायो । मान्छेले आफुलाई के ठान्छहोला, अलिकति पलाउँदा बित्तिक्कै आफ़्नो बोली फेर्नैपर्ने, आफ़्नो चरित्र देखाउनैपर्ने, अरुलाई होच्याउनैपर्ने । के हाम्रो शिक्षाप्रणालीले सिकाएकै यस्तै हो त ? के नेपाली सँस्कृति यतैतिर उद्यत छ त ? के तिनका बाबुआमाले आफुभन्दा ठूलासंग कसरी बोल्नुपर्छ भनेर नसिकाएकै हो त ? जापान आउनका लागि कम्तिमा पनि ६ महिना जापानी भाषा पढ्नैपर्ने प्रावधानअनुसार तिनले पढेको जापानी भाषाका स्कुलका गुरुहरुले जापानको सँस्कृति, नम्रता र अनुशासनका बारेमा नसिकाएकै हुन त ?
त्यो एउटा आजको तन्नेरी पुस्तामा देखिएको एकजना प्रतिनिधि पात्रको सांकेतिक चरित्र थियो । संघर्ष गरेर जापान आए भाषा सिके २, ४ पैसा कमाएहोलान् । जापानमा बिक्न सक्ने र टिक्न सक्ने भएहोलान् राम्रो कुरा हो । एकजना नेपाली जापानमा आत्मनिर्भर हुनु सबैका लागि खुशीको कुरा हो । त्यसो भन्दैमा अरु कुरा सबै बिर्सन मिल्दैन । यसको अर्थ आफुभन्दा सिनियरहरुलाई सँधै हजुर हजुर गर्नुपर्छ भन्ने पनि छैन । तर हाम्रो नेपाली भाषा यति धेरै धनि छ भनेको ठाउँमा भनेजस्तो भाषा प्रयोग गर्न सकिन्छ । अरुको चित्त नदुखाईकन आफुलाई भन्न मन लागेका कुराहरु मजाले भन्न सकिन्छ । आदर गर्न सकिन्छ, क्षमायाचना गर्न सकिन्छ, प्रेमभाव प्रकट गर्न सकिन्छ । अनि मिलाएर भित्तैमा पुग्नेगरी पेलेर ठेल्न पनि सकिन्छ र ठेलेर पेल्न पनि सकिन्छ । केवल चाहियो शब्द संयोजनको कला र सहि प्रयोग अनि आदरभाव । त्यसैले त गीत गाउनेहरुले भनेकाहोलान् शायद –
‘रुन्छ नि मन किन रुदैन ? रुखो बोली नबोल निर्माया, वचनको घाउ निको हुँदैन’ ***