नेताको जन्म क्रान्तिको भट्टीमा
वि.सं १८०१ मा राजगद्दी सम्हालेका गोरखाली युवराज पृथ्वीनारायण शाह आधुनिक नेपालको इतिहासका जन्मदाता मानिन्छन् । नेपालमा सामन्ती राजतन्त्रको जग बसाएकोमा एकथरिले उनलाई राक्षसीकरण पनि गरिरहेका छन्, त्यो बेग्लै कुरा हो । वर्तमान नेपालको गणतन्त्रात्मक चेतले उनलाई गलत देख्नु स्वाभाविक ठानिएला तर २ सय ६० वर्षअघिको खण्डीकृत र अस्थिर राज्यप्रणालीको सन्दर्भमा हेर्दा पृथ्वीनारायण शाहको कदम सही ठान्नेहरु धेरै छन् । उनको एकीकरण अभियान सफल नभएको भए सम्भवत अहिले हामी संघीयताको मारमुंग्री गर्न पनि पाउँदैनथ्यौं होला । नेपाल एकीकरणको अभियानको क्रममा उनले सबै राम्रै मात्र गरे भन्न सकिन्न किनकि युद्ध र प्रेममा नैतिकताको पालना असम्भव कुरा पनि हो । तत्कालीन समयमा उनले मुख्य रुपमा जे गरे ऐतिहासिक र दूरगामी महत्वको राजनीतिक काम गरे । पूर्वाग्रहको चस्मा फुकालेर हेर्ने हो भने उनी नेपाली राजनीतिक इतिहाँसका युगपुरुष थिए जो सशस्त्र युद्धको माध्यमबाट उदाएका थिए ।
पृथ्वीनारायण शाहपछि नेपाली राजनीतिले अर्को एक युगनायक जन्मायो । उनी थिए जंगबहादुर राणा । १०४ वर्षको जहानियाँ निरङकुश शासन व्यवस्थाको जग बसाउने शताब्दीनायक थिए जंगबहादुर यद्यपि उनलाई अहिले खलनायकको रुपमा चित्रित गरिन्छ । पृथ्वीनाराण साहको नेतृत्वमा स्थापित राजतन्त्र गृहकलहमा फसेर उन्नाइसौं शताब्दीको चौथो दशकमा आइपुग्दा थिलोथिलो भएको थियो । राजा रणबहादुर साहबाट असीमित अधिकार पाएकी राज्यलक्ष्मीदेवीको उद्दण्डताले सीमा नाघेको मौका छोपी वि.सं १९०३ मा जंगबहादुर राणाले कोतपर्वमार्फत सम्पूर्ण शासन आफ्नो हातमा लिएर नेपालमा स्थिर शासन व्यवस्थाको जग बसाए । उक्त शासन व्यवस्था ठीक थियो भन्न खोजेको होइन तर अन्तरकलहका कारण चरम संकटमा फसेको राज्यलाई १०४ वर्षसम्म स्थिरता दिने एउटा साहसिक अभियानको नायकत्व जंगबहादुरले गरेका थिए । त्यसअर्थमा उनी पनि नेपाली राजनीतिका एक ऐतिहाँसिक पात्र थिए जो सशस्त्र हिंसाको बलमा उदाएका थिए ।
त्यसपछि जंगेयुग समाप्त गर्ने आन्दोलनको नेतृत्व कोइराला खलकले सम्हाल्न पुग्यो । कोइराला खलकबाट पनि विशेश्वरप्रसाद कोइराला प्रमुख नेतृत्वमा रहे । उनले राणाशाही विरुद्ध २००७ सालमा सशस्त्र क्रान्तिको नेतृत्व गरे । नेपालमा राणायुग समाप्त गरी प्रजातान्त्रिक युगको सुत्रपात गर्न प्रमुख भूमिका खेल्ने विपी कोइराला अर्का युगनायक हुन् जो हिंसात्मक क्रान्तिका उपज थिए ।
त्यसपछि राजा महेन्द्रले २०१७ सालको फौजीकाण्डमार्फत नेपालमा ३० वर्षको पञ्चायती तानाशाही शासन लागु गरे । उनी पनि राजतन्त्रको इतिहाँसमा उत्तर्रार्द्ध नायक मानिन्छन् । निर्दलीय पञ्चायती शासनकालको दोश्रो दशकको सुरुमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा झापा बिद्रोह भयो । उक्त असफल सशस्त्र बिद्रोहको जगमा थुप्रै कम्युनिष्ट घटकहरु जन्मिए, आधा दर्जन नेताहरु चर्चाको शिखरमा आए । त्यसमा पनि मदन भण्डारीको प्रखर व्यक्तित्वले शीर्ष स्थान लियो । क्षमतावान नेताको अभावमा अन्योलग्रस्त बनेको नेपालको कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीले पहिलो पटक ‘दक्षिणपन्थी संशोधनवादी’ बाटोमा फनक्क मोडिदिए र उनी राजनीतिक मैदानमा एकाएक हिरो बने । त्यस्तै पञ्चायती शासन पलटको लागि काँग्रेस नेता गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले नेतृत्व लिए । २०४६ सालमा पञ्चायती शासन ढल्यो । निस्वार्थीपनका गणेशमानले मैदान छाडेपछि कोइराला २ दशकसम्म नेपाली राजनीतिको हिरो बने जो पञ्चायती शासन विरुद्ध सञ्चालित जनआन्दोलनका उपज थिए । गिरिजाको जीवनकाल भने कुनै उथलपुथलकारी क्रान्तिको नेतृत्व गर्नुभन्दा पनि राजनीतिक अस्थिरता, भयानक द्वन्द्व र चरम संक्रमणकालको सामना गर्दैमा वित्यो ।
प्रचण्डको उदय
२०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डले २०२८ सालमा पुष्पलाल समुहबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिक जीवन सुरु गरेका थिए । त्यसपछि २०३४ सालमा नेकपा चौथो महाधिवेशनमा प्रवेश गरेका उनी २०३५ सालमा पूर्णकालिन भई २०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय अध्यक्ष बनेका थिए । २०४१ सालमा नेकपा (मशाल)को पाँचौं महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित प्रचण्ड ५ वर्ष भित्रै २०४६ सालमा पार्टीको सर्वोच्च पद महामन्त्री बन्न सफल भए ।
प्रचण्ड उचाई पछाडिका तर्कवजान
एउटा सामान्य किसानको छोरो छविलाल दाहाल संसार हल्लाउने प्रचण्ड कसरी बन्यो होला ? यसमा धेरैका आ-आफ्नै तर्क र विश्लेषणहरु छन् । कतिपयले प्रचण्डको ‘उपयोगितावादी क्षमता’ लाई कारण ठान्छन भने कतिपयले उनको ‘चातुर्दिक’ कलालाई निर्णायक प्रमुख कारण ठान्छन् । कतिपयले अरुका वैचारिक रचनालाई तानतुन, काटकुट पारी चिटिक्क मिलाउन सिपालु भएकाले राजनीतिमा उनको यो उचाई बनेको विश्लेषण गर्छन् । उनकै पार्टीभित्र पनि कतिपयले यदाकदा यस्तै तर्क बाँडचुड गरी मनशान्ति गर्ने गरेको पाइन्छ । तर प्रचण्डको सवालमा यी सब कुराहरु मनगढन्ते हुन् । प्रचण्डको यो उचाईका पछाडि बाबुराम भट्टराई लगायतका अन्य समकालीन नेताहरुको पनि महत्वपूर्ण त्याग र योगदान अवश्य छ तर मुख्य कुरा प्रचण्डको सोच्ने तरिकामा रहेको विलक्षणता नै उनको यो उचाईको प्रमुख कारण हो । जानकारहरुका अनुसार यो विलक्षणता उनी युवक संघको केन्द्रीय अध्यक्ष र पार्टीको केन्द्रीय सदस्य बनेदेखि प्रष्ट रुपमा देखिन थालेको थियो । त्यतिबेला पार्टीभित्र मोहनविक्रमको ‘सांस्कृतिक विचलन’ का विरुद्ध लड्दा लड्दा मोहन वैद्यहरुले आफ्नो मानसिक उर्जा रित्याएका थिए । आफ्नो ‘साँस्कृतिक कमजोरी’ छानविन गर्न गठित आयोगलाई समेत कार्वाही गरेर मिल्काउने हैसियत राख्ने मोहनविक्रमजस्ता ‘शक्तिशाली’ व्यक्ति विरुद्ध लड्नु कम चुनौतिपूर्ण थिएन पनि । त्यहीबेला प्रचण्डले उक्त समस्याका विषयमा एउटा विल्कुलै नयाँ तर्क अघि सारे । “मोहनविक्रमको त्यसखाले पटके गल्तीको श्रोत सांस्कृतिक चिन्तन होइन, वैचारिक समस्या हो ।” प्रचण्डले केन्द्रीय समितिमा यो तर्क अघि सारेपछि समाधानको नयाँ सुत्र फेला पर्यो । मोहन वैद्यलगायतका भेट्रानसहित सबै नेताहरु प्रचण्डको तर्कमा ‘कन्भिन्स’ भए । मोहनविक्रममा रहेको वैचारिक विचलनका कारण ‘सांस्कृतिक गल्ती’ हुने गरेको निष्कर्ष निकालेर उक्त समस्याको समाधान गरियो । त्यसपछि प्रचण्डले पार्टीभित्र लगातार सिर्जनात्मक विचारहरु अघि सार्दै गए । नेपाली जनयुद्धको रणनीति र कार्यनीतिमा मौलिकताको प्रयोग गरे । एक दशक लामो जनयुद्धपछिको शान्ति प्रक्रियामा पनि अद्भुत मौलिकता देखाए र अहिले पनि प्रचण्ड अरुभन्दा गतिशील ढङ्गले सोच्ने गर्छन् । त्यसलाई बाबुराम भट्टराईले ‘अध्यक्षको डाइनामिज्म्’ भनेर अर्थ्याउने गरेका छन् । बहुचर्चित चुनवाङ बैठकमा प्रचण्डको त्यो विलक्षणताको चर्चा गर्दै भट्टराईले ‘अध्यक्षको टावर निकै तीखो छ’ भनेका थिए ।
टावर पर्सनालिटी अर्थात् शिखर व्यक्तित्व
विपक्षीहरुको रातदिनको गालीगलौज र सत्तोसरापका बाबजुद् प्रचण्ड नेपालको ‘टावर पर्सनालिटी’को रुपमा स्थापित भएका छन् । उनको यो शिखर व्यक्तित्वलाई उछिन्नसक्ने अरु कोही नेता समकालीन राजनीतिमा देखिएको छैन । यसअघि विशिष्ट प्रतिभा र क्षमताका कारण होइन कि परिस्थितिगत आवश्यकताका कारण गिरिजाप्रसाद कोइराला नेपालको टावर पर्सनालिटीको रुपमा स्थापित थिए । उनको निधनपछि प्रचण्डले त्यो स्थान लिएका छन् तर उही रुपमा होइन् नेपालको ‘साइनिङ स्टार’ अर्थात चम्किलो ताराको रुपमा । उनका प्रतिष्पर्धी काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालहरु राजनीतिक आकाशमा कुखुराको चालमा उडिरहेका छन् भने प्रचण्ड चीलको गतिमा । चील कहिलेकाँही कुखुराको गतिमा ओर्लन सक्छ तर कुखुराले कहिल्यै पनि चीलको उचाई लिन सक्दैन । २०६२ मंसिर ७ गते सात राजनीतिक दल र नेकपा माओवादीबीच सहमति भएको दिन यता प्रचण्ड नेपाली राजनीतिको मियो बनेका छन् । प्रचण्ड र उनी नेतृत्वको टिमले अघि सारेको एजेण्डामा गिरिजाप्रसाद कोइरालासमेत सहमत भएका थिए । शायद कोइरालाले त्यस्तो आँट नगरेको भए भीषण द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण सम्भव पनि थिएन होला । त्यो कुरा एमाले वरिष्ठ नेता माधव नेपालको सार्वजनिक अभिव्यक्तिबाट प्रष्ट भइसकेको छ । उनले भनेका थिए- “मत संविधानसभाको पक्षमै होइन, केवल माओवादीको मन राखिदिनको लागि मात्र संविधानसभा स्वीकारेको हुँ ।” उनको यो भनाइको अडियो भिडियो रेकर्ड विश्वसमुदायसामु सुरक्षित छ यद्यपि पार्टीभित्र र बाहिरको दवाव थेग्न नसकेपछि उनले ‘जिब्रो चिप्लिएको’ भनि स्पष्टिकरण दिएका थिए । प्रचण्ड र उनी नेतृत्वको टिमले अघि सारेको संविधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकता आदि एजेण्डाको वरिपरि मुलुकको राजनीति घुमिरहेको छ । यो परिस्थितिले पनि प्रचण्डलाई यो मुलुकको टावर पर्सनालिटी अर्थात् शिखर व्यक्तित्वको रुपमा चिनाइसकेको छ ।
मेचीमहाकाली अभियानपछि ‘राष्ट्रका नेता’
संविधानसभा चुनाव २०७० को लागि प्रचण्ड काठमाण्डौ क्षेत्र नं. १० र सिराहा क्षेत्र नं. ५ बाट उम्मेद्वार बनेका छन् । चुनाव आउन अब ४ दिन बाँकी छ । सुशील कोइराला बाँके ३ र चितवन ४ तथा झलनाथ खनाल इलाम १ र सर्लाही १ मा अहोरात्र खटिरहेका छन् । तर प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा छैनन् । देशदौडाहामा छन् । केचनादेखि कालापानीसम्म, हिमालदेखि तराईसम्म कुदेको कुद्यै छन् । कोइराला, खनालहरु आफु हारिएला कि भन्ने चिन्ताले छट्पटाइरहेका छन् तर प्रचण्ड अरु हार्लान कि भन्ने चिन्ताले पिरोलिएका छन् । साताव्यापी मेची-महाकाली अभियानमा लगातार २ हजार किलोमिटर यात्रा गरी १२२ निर्वाचन क्षेत्रका ७० भन्दा बढी सभालाई सम्बोधन गर्ने एकमात्र नेता प्रचण्ड देखिए । २०१५ सालको आमचुनावमा विपी कोइरालाले ५० जिल्लाको भ्रमण गरेका थिए । उक्त रेकर्ड तोड्दै प्रचण्डले चुनावी अभियानको सिलसिलामा ६९ जिल्लाका १८४ निर्वाचन क्षेत्रको भ्रमण गरिसकेका छन् । यो दौडाहालाई प्रचण्डले राष्ट्रिय एकताको अभियान बताएका छन् । आफु २४० वटै निर्वाचन क्षेत्रको उम्मेदवारजस्तो भएको बताउने गरेका प्रचण्डको पछिल्लो देश दर्शन अभियानबाट उनी ‘राष्ट्रनेता’ को रुपमा जनअनुमोदित भइसकेका छन् । यसबाट ‘जसको नीति उसकै नेतृत्व, राष्ट्रका नेता अध्यक्ष क. प्रचण्ड’ भन्ने एमाओवादीको चुनावी नाराको औचित्य करिब सिद्ध भइसकेको छ । ***