विजयकुमार गच्छदार
अध्यक्ष, लोकतान्त्रिक फोरम तथा मोरङ ७ का उम्मेदवार
बिहान ७:०० देखि १०:०० सम्म
अघिल्लो दिन अबेर साँझसम्म कार्यकर्तासँग भेटघाट र चुनावी योजना बनाउन व्यस्त फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार १० कात्तिक आइतबार हरेक दिनझै बिहान ७ बजेतिर उठे । नित्यकर्म सकेपछि उनी ८ बजेदेखि कार्यकर्ता भेटघाटमा व्यस्त भए । ९ बजे विराटनगर–७ केशलियामा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरेर फेरि विराटनगर बरगाछीको चौदनी चोकमा पनि पार्टी कार्यालय उद्घाटन गर्न भ्याए ।
बिहान १०:०० – १२:०० सम्म
गच्छदार १० बजेतिर आफ्ना कार्यकर्ताको दलबलसहित केशलियामा पुगे । त्यहाँ उनको पक्षमा नाराबाजी भयो । फूलमालाले स्वागत गरियो । त्यहाँ सयजति महिला–पुरुष भेला भएका थिए । उनीहरूमा धेरै युवा थिए ।
मञ्चवरिपरि उनको भ्रातृ संगठन युवा फोरमका कार्यकर्ताले पहरा दिइराखेका थिए । करिब तीन दर्जन मोटरसाइकल, एउटा ठूलो माइक्रो बस र करिब ६ वटा साना सवारीमा गच्छदारका कार्यकर्ता चुनावी प्रचारप्रसारमा सहभागी भएका थिए । क्षेत्र नम्बर ७ मा पर्ने विराटनगर उपमहानगरपालिकास्थित केशलिया मार्गमा टेन्ट लगाएर मञ्च बनाइएको थियो । तीनवटा ठूला–ठूला साउन्डबक्स र भाषण गर्न ठूलो माइक पनि राखिएको थियो ।
फूलमाला र अबिरले स्वागत ग्रहण गरी गच्छदारले केहीलाई पार्टी प्रवेश गराए । त्यसपछि उनले जोसिलो शैलीमा भाषण दिए । उनको भाषणको अंश यस्तो थियो, ‘आदरणीय आमा, दिदी दाजुभाइहरू, तपाईंहरूलाई थाहा छ विजय गच्छदार मधेसको इमानदार विकासप्रेमी छोरो हो भन्ने कुरा । नेपालका अहिलेका ठूला भनिएका तीनवटा पार्टीलाई तह लगाउने व्यक्ति मै हुँ । बिग्रेको राजनीतिलाई सपार्ने मै हुँ । अब यो देशको राजनीति कसैले सपार्न सक्छ भने त्यो विजय गच्छदार र उसले नेतृत्व गरेको पार्टीले मात्र सक्छ । यो निर्वाचनपछि हाम्रो सहयोगविना यो देशमा नत राष्ट्रपति बन्नसक्छ नत प्रधानमन्त्री । त्यसैले आइमाईले नमस्कार गरेको जम्ला हात चिह्नमा भोट दिनुहोस् ।’
सम्पत्ति शुद्धीकरण आयोगले जेल हालेर भर्खरै धरौटीमा छाडेका गणेश लामाले चुनाव जित्ने दाबी उनले गरे । हुँकार दिँदै गच्छदारले भने, ‘काभ्रेबाट गणेश लामाहरूले जितिसक्नुभएको छ कसैले रोक्न सक्दैन ।, कैलालीबाट लक्ष्मण थारूले पनि जितिसक्नुभएको छ । कैलालीमा हाम्रो पार्टीका उम्मेदवारले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई पराजित गर्दै छन्, देउवाले चुनाव हारिसक्नुभएको छ ।’
दिउँसो १२ देखि २ बजेसम्म
गच्छदारले भाषण गरिसक्दा १२ बजिसकेको थियो । मञ्चको कार्यक्रम सकिएपछि उनले छेउमै रहेको चुनाव प्रचारप्रसार समितिको कार्यालय रिबन काटेर उद्घाटन गरे । एक हुल युवा केटाले मान्छे किचौँला झै गरेर उनलाई छोपे । उद्घाटन गरेको कार्यालयमा पसेर उनी कुर्सीमा थचक्क बसे । सानो सिसीको औषधि निकाले अनि आफैँले आँखामा हाले । (उनको एउटा आँखामा खराबी छ । त्यसैले उनी सधैँ कालो चस्मा लगाउँछन्) र कार्यालयको पुस्तिकामा केही लेखेर सही गरे ।
त्यसपछि उनी उत्तर बरगाछीमा पर्ने चाँदनी चोकमा उस्तै कार्यालय उद्घाटन गर्न हानिए ।
उनी चाँदनी चोक पुग्नुभन्दा पहिले नै उनका युवाहरू त्यहाँ पुगिसकेका थिए । उनी आउनासाथ नाराबाजी भयो । माला पहिर्याइदिए र लगत्तै कार्यक्रम सुरु भयो । मन्जरी नामकी महिलाले आकर्षक शैलीमा कार्यक्रमको उद्घोषण गरिन् श्लोक पढ्दै ।
‘सयमा दश पाँच धनी गनिनु, अरूले तिनको करिया बनिनु ।
विधिको यही छ विधान भने, त्यो विधिको आयु पुग्यो ।
उद्घोषक मन्जरीले गच्छदारलाई नेताहरूका नेता पूर्वप्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री भन्दै फूलबुट्टा भरेर स्वागत गरिन् । पार्टीका जिल्ला अध्यक्ष चुमनारायण तवदारले स्वागत भाषण गरे । त्यसपछि मन्जरीले फेरि ‘रिमिक्स’ कविता पढिन्, ‘हँुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश फोरम लोकतान्त्रिकमा आबद्ध नभए ।’ लगत्तै उनले अर्को लाइन पनि दिइन् । ‘बगेको खोला फर्कंदैन फोरम लोकतान्त्रिकमा समेटिने मौका फेरि आउँदैन ।’
त्यसपछि केही युवालाई गच्छदारले टीका लगाएर पार्टी प्रवेश गराए । त्यहाँ पनि उनका युवा र रमितेहरूले उसैगरी भीडभाड बनाए । पार्टी कार्यालयको उद्घाटन र प्रवेश कार्यक्रम सकेपछि गच्छदारले कांग्रसेको किल्ला भनेर चिनिएको बरगाछीमा कार्यालयको आँगनमा उभिएर भाषण दिन थाले, ‘मैले गिरिजाप्रसादसँग खुलेर संघर्ष गरेँ । म कांग्रेसका लागि ३० लाख भारु बोकेको विमान अपहरण गर्ने योजनामा पनि सहभागी भएँ । तर, पछि कांग्रेसले हामीलाई गन्न छाड्यो र कति गर्दा पनि नलागेपछि म कांग्रेस छाड्न बाध्य भएँ । अहिले कांग्रेसभन्दा मेरो पार्टी शक्तिशाली भएको छ । कांग्रेस हराउँदै गइरहेको छ । विजय गच्छदार भनेको कांग्रेसको जिउँदो सहिद हो ।’
यतिखेरसम्म दिउँसोको १ बजिसकेको थियो उनी त्यसपछि चाँदनी चोकबाट दुई किलोमिटर पश्चिम रहेको केशलिया पुल्चोकमा उस्तै पार्टी कार्यालय उद्घाटन गर्न हिँडे । आफ्ना कार्यकर्ताको लावालस्करसाथ पुगेका गच्छदारको त्यहाँ पनि जय–जयकार भयो । उनले कार्यालयको रिबन काटे । भोक लागेको र अन्त पनि जानुपर्ने भएकाले भोट दिन आग्रह गर्दै छोटो बोलेर बिदा भए । यहाँबाट बा.९च ५७३०, को.१च ४२५२, को.१च ५०६१, को.१च ४२५८, को.१च ३४६० लगायतका साना सवारी र एउटा ठूलो माइक्रो बस र दुई दर्जन मोटरसाइकल उनको पछि लागे । एउटा भारतीय नम्बर प्लेटको जिप पनि थियो । बा.९च ५७३० नम्बरको जिपमा उनी चढेका थिए । यतिवेला २ बजिसकेको थियो । त्यसपछि उनी सोझै टंकीसिनबारी गाविस–३ मा पर्ने गोकुवास्थित मुक्तिघाटतिर हानिए ।
२:३० देखि ४:३० सम्म
पहिलेदेखि नै प्रतीक्षा गरेर बसेका गोकुवाका बासिन्दाले उनको स्वागत गरे । घाटमा माइक लगाएर राखिएको टेन्टमुनि भेला भएका गाउँलेले गच्छदारलाई माला पहिर्याएर गाउँको समस्या सुनाए । गच्छदारले घाटको निर्माणमा सहयोग गर्ने र गाउँको विकासमा सक्दो सहयोग गर्ने वचन दिए । उनले आफू एक्सन ओरेन्टेड नेता भएको र विकासप्रेमी भएको सुनाउँदै आइमाईले गरेको नमस्कार चिह्नमा भोट दिन आग्रह गरे । उनले माओवादी, कांग्रेस, एमालेमध्ये एउटा पार्टीलाई मासेर आफ्नो पार्टीलाई देशकै ठूलो पार्टी बनाउने दाबी गरे । पहिले प्रहरी उनको स्कर्टिङमा थिएनन् । गोकुवामा भने सईको कमान्डमा स्कर्टिङ भएको थियो । तर, प्रहरीभन्दा गच्छदारका कार्यकर्ताको संख्या धेरै थियो । सबैलाई मुक्तिघाटमा चिसो सर्बतले स्वागत गरिएको थियो । करिब साढे ४ बजे उनी त्यहाँबाट सोझै सिसवनी बडहरा गाविसमा गए ।
बेलुकी ५ देखि ९ बजे
सिसवनी बडहरा गाविस पुग्दा उनले उसैगरी भाषण गरे । पुरानै तरिकाले आफूले गरेका कामको बखान गरे र भोट मागे । केहीलाई टीका लगाएर पार्टी प्रवेश गराए । करिब डेढ घन्टा बसेपछि उनी फेरि उस्तै कार्यक्रममा सरिक हुन क्षेत्र नम्बर ३ को बाहुनीतर्फ लागे । बाहुनी पुग्दा झमक्क साँझ परिसकेको थियो । बाहुनी बजारमा पार्टीका उम्मेदवार सत्यनारायण भगत र नन्दु सरदारले उनलाई स्वागत गरे । जय–जयकार गरे । यहाँ पनि गच्छदारले देश सपार्न सक्ने नेता आफू मात्र भएको दाबी गर्दै भोट मागे ।
त्यहाँ करिब एक घन्टा बसेपछि उनी बनिगाभा आएर चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरे । उसैगरी भाषण गरे । त्यसपछि उनी बनिगाभा र बाहुनीको चुनावीसभामा भाग लिन पुगे । जाडो दिन सुरु भइसकेकाले साँझ झमक्कै भइसकेको थियो । तैपनि उनले सेड्युलअनुसारको काम पूरा गरे । विराटनगर फर्कंदा रातको १० बजेको थियो । केहीबेर कार्यकर्तासँग भलाकुसारीपछि खाना खाएर उनी ११ बजेतिर सुते । चुनावको धपेडीमा उनले दिउँसोको खाना पनि खाएनन् । भोलिपल्ट काठमाडौं जो जानु थियो ।
प्रस्तुति : गणेश लम्साल