Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

ncकाठमाडौं- बुढापाकाहरूको पार्टी भनेर चिनिने गरेको नेपाली कांग्रेसको तर्फबाट यसपटक झन्डै दुई दर्जन युवा नेताले संविधानसभामा उम्मेदवार बन्ने अवसर पाएका छन् । उनीहरूको उम्मेदवारीपछि नेपाली कांग्रेस पनि युवाहरू माझ थप लोकप्रिय बनेको विश्लेषकहरू बताउँछन् । ०६२/६३ को आन्दोलनपछि नेपाली कांग्रेस युवा शक्तिसँग थप आकर्षित भएको बुझाइ छ । लोकतान्त्रिक आन्दोलनमा सहभागिता, पार्टीमा पुर्‍याएको योगदान र पछिल्लो समयमा ती युवा नेताले कमाएको लोकप्रियताले उनीहरूलाई उम्मेदवार बन्न बाटो खोल्यो । मतदाताहरू माझ पुराना र विवादमा आएका नेताहरूलाई होइन नयाँ र युवा नेता रोजौँ भन्ने आवाज पनि गुन्जन थालेका छन् । त्यसैले पनि यो पटकको संविधानसभाको निर्वाचनमा विभिन्न दलका युवा नेताहरू थप उत्साही भएर चुनावी अभियानमा जुटेका छन् ।

काठमाडौंलगायत देशका विभिन्न क्षेत्रबाट काग्रेसले मात्र होइन अन्य दलले पनि उल्लेख्य युवालाई मौका दिएका छन् । युवा नेताले संविधान निर्माण प्रक्रियालाई पुरा गर्ने वाचा पनि गर्दै जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । नेपाली कांग्रेसको तर्फबाट संविधानसभामा उम्मेदवार बनेका युवा नेताहरूले पनि एक वर्षभित्र संविधान लेख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेसले यो पटक काठमाडांैमा तीन जना युवालाई उम्मेदवार बनाएको छ । काठमाडौं क्षेत्र नम्वर २ मा युवा तथा महिला नेता प्रतिमा गौतमलाई उम्मेदवारका रुपमा छन् । त्यस्तै प्रखर वक्ताका रूपमा चिनिएका चर्चित नेता गगन थापा काठमाडौं ४ का उम्मेदवार हुन् । त्यस्तै काठमाडौं ८ बाट नविन्द्रराज जोशी पनि युवा उम्मेदवारको पंक्तिमा छन् । यी युवा उम्मेदवारले नेपाली कांग्रेसको घोषणापत्र कार्यान्वय गरेर नयाँ संविधान निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘नेपालमा संसदीय व्यवस्था नै उपयुक्त छ,’ उनीहरूको प्रतिक्रिया छ, ‘लोकतान्त्रिक संविधानका साथै मुलुकमा आर्थिक विकास अनिवार्य भएको छ ।’ उनीहरू भन्छन् । कांग्रेसको नीति र उद्देश्य स्पष्ट रहेकाले आफूहरूको विजय सुनिश्चित रहेको ती युवा नेताहरूको प्रतिक्रिया छ । काठमाडौं ४ बाट उम्मेदवार बनेका गगन थापाले आफूसँग संविधान निर्माणका सम्बन्धमा अनुभव रहेको बताउँछन् । ‘मसँग अघिल्लो संविधानसभाको अनुभव छ,’ उनले भने, ‘नयाँ संविधान मात्रै होइन आर्थिक विकास र उन्नतिका लागि सहयोगी भूमिका खेल्न सक्छु ।’ त्यसैले यो पटक आफूले जित्नु पर्ने तर्क थापाको छ । युवाहरू माझ गगन थापाको लोकप्रियता पनि उनको जितको आधार हुन सक्ने विश्लेषकहरूको तर्क छ । झापा–१ बाट प्रतिस्पर्धामा उत्रिएका अर्का चर्चित युवा नेता विश्वप्रकाश शर्मासँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको प्रशस्त अनुभव छ । उनी विजयी हुनेमा कांग्रेस आशावादी पनि छ । शर्माले तत्कालीन शाही शासनविरुद्ध विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । शर्मा प्रखर वक्ता पनि हुन् ।

दाङ–३ बाट उम्मेदवार बनेका नेता राजु खनाल पनि युवा जगतमा लोकप्रिय छन् । उनले युवाका मुद्दालाई नयाँ संविधानमा राख्न सहयोगी भूमिका खेल्ने प्रतिक्रिया दिए । ‘कांग्रेसको घोषणापत्रले अघि सारेका मुद्दालाई कार्यान्वयन गराउनु पर्छ,’ उनले भने, ‘माओवादीको सशस्त्र द्वन्द्वका बेलाका जनताले उठाएका मुद्दालाई मैले धेरै बुझेको छु ।’ बर्दिया–४ बाट उम्मेदवारी दिएका किशोरसिंह राठौर पनि राजनीतिक अनुभवी युवा नेता हुन् । उनले राज्य पुन:संरचना, शासकीय स्वरूप र आर्थिक विकासमा मुलुकलाई अघि बढाउन सहयोग गर्न सक्ने क्षमता आफूमा रहेको बताए । ‘हाम्रो मुलुकमा संसदीय व्यवस्था नै उचित छ,’ उनले भने, ‘संघीय राज्यमा जाँदा संसदीय व्यवस्थालाई बलियो बनाउनु पर्छ ।’ त्यसै गरी कालिकोटबाट उम्मेदवार बनेका भुपेन्द्रजंग शाही पनि अर्का चर्चित युवा नेता हुन् । साहित्यलाई पनि मन पराउने शाही पछाडि परेको कालिकोटको विकासमा भूमिका खेल्ने बताउँछन् । ‘नयाँ संविधानका साथै मुलुकको विकासमा मेरो योगदान रहने छ,’ उनले भने, ‘कांग्रेसको घोषणापत्र कार्यान्वयनमा पनि योगदान हुनेछ ।’ जनजाति नेताका रूपमा स्थापित हुँदै गएका भीष्मराज आङदेम्बे पनि चर्चित अनुहार हुन् । उनी पाँचथर–२ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । जातीय राज्यको विरोध गर्दै आएका आङदेम्बेले कांग्रेसको जनजाति मुद्दालाई नजिकबाट हेरेका छन् । मुस्ताङमा उम्मेदवार बनेका रोमी गौचनले पनि मुलुकलाई अघि बढाउन आफूसँग प्रसस्त अनुभव रहेको बताए । ‘संविधान निर्माणमा हिमाली क्षेत्रको अनुभव मसँग प्रसस्त छ,’ उनले भने, ‘यसपटक हिमाली क्षेत्रको सुझाव मैले दिन सक्छु ।’ उनले यसपटक कांग्रेसका अधिकांश युवा नेता विजयी हुने दाबी पनि गरे ।

प्रतिस्पर्धामा रहेका कांग्रेसका युवा नेताहरू

विश्वप्रकाश शर्मा झापा–१, भीष्मराज आङदेम्बे पाँचथर–२, प्रतिमा गौतम काठमाडौं–२, गगनकुमार थापा काठमाडौं–४, नवीन्द्रराज जोशी काठमाडौं–८, उदयशम्शेर राणा ललितपुर–१, तारानाथ दाहाल सिन्धुपाल्चोक–३, देवेन्द्रराज कँडेल नवलपरासी–१, राजु खनाल दाङ–३ , बालकृष्ण खाँण रुपन्देही–३, रोमी गौचन मुस्ताङ, रमेश लेखक कञ्चनपुर–४, रामहरि खतिवडा ओखलढुंगा–२, राजेन्द्र अमात्य पर्सा–१, महादेव गुरुङ कास्की–४, शंकर भण्डारी तनहुँ–१, चन्द्र भण्डारी गुल्मी–२, भुपेन्द्रजंग शाही कालिकोट, किशोरसिंह राठौर बर्दिया–४, नारायणप्रकाश साउद कञ्चनपुर–२, पुष्पा भुसाल अर्घाखाँची–२, महेश आचार्य मोरङ–६ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया