Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024
Tmalla ‘घ’राँ पकाउनी केहि छैन, यत्रा दिनसम्म केहि जोरजाम र बन्दोबस्त गर्न सकेको हैन, भोलिको दसैं छ, निधारमा लाउनी अक्षताका नाममा चामलका गेडा छैनन् यस्ता लौन्छोरा (लोग्नेमान्छे) घ’राँ हुनु र नहुनुमा केहि फरक छैन’- भित्रबाट च्याँठिदैं भैरेकी स्वास्नी एकाबिहानै फटफटाउन थाली । उसको प्रभातकालिन रडाकोमा दसैंको अभाव नै केन्द्रीय समस्या हो भन्ने सहजै झल्कन्थ्यो ।
यता नुन खाएर झोक्र्याएको कुखुरोझैं पिंढीको डिलमा बसेको भैरेलाई एकाबिहानै उसकी श्रीमतीको कर्कशा स्वरले झल्याँस्स ब्यूंझाउँदैं उसलाई आलो घाउमा नुनचुक छरेझैं बनायो । हुन पनि नाकैमा ठोक्किन आईपुगेको यो पालीको दसैंको बन्दोबस्त मिलाउन नसकेकोमा उसले हिनताबोध त गरेको थियो नै, यद्यपि केहि जुक्ती अझै फुरि पो हाल्छ कि भन्ने अन्तिम ताकमा भने अझै थियो ऊ ।
‘हैन यो आइमाई किन ब्यर्थैमा कचकच कचकच गर्दीहोली, आफुले केहि गर्न सक्ने भए झन कसो पो गर्थीहोली ? लागेपुगेसम्म के मैले सकेको नगरेहुम्ला र ? गर्दा गर्दै भएन त के गर्ने ? ’ – फरक फरक दिशातिर फर्केका उसको कपाल कन्याउँदै भैरेले आफ्नो मनको बह पोख्यो तर आशाको दियो भने उसको चेहरामा अझै बाँकी देखिन्थ्यो ।
उता गाउँटोलभरि दसैंको चहलपहल भने सुरु भईसकेको थियो । छिमेकीका बालबच्चाहरु नयाँ नयाँ लुगा लाएर टोलछिमेकभरि डुल्न र पिङमा झुम्मिन थालिसकेका थिए, त्यो देखेर भैरेकी पांच बर्षकी छोरी मैनाले पनि -‘मैले पनि नयाँ नाना कहिले लाउनी भन्दै’ -भैरेको अघिपछि गर्न थालिसकेकी थिई ।
बाबु हुनुको नाताले आफ्ना सन्तानका अगाडि अभाव देखाएर आफ्नो लाचारी देखाउन सबैभन्दा गाह्रो हुँदोरहेछ । अबोध बालबालिकाहरु संसारका सबैभन्दा शक्तिशाली र बलिया आफ्ना बाबुआमालाई ठान्दाहुन । मानौ चाहे भने जतिसुकै महान काम पनि आफ्ना बाबुआमाले गर्न सक्छन् । छोरीको  कुरा सुनेपछि भैरेलाई यस्तै लाग्यो ।
बाह्रैमहिना साहुको भारी बोकेर जिबिका चलाउँदै आएको भैरे केहि महिनादेखि ज्यानले साथ नदिंदा भारी खेप्न पाएको थिएन, घरको नुनतेल, खर्चपर्च लगायत दसैको जोहो केहि गर्न नसक्दा भेरैको घरमा दसैं दशा बनेर ठिंग उभिएको थियो । न त भिडियोको रिलझैं फरवार्ड गरेर दसैंलाई घरभित्र छिर्नै नदिई धपाईदिन मिल्थ्यो न त लोकलाज अनुसारको सामना गर्ने औकात नै उसंग थियो ।
घरि भित्र घरि बाहिर, घरि पिंढीको डिलमा, घरि आँगनमा निस्केर सुस्केरा हाल्दै भैरेको छटपटीको मात्रा बढ्न थाल्यो । ‘बर्ष दिनमा एकफेरा आउने दसैंमा पनि आफ्नो जहानबच्चालाई खुशी राख्न नसक्ने भैरे तैंले जुनी लिनु बेकार हो, तँ जस्ता हुतिहाराहरु यो दुनियामा बाँच्नुको कुनै अर्थ छैन’ – उसले मनमनै आफैलाई सत्तोसराप हाल्यो ।
फेरि पिढीको डिलमा पिर्का तान्दै टुसुक्क बस्यो, एउटा चुरोट सल्काएर फेरि सोंचमग्न भयो, यो दसैंलाई कसरी अम्काउने भनेर ? उसले फ्याँकेको चुरोटको धुंवा उडेर भित्तैभित्ता हुँदैं पिंढीमाथिको दलिन र खरको छानोमा ठोक्किन पुग्यो । तर भैरेको मगजमा भने केहि जुक्ति फुरेन । बांगो हुन पुगेको उसको टोपी सोझ्याउँदै भैरेले आफ्नी प्यारी छोरीको मुखमा पुलुक्क हेर्‍यो । उता छोरी मैना भन्दैथिई – ‘बाबा हाम्लो घरमा खसी कहिले आउँछ । हाम्ले पनि खसी काट्ने हो है -’ छोरीको त्यो मायाले भरिएको तोतेबोलीमा निस्केको निर्दोष चाहना भुंईभरि छताछुल्ल पोखियो तर भैरे भने केहि बोल्न सकेन, बरु झन गह्रुंगो भारीले थिचेको अनुभव गरयो।
       एकछिन पछि हिम्मत गरेर भैरे जुरुक्क उठ्यो, एउटामा निलो र अर्कोमा पहेलो तुना भएको चप्पल खुट्टामा उन्यो, परार सालको दसैंमा किनेको फुङ्ग रङ खुईलिएको इष्टकोटमा बाहुला छिरायो अनि निस्क्यो  । घरमाथिको बारीको डिलैडिल हुँदै ऊ सिरानघरे साँहिला काजीको घरतिर हानियो । बाटाका छेउछाउका पोथ्रापोथ्री बुट्यानहरुमा घाम ताप्दै गरेका छेपाराहरु यता र उता दगुर्दै थिए । उता भैरेलाई देखेर काजीका भकुल्ले कुकुर पनि भुक्न थालिसकेको थियो । यस अगाडि पनि चिनेको भएर होला एकछिन पछि कुकुर भुक्न छोड्यो । उ काजीको दलाननेर पुग्यो र टक्क उभियो । काजी बिहानको धन्दा सकि भरखर पारिलो बन्दै गरेको दसैंको घाममा यसो टुसुक्क बसेका मात्र रहेछन् ।
  ‘जडौ काजीसा’प् जडौ । म त हजुरलाई एउटा बिन्ति बिसाउन आ’को । रिसानी माफ होस् । यसपालीको दसैं अम्काईदिनुपर्‍यो हजुर । मेरो केहि जोर चलेन । लाग्ने सावाँब्याजसहित टक्रायाउने छु ।’ भैरेले एकैसासमा भन्यो ।
गाउँमा हुनेखाने, २, ४ पैसा खेलाउने असजिलोमा परेकाहरुलाई काम सल्र्टाईदिने र त्यसबापत चर्को दस्तूर असुली गर्ने गरेर सम्पत्ति जोड्नु जोडेका थिए साँहिला काजीले । काजीलाई गाउँमा डल्ले साहु पनि भन्थे । कडा मिजासका डल्ले साहुले हातमा लिएर तान्दै गरेको तमाखु भुंईमा राख्दै भने – ‘ल सुन, भैरे मैले तँलाई हुँदासम्म काम चलाएकै छु, यो पाली त ठ्याक्कै केहि गर्नै नसक्ने अवस्थामा पो छु त । खाली हात पठाए काजीले नभनेस् बाबै । बरु बेला अझै छ अन्त पनि जा पाईहाल्छस् नि कतै न कतै ।’
‘हैन काजी सा’प त्यसो नभनिबक्स्योस न, धेरै पनि मागेको छैन, दुइवटा हजार भए अहिलेको लागि मेरौ दसै टर्छ, यसबेला फेरि म कहाँ जाउँ ?’ साहु काढ्ने कुरामा भैरेले थप जोड गर्दै फेरि डल्ले साहुलाई भन्यो ।
डल्ले साहुको बजारबाट सामान ढुवानी गर्ने, खेतीबालीका कामदेखि घरमा आईपर्ने जस्तोसुकै कामका लागि पनि भैरे उपयुक्त मान्छे हो, उ बलियो र इमान्दार पनि छ, रुपियाँ लगेर उसले भर काट्दैन, तिर्छ भन्ने काजीलाई राम्रोसंग थाहा थियो । ऋण दिन मन भए पनि ब्याजमा कस्न पाईन्छ भनेर काजीले छैन भनि टोपलेका थिए, त्यो कुरो भैरेलाई पनि राम्रोसंग थाहा थियो ।
    गाउँघरमा गर्जो टार्न च्याप्पै ऋण पाईन छोडिसकेको थियो । त्यसमाथि भैरेले दसै मान्नका लागि भनेर ऋण दिन त्यो गाउँमा कोही तयार थिएनन् । अरव, मलेसिया, जापान, अमेरिका जाने भन्ने हो भने बरु जति भने पनि गाउँमा पैसा निस्कन्थ्यो, चर्को ब्याजसंगै कोसेली पनि मजैले ठटाउन पाईने भएकोले काजीजस्ता गाउँका २, ४ पैसा खेलाउने सामन्ती पैसावालहरुले बिदेश जानेहरुलाई मात्र पैसा हालिदिने गर्दै आएको कुरा पनि भैरेलाई थाहा थियो ।
अब यसै भएन उसै भएन भनेर अलि कसेर कुरा गर्ने सुर कस्दै बसिरहेको ठाउँबाट जुरुक्क उठेर भैरे फेरि बोल्न थाल्यो – ‘लागेको तिर्छु भनेकै छु, बिदेश जानेहरु फर्केर आउने कहिले हो कहिले केहि ठेगान हुँदैन, मैले त भनेको दिनमा खुरुक्क तिर्छु, लागेको पनि ब्यहोर्छु, कामसाम गरेर भए पनि चुक्ता गर्छु भनेकै छु । दुइओटा हजारमा काजीसा’पले मजस्तो ईमान्दार र आफ्नो पाखुरामा बिश्वास गर्ने मान्छेलाई पत्याउनु हुन्न भने ठिकै छ, मैले भन्नु केहि छैन । म लागौं त हजुर ?’
‘पख्, तिहारको औंशी नकटाएस, काम चला, तर भाका नफेरेस, लागेको ब्यहोर्छस नि हैन त ? काजीको मन पग्लियो ।
‘ब्यहोर्छु भनेकै छु त काजी सा’प म जसरी पनि भनेको मितिमा दाम टक्रायाउने छु । हजुरको जय होस् ।’ भैरे खुशी भयो ।
दुईवटा पांच सयका र एउटा हजारको नोट निकाल्दैं काजीले भैरेको हातमा थम्याईदिए ।
गोजीमा दसैखर्च परेपछि खुशी हुँदै भैरे सिधै बजारतिर हानियो । दालचामल, छोरी मैनालाई एउटा फ़्रक, उसकी श्रीमतीलाई धोती र आफुलाई एउटार् ईष्टकोट किन्यो । बाटामा आउँदा थोरै मासु पनि हाल्यो। खसी लिएर आउने बाबाको बाटो हेर्दै बसेकी मैना पनि खुशी भई । भैरेले कसौडीमा चामल हाल्यो, चुल्होमा आगो बल्न मानिरहेको थिएन । उसले मैनाकी आमालाई देखेन । ‘ए मैनाकी आमा, मैनाकी आमा ! हैन तँ कहाँछेस् भन्छु, यो पा’लाँ सिंगो खसी ल्याउन सकिन, हेर बूढी ! अर्कोसा’लाँ त जसरी पनि बडेमानको खसी ल्या’ र यो आगनाँ ढाल्न सकिन भने म पनि भैरे नै हैन । बुझिस् ? ‘
     ‘भो भो धेरै धक्कू लाउन पर्‍या’छैन त्यसो भन्न ला’को पनि कतिका बर्ष भईसके, मैना भूँडिमा छँदै दसैंमा सिंगो खसीको कुरा हुन थालेका हुन्, मैना पनि पाँच पुगेर ६ मा लाग्न थाली । अरुका लौनेछोरा देशपरदेश गएर कमाउनु कमा’र, छोराछोरीलाई बोडिङ स्कुलाँ राख्याछन् । उनका बूढीहरु सहराँ बसेर चैन काट्या’छन् । लौनेका कमाईमा बर्षैभरि उनलाई दसैं नै दसैं छ । हाम्लाई भने बर्षको एक दिन आउने दसैं धान्न पनि यत्रो महाभारत । ईख नभएको सर्प र बिष नभएको छोरामान्छे उस्तै हुन् भन्छन् अब पनि बुद्धि नफिरे कहिले फिर्ने हो मैनाकी बाबा ? लबस्तरो छोरामान्छे पर्‍यो भने आइमाईलाई धेरै दुख हुन्छ भन्थे हो रै’छ । तिम्रो कमाईले कहिले यो घरको रङ फेरिन्छ हँ ? अब त छोरी पनि ठूली भईसकी स्कुलाँ हाल्नै पर्‍यो । गरिबको कोखमा जन्मनु उसको दोष हैन तर मर्नेबेलासम्म गरिब नै भईरहनु भने स्वयमको दोष हो भन्छन् लौन बेलैमा केहि सोचौं’’ – मध्य दसैंको दिनमा मैनाकी आमाले बडो कडा शब्दमा भैरेप्रति शब्दवाण प्रहार गरी । मैनाकी आमाले यी कुराहरु भनिरहँदा उता कसौडीमा भात गजगज गर्दै पाक्दै थियो । मैना भन्दैथिई- ‘आमा भात पाक्यो, आमा भात पाक्यो, अब खसी कहिले काट्ने ?’
मैनाकी आमाको कुरा सुनेर गम्भीर बनेको भैरेको आँखामा उसका दौतरीहरुको चित्र वरिपरि घुम्न थाल्यो । उसको सबैभन्दा मिल्ने साथी पल्लो गाउँको बले ४ बर्ष देखि कतारमा छ, जिल्ला सदरमुकाममा परिवार राखेको छ । एउटा खडेरी पनि जोडेको छ रे । झाँक्रीपानीको रने पनि मलेसियामा गएको छ, आफु जाँदाको ऋण तिरी सकेर पनि गएको तीजमा ७० हजार दाम पठायो रे । बहुला खत्रीको छोरो जितेमाईलो पनि बाहिर जाने चक्करमा काठमाडौं धाउन लागेको महिना ४ हुन लाग्यो । तँ भैरे बर्षको एउटो दसैंका लागि दश फेरा मर्दै जाग्दै, मर्दै जाग्दै भारी बोक्दै बस्दै गर । थुक्क भैरे ! आजसम्म तँलाई किन बुद्धि फिरेन हँ ?  उसले आफैलाई मनमनै धिक्कार्दै भन्यो ।
उसले फेरि सोच्यो – ‘जे भए पनि आज दसैंको दिनमा मैनाकी आमाले यति धेरै भित्तैमा पुग्ने गरी वचन नलाएको भए पनि हुन्थ्यो । ३६५ दिनमा आज एकदिन भएपनि सन्तोषले दसैं मनाउन पाउँथेहोला । आजै नभनेको भए पनि त आखिर बित्याँसै हुनेवाला केहि थिएन । हैन, यो आईमाई अचेल किन यस्तो भईहोली ? आफ्ना जहानबच्चा छोडेर परदेशमा भासिएकाहरुले २, ४ पैसा कमाएको दैख्दैमा सँधैको दसै देख्ने आँखाले दुखसुख आफ्नै परिवारको साथमा अलिअलि अभाव खट्नुपर्दाको सास्तीलाई नारकीय जीवन देख्ने हाम्रो समाजलाई सबैको पसिना यहि माटोमा पोखियो भने सुन यहि धर्तीमा फल्छ भनेर कहिले कुरो बुझाउन सकिएला ? आकाशबाट जति नै मुसलधारे पानी परे पनि आखिर धर्तीमा एक थोपा पसिना त चुहाउनै पर्छ भनेजस्तै बाहिर गएर जति नै धनको लुँडो नै कुम्ल्याएर ल्याए पनि यहि धर्तीका लागि केहि नगरी सुखै छैन । मैनाकी आमाले देखेको भबिष्य र मैले देखेको भबिष्यको चित्र फरक रहेछ । म यहि माटोमा सुन फलाएर स्थायी समस्याको स्थायी समाधान खोज्न चाहान्छु अनि परिवारसंगै बसेर घोर्ले खसीले आउँदा दसैहरु निरन्तर मनाउंदै जाने सपना बुन्न चाहान्छु । तर मैनाकी आमा भने हाम्रो स्थायी समस्यालाई बिदेशको अस्थायी कमाईले अस्थायी समाधान गर्दै अस्थायी दसैं मनाउने चाहना राख्छिन् । कुरो यहिनेर गाँठो परेको छ, भैरेले गम बल्ल खायो ।
मैनाकी आमाको कुराले भैरेको दिमाखमा क्लिक गरेरै छोड्यो .  दसैंको दिनभरि भैरेको दिमाखमा यस्तै यस्तै कुराहरुले उछारमेलो दिएनन् । एक मनले आइमाई केटाकेटीका बेकारका वाहियात कुरा भनेर हजार कोशिस गरे पनि भैरेले उसको दिमाखबाट हटाउन सकेन बरु उसलाई त्यहि कुराले डिष्टर्व गरिरह्यो, किनभने कुरा गम्भीर थियो ।अघिल्लो दिनसम्म साथीभाई जम्मा भएर फरक ढंगले रमाईलो गरी मनाउने सोच बनाएको भैरेको दसैं एकाएक बिन्दास हुन पुग्यो । ‘कहिलेको गाली, कहिलेको बोली, एकातिर ताक्दा अर्कोतिर गोली’  यसरी बन्न पुग्यो यसपाली भैरेको दसैं बिन्दास ।
(लेखक पत्रकार महासंघ जापान शाखाका अध्यक्ष हुन्)
तपाईको प्रतिक्रिया