सानोमा अलि पुल्पुलिए क्यारे । हतपती कसैलाई नटेर्ने स्वभावको थिँए रे म, पाँच भाइको कान्छो छोरो भएर पनि होला । ‘बूढेसकालको बतिलो, छैन गतिलो’ पनि भन्थे रे छिमेकीहरु । पढाईमा भने कक्षा एकदेखि १० सम्म दोश्रो हुनुपरेन । गाउँकै स्कुलबाट कक्षा ५ उत्तीर्ण गरेपछि नजिकको हाईस्कुलमा भने चारैचौरासका स्कुलबाट आएका मै हुँ भन्ने पढन्दासहरुसंग एउटै कक्षामा जमघट हुने नै भयो । त्यसपछि भने पहिलो हुँदै आएको रेकर्ड धरापमा पर्ने हो कि भन्ने संभावना बलियो हुँदै गएको भए पनि आफ्नो मिहिनेतको गियरलाई थप बढाउदै लगेकोले त्यसो हुन दिईँन ।
म सानो छँदा असाध्यै चकचक गर्नुपर्ने । बुवालाई हैरान पारेको अझै सम्झना छ । अलि राम्रा र गतिला हतियारदेखि दाह्री काट्ने ब्लेड जे भेट्टाए पनि टिपेर चलाईदिने, घरमा पाकेका, राखेका मीठोचोखो, मसिनो खानेकुरा जथाभावी खाईदिने र अरुलाई बाँडेर सकाईदिने, चाहिएको बेला नभेटेपछि गाली खानुपर्छ भनेर टाप दिने गर्दथें । कालान्तरमा मेरो स्वभावमा पुरै परिवर्तन आयो । कक्षा ९ सम्म आईपुग्दा म ठिक ठाउँमा आएको भन्ने मैले अरुबाट सुनेको थिंए । दशैको बेलामा त झन मलाई असाध्यै उटुङ्गा गर्नुपर्ने । लाग्थ्यो दसै त मेरो लागि मात्र आएको हो ।
घटस्थापनाको दिनदेखि सुरु हुन्थो दसैबिदा । दसैं बिदा सुरु हुनु अघि स्कुललाई रातोमाटो र कमेरोले पोतेर नयाँ दुलहीझैं चिटिक्क सिंगार्नु पर्थ्यो । सरहरुले रातोमाटो विद्यार्थीहरुलाई नै आ-आफ्ना घर-घरबाट ल्याउन लगाउँथे, कमेरो भने खोज्न जानुपर्थ्यो । हुलका हुल हामी विद्यार्थीहरु गाउँलेहरुलाई दसैं आएको जनाउ दिदैं हल्ला गर्दै कमेरो खोज्न जान्थ्यौं । त्यसपछि हामी केटाहरुले कक्षाकोठाका भित्ताहरुमा माथिमाथि कमेरो लगाउँथ्यौं केटीहरुले तल-तल रातोमाटो पोत्थे । लाईटको ब्याट्री जम्मा पारेर त्यसको कालो झ्यालमा लगाउँथ्यौं बाँकी रहेको कालोपाटी रङ्ग्याउँथ्यौं । अनि बल्ल पो साँच्चिकै दसैं आएको जस्तो लाग्थ्यो हामीलाई । सरहरु घाममा कूर्चीमा खुट्टा हल्लाएर रमाईला रमाईला गफ चुटेर बस्थे, शायद दसैंकै रोमाञ्चीत गफ हुँदाहुन् । अहिलेजस्तो भएको भए त सबैले बराबर काम गरौं न क्या हो, गुरुजीहरु यो त भएन नि ? भनिन्थ्योहोला, नत्र बन्द हड्तालका कुरा उठाईन्थ्यो । स्कुल रंगाउनेक्रममा कमेरो, रातोमाटो अनि त्यसपछि कालोमोसोले अनुहार र ज्यान रंगिएपछि एकले अर्कोलाई हेर्दै मरिमरि हाँस्थ्यौं, कुखुरे बैंशका दिन त परे, कुखुराले आची गरेको देख्दा पनि हाँसो लाग्ने उमेर भएर कुखुरे बैंश भनेको रे नि त।
ठूलै थाहा पाउने हुँदासम्म दसैका बेलामा खासै नयाँ लुगा लगाउन पाईएन, किनभने नयां लुगा फ़ेर्ने हाम्रो परिवारमा आफ़्नै नियम थियो । औकातअनुसार एउटा सम्झौता गरिएको थियो घरको सत्तापक्षसंग । बर्षमा २ चोटी मात्र नयाँ लुगा फेर्ने सहमतिपत्र धेरै बर्षसम्म दूवैपक्षले अक्षरश: पालना गर्यौं । असार साउनको २ महिने लम्बेतान बिदा सकिनासाथ भदौ १ देखि स्कुल चालु हुने बेला एकफेरा र माघेसंक्रान्तिको बेलामा एक फेरा गरी बर्षको २ पटक नयाँ लुगा लगाउन पाईन्थ्यो । माघे संक्रान्ति हाम्रो म्याग्दी जिल्लाकै अर्थात अञ्चलकै पनि प्रमुख जात्रा मध्यको एक मानिन्छ । नयाँ लुगा किन्ने बेलामा बुवाले हामीलाई अघि लाएर नजिकको रातोढुंगा भन्ने बजारमा गएर लुगा हालिदिनुहुन्थ्यो । त्यतिबेला भरखर चलनचल्तीमा आएको चाईनिज जिन्सको हाफ पाईन्ट (जाँघे) र कटनको छोटो बाहुले पातलो कमिज गरी जम्मा थान २ ले पुस-माघको मुटु काम्ने जाडो होस कि बैशाख-जेठको टण्टलापुर घाम होस् निर्बाह गर्नुपर्थ्यो र हुन्थ्यो पनि । परिवारका सदस्यहरु सबैलाई एक एक जोर उधारोमा लुगा किनेर हामी फ़ुरुक्क पर्दै घर फ़र्कन्थ्यौं ।
किसान न पर्नुभयो हाम्रो बुवा ! भनेको बेला पैसा हुन्थेन, खेतीकिसानीबाट उत्पादित कृषिजन्य अन्न, केरा, घिउ, मह, बाँस आदिको बिक्रीबाट कहिलेकाँही हल्का पैसाको मुख देख्न पाईन्थ्यो । उसो त ठूला दाइहरु भारतीय सेनामा जागीरे थिए । अचेलजस्तो रेमिट्यान्स सेवा त्यतिबेला भईदिएको भए घरखर्च र सानोतिनो गर्जो टार्न समस्या हुन्थेन । तर भनेको बेला घरमा पैसा आईपुग्ने सुबिधा थिएन, धेरै प्रक्रिया पार गर्नुपर्थ्यो त्यतिबेला । बर्षभरिका लुगाफाटा, नुनतेल, चिनी, मसला र कापी कलम उधारो दिने पसलको साहुले मंसिरमा धान पराल स्याहारेको भोलिपल्टै घरमै आएर धान भरेर लैजान्थ्यो । बर्खाभरि झरिपानीमा पसिना चुहाएर सकी नसकी हामी सबै भएर उब्जाएको उत्पादनजति भकारी नै रित्तै हुने गरी भरियाको ताँती लाएर धान भरेर लैजाँदा मन यति अमिलो हुन्थ्यो कि, छाति निचोरिन्थ्यो भने परिवारमा नरमाईलो छाउंथ्यो। आफ्नो कमाई भएको भए त साहुलाई त्यसरी धान भर्नुपर्ने थिएन भन्ने कुरा गहिरोसंग मनमा घुस्थ्यो । तर कमाउने कहिले र कसरी ? छेउटुपोको केहि भेउ पाएको भए मरिजानु !
लुगा किनेको दिनमा म जस्तो खुशी यो संसारमा अरु को नै हुन्थ्यो र जस्तो लाग्थ्यो । त्यो खुशीले निद्रा पनि लाग्थेन भने भोक त झन लाग्ने त कुरै भएन । आ-आफ्ना नयाँ लुगा सिरानीमा हालेर सुत्थ्यौ, बेला बेलामा राती ब्यूँझदा पनि ठिकदुरुस्त छ कि छैन भनेर छामेर चेकजाँच गरी एक पटक सुँघेर फेरि सुतिन्थ्यो । नयाँ लुगाको गन्ध अर्थात मीठो बास्ना धेरैबेरसम्म नाकमा ठोक्किईरहँदा ज्यादै आनन्द आउँथ्यो । नयाँ लुगा किन्दाको दिनमा कतिखेर लगाएर उफ़्रि-उफ़्रि गाउँभरि देखाउँदै हिड्नु जस्तो हुन्थ्यो र छिट्टै भोलि आईदिए हुदों हो जस्तो लाग्थ्यो झन त्यस्तो बेलामा किन हो कुन्नि हतपती भोलि आउदैनथ्यो। बाल्यकालको चाडपर्व र नयाँ लुगाप्रतिको मोह अहिले पनि सम्झदाखेरी एक किसिमको आनन्दको अनुभूति हुने गर्दछ । शायद सबैलाई यस्तै हुँदो हो कि ?
बस्ती बसाईका हिसाबले त्यतिबेला हाम्रो परिवार लेक र बेसी गर्ने चलन थियो । झण्डै १ दिनको बाटो पर्थ्यो लेक र बेसी । दसै, तिहार जस्ता मुख्य पर्व लेकको भागमा पर्थ्यो। धेरैजसो लेकमै गएर दसै मनाईन्थ्यो । लेकचांही राज्दाङ भन्ने गाउंमा दुर्गा भगवतीको मन्दिर थियो । उहिले मल्ल राजाहरु बस्ने गरेको भएर राज्दाङ भनिएको रे मलाई बुवाले भन्नुभएको । दसैं आउनुपूर्व गाउँलेहरुको कचहरीले कोटघरका लागि एकजना शुद्ध चोखोनिष्ठाको मान्छेलाई पूजारी नियुक्त गर्थे । मन्दिरमा घटस्थापनाका दिनदेखि नवरात्रीभरि पूजापाठ चल्थ्यो । पूजाका लागि छिमेकी गाउँ ताकमबाट घरानिया पुरेत बाजे झिकाईन्थे । आफ्नो जहानपरिवारसंगको दसै त्यागेर पुरेतबाजे पूजाका लागि दसैभरि यतै बस्न आउंथे । पूजारीसंगै परीक्षा दिन आएको परीक्षार्थी जस्तै भएर पुरेतबाजे पनि कोटघरमा संगै बस्थे। हरेक साँझ त्यहाँ मालसिरी गाईन्थ्यो । मालसिरी गाउनका लागि गाउँभरिका कहलिएकोमा हाम्रो बुवा पनि पर्नुहुन्थ्यो । गाउनका लागि स्वर निकै राम्रो भएकोले सबैले फुर्काउँथे, साँझको गास टिप्दासाथ हाम्रो बुवा लगायत गाउँभरिका बुढापाकाहरु कोटघरमा मालसिरी गाउन भेला हुन्थे । नौरथा तालमा नौमती बाजासंगै मालसिरी गाउँदाखेरिको त्यो धुन साँच्चिकै मनमोहक लाग्दथ्यो । अहिलेकाजस्ता आइफ़ोन लगायतका सुबिधा त्यतिबेला पनि हुन्थे भने कति खिचिन्थ्योहोला । दसैंका बेलाको त्यो गुञ्जन अहिले पनि कानमा ताजा भएर आउँछन् । मालसिरी गाएको सुन्न असाध्यै मन पर्ने भएकोले म पनि बुवाको पछि लागेर हरेक साँझ कोटघर जान्थे, गाउँका अरु केटाहरु पनि आउने भएकाले जूनको टहटहमा नानाभाँती खेल्न पनि पाईन्थ्यो । मालसिरी गीत सुनिसकेपछि नजिकैको पीङमा गएर खेल्थ्यौं । हामी भूराहरु कहिलेकाँही निकै अन्यायमा पर्ने गरिन्थ्यो, ठूलाहरुले हेप्थे । उस्तै परे हामीलाई सानो देखेर हातपात पनि गर्थे र भगाउँथे । पीङ खेल्न नपाउँदा असैह्य पीडा हुन्थ्यो, बदलाको भावले जरा गाड्थ्यो तर कसरी बदला लिने भन्ने केहि उपाय थिएन र सहनुको बिकल्प हुन्थेन ।
फूलपातीका दिन दुई जना चोखा र कुमार केटाहरुले पूलपाती लिएर आउँथे । उनीहरुलाई पनि गाउँलेको कचहरीले खटाउँथे । बाजागाजासहित उनीहरुलाई लिन गाउँको पुछारको देउराली भन्ने चौतारासम्म सबै गाउँलेहरु मिलेर जान्थे । हामी भुराहरुलाई पनि हुनुसम्मको आत्तुरी हुन्थ्यो फूलपाती पर्सने समारोहमा आफ्नो सक्रियता प्रदर्शन गर्न । उसो त फूलपाती लिन जाने कुमार केटोमा म पनि एक बर्ष छनौटमा परेको छु । शायद ८ कक्षामा पढ्दै थिँएहुँला । अघिल्लै बेलुकिदेखि चोखोनिष्ठा गरेर भोकै बसी बिहान सबेरै उठी नुहाईधुवाई गरी पण्डित बाजेले दिएको टिपोटअनुसार उखु, अदुवा, बेलपत्र, स्वामी, बर र पिपलको पात, धानका बाला, केराको बोट लगायतका के के हुन् के के फूलपाती र सुन्तला, दारिम, कागती, भोगटे, काक्रो लगायतका अन्य फलफूहरु संकलनका लागि कसैसंग नबोली दिनभरि गाउँपाखाभरि डुलेर हिड्नुपर्थ्यो । भोक र थकाई त्यसमाथि बिभिन्न थरिका फूलपाती तथा फलफूको गह्रुँगो चीजबिजहरु दुलहीलाईझैं डोलामा राखेर बोक्दै दुई जनाले एक एक वटा सिंगो केराको बोटसमेत काँधमा राखेर कोटघर पुर्याउनुपर्थ्यो । अल्लारे काँचा ठिटाहरुको लागि कष्टपूर्ण र कठिन कामको जिम्मेवारीले पनि कहिलेकाँही आत्मबल दरिलो बनाउँदो रहेछ, मलाई त्यस्तै लाग्थ्यो । अर्का १ जना मेरा जोडी त बलिया नै थिए, दुब्लो, पातलो, लूरे त्यसमाथि भोको पेट, गह्रुंगो भारी उकालो बाटो मुश्किलले त्यो बर्ष फूलपातीका लागि छानिएको कुमार केटा मध्यको थान एक मलाई साख जोगाउन हम्मेहम्मे परेको थियो । यसरी ल्याईएको फूलपातीलाई दुलहीलाई झैं बाजागाजा, मालसिरी र परम्परागत बिधि-बिधान बमोजिम कोटघरमा भित्र्याएपछि त्यो दिनको कर्म सकिन्थ्यो ।
अष्टमीको दिनमा टोलभरिका मान्छे एकैठाउँमा भेला भएर दसैंका लागि घरघरमा राखिएको खसी ढलाईन्थ्यो । एकथरि पूजापाठतिर लाग्थे भने हामी केटाहरु खसी भुत्ल्याउने, दाउरापानीको प्रबन्ध मिलाउने र खसीको आन्द्राभुँडी सफा गर्ने लगायतका पाकाहरुका लागि सहयोगीको भूमिकामा तैनाथ हुन्थ्यौं । भित्र्याँस जति बिहानको खानाका लागि भाग लगाईन्थ्यो बाँकी दिनभरि लगाएर खसीलाई टुक्रा पारिन्थ्यो अनि भागबिलो लगाइन्थ्यो । यसरी दसैंको अर्को एउटा महत्वपूर्ण दिन महाअष्टमी पनि दिनभरि मासुसंग खेल्दै रमाईलोका साथ बित्थ्यो भने साँझतिर गाउँभरि हल्ला गर्दै पिङ खेल्ने, मालसिरी सुन्ने, साँस्कृतिक कार्यक्रमको लागि भईरहेको तैयारी लगायतका चहलपहल हेर्दैमा बित्थ्यो ।
भोलि पल्ट महानवमीका दिनमा कोटघरमा मेला लाग्थ्यो । वल्ला पल्ला छिमेकी गाउँलगायत टाढा टाढाबाट पनि आएका मान्छेहरुको मेलामा भिडभाड हुन्थो । स्थानिय स्कुलले बिभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्थ्यो। भलिबल, बास्केटबल, ठेलो फ्याँक्ने, दोहोरी गीत प्रतियोगिता, साँस्कृतिक कार्यक्रम जस्ता रमाईला कार्यक्रमहरु दिनभरि चलिरहन्थे । हामी केहि उरेन्ठेउला केटाहरु भने झण्डीबुर्जा खेलाउँथ्यौ, पाखुरेहरु निहुँ खोजेर पैसा हडप्न खोज्थे, हामी पनि सकेसम्म प्रतिकार गर्थ्यौ, सकेनौ भने खेलै बन्द गरेर भाग्थ्यौं । लाहुर खान बिदेश गएका गाउँका युवाहरु दसै नै पारेर फ़र्कन्थे, उनीहरुको उपस्थितिले गाउँको अनुहार नै उज्यालिन्थ्यो । लाहुरेदाईहरुले आ-आफ्नो ज्यानमा छर्केका पर्फ़्यूमको बास्नाले मेलानै सुगन्धित बनाउँथ्यो, त्यस्तो बास्नादार चीज कस्तो हुन्छहोला, हामीले पनि यसो ज्यानमा छर्न पाए कस्तो हुँदो हो भन्दै मनमनै कल्पन्थ्यौं ।
भोलिपल्ट टिकाको दिनमा बिहानैदेखि टिकाटालाको चटारो सबैको घरघरमा सुरु हुन्थ्यो, आफ्नो त मामाघर नौडाँडा पारि भएकोले मामाघरको दक्षिणासहितको टिका लाउने अवसर त्यति जुरेन । टिकाको दिनको मजा अर्कै हुन्थ्यो । एकपछि अर्को घर हुँदै गाउँभरिका आफन्त र ठूलाबडाकोमा गएर निधारभरि राता टिका र कानमा पहेंला जमरा सिउरेर आशिरबाद ग्रहण गर्दाको क्षण साँच्चिकै आनन्द र खुशीयालीको हुने गर्दछ । बूढापाकाहरुले भाका मिलाउदैं आशिक दिन्थे । सन्तानले डाँडाकाँडा ढाकून्, दूबोजस्तो पलाउनु, पातीजस्तो मौलाउनु भन्न कसैले छुटाउदैनथे । आहा, त्यो क्षण र त्यो माहौल अहिले न त पैसाले किन्न सकिन्छ न त चाहेर पनि त्यो माहौल फ़ेरि बनाउन सकिन्छ । किनभने समयले धेरै नै फ़न्को मारिसकेको छ ।
कहिलेकाँही भने शुभ-अशुभ कारणले दसैं मान्न नपाईने परिस्थितिको सिर्जना हुन जान्थ्यो । त्यस्तो बेला हाम्रो परिवार सबै लेकको घरमा जम्मा हुनुपर्ने अनिवार्य हुन्थेन । पूजापाठ, टिकाटाला नचल्ने भएकोले आधा-उधी रमाईलो घट्न जान्थ्यो त्यसले सबभन्दा घाटा मलाई पार्थ्यो । त्यसैले म लेकको घरमा नगई बेसीकै दसैंमा जसोतसो चित्त बुझाउनुपर्थ्यो । बेसीको दसैंमा पटक्कै फिलिङ नै आउने थिएन त्यसैले केहि मजा हुन्थेन । सबै लोसा, झोक्रिएका, रौनकता हराएका, अनुहारमा चमक गुमाएका जस्ता लाग्ने अर्थात छनौटमा नपरेका बाँकी खेलाडि जस्ता मान्छे मात्र हुन्थे बेसीमा । तै पनि जसोतसो दसैंको कर्म पुरा गर्न कम्मर कसेर लाग्थे बिचरा उनीहरु पनि । गाउँमा पिङ हाल्थे उनीहरु पनि । तर हामीहरुले चान्स कमै पाउँथ्यौं । एकचोटी पिङ खेल्न नपाएको झोंकमा आफै पिङ बनाउन कस्सिएको घटना बडो रमाईलो छ । हामीकहाँ बाँस प्रशस्तै थियो घरमा कसैलाई पत्तो नै नदिईकन टोलभरिका केटाहरु जम्मा पारेर २, ४ वटा बाँस ढाल्ने काम गर्यौं । बाँसघारी मुनिको खाली समथर जग्गामा दुई वटा पोल गाडेर माथिबाट एउटा बास तेर्स्याएर त्यसैमा बाबियोको लठ्ठो झूण्डाएपछि दुई खुट्टे पिङ तयार भयो । खुशीको सिमा रहेन । हामी चचहुइ………. चचहुइ…………..गर्दै खेल्न थाल्यौ । खोलापारिका गाउँलेहरुलेसमेत सुन्ने र देख्ने गरी पिङ खेलेको प्रदर्शन गर्नुथियो । तर अफ़सोच समथर जग्गामा बनाईएकोले पिङ त जति बल गरे पनि पटक्कै मच्चिएन । पिङ मच्चिनका लागि चारवटा अग्लो लिंगो र भिरालो जमिन भएको ठाउँ हुनुपर्ने भन्ने हाम्रो काँचो दिमाखले भ्याएन । यद्यपि आफै पिङ बनाउन सकेकोमा युद्ध जितेको महशुस गर्दै थकाईले लखतरान परेका हामी त्यो दिन चुपचाप सुत्यौं । भोलिपल्ट बिहानै आफुहरुले अघिल्लोदिन अनेकौ जुक्तीकासाथ दिनभरि लगाएर बनाएको पिङ हेर्न घरमुनिको बाँसघारी छेउमा झर्यौं । तर हाम्रो दुई खुट्टे पिङ त डोजर लाएर सुकुम्बासीको बस्ती उठाएझै गरी छिमेकीका भैंसीले आफ्ना सिङलाई डोजर बनाएर भत्काईदिएछन । ती निर्दोष पशुहरुको पनि के दोष बिचरा, उनीहरुले पनि आफ्नै जिउ कनाउनकै लागि बनाईएको हो भन्ठानेहोलान् शायद । पोलमा अडेस लगाउँदैं भएभरको बल लगाएर धसिएपछि जाबो हल्का जमिन खोस्रेर काँचा केटाहरुले गाडेको पोल किन बाँकी रहन्थ्यो र ? यसरी हाम्रो दुई खुट्टे नमच्चिने पिङ दोश्रो दिन सग्लै देख्नै पाईएन । अल्पमतका कारण अल्पायुमै ढल्न पुगेको सरकारजस्तै हाम्रो पिङ पनि भोलिपल्टै ढल्यो । पिङ ढलेपछि बाबियाको लठ्ठा भुइभरि सर्पझैं गुजुल्टिएका थिए भने बाँसका पोल र अरु गरालाहरु भुइमा छरपष्ट बनेका थिए । नजिकै चरिरहेका भैसीहरुले भने हामीलाई हेर्दै जिस्काएझैं लाग्थ्यो । शायद उनीहरुले हामीले नबुझ्ने भाषामा मनमनै भन्थेहोलान् तिमीहरुले बनाएको पिङ, हाम्रो चकचके सिङ के बाँकी रहन्थ्यो र है ?
अचेल दशैंको मौलिकता र अपनत्व हराउँदै छ । अझ बिदेशमा त दशैं देखावटी जस्तै बन्ने नै भयो, ठ्याक्कै ट्रयाकमा गीत गाएजस्तो । साख जोगाउन नाम चलेका कलाकारहरुले पनि मुख चलाएर गीत गाए जस्तो गरी दर्शकलाई आँखामा छारो हालेजस्तो, त्यसलाई लिप्स सङ भन्छन क्या रे । हार्मोनियम, मादल, सारंगी र बाँसुरी जस्ता मौलिक लोकबाजाका लोकधुनबिना नै साँस्कृतिक कार्यक्रम गरेजस्तो । दुलाहा दुलही बिनाको बिबाहमण्डप जस्तो, बस सबै रेडिमेड्, दसैंको मात्रै के कुरो भयो र ? शुभकामनाका औपचारिकता र लोकाचारका शब्दजाल बढेपनि हाम्रो अपनत्वलाई कायमै राख्न हाम्रा सोचाइहरुको उचाई बढेन, हाम्रो जाँगर चढेन । देखावटीमा मात्रै रमाउन जान्यौ । साँच्चिकै हाम्रो साँस्कृतिक धरोहरका यस्ता महत्वपूर्ण पर्वहरुको गरिमा यसरी नै खस्कदैं जाने हो भने हाम्रा पर्वहरु भोलि फेसबुक र स्काइपमा मात्र सीमित नहोलान् भन्न सकिन्न । नेपालमा पुरेतबाजेलाई मन्त्र पढ्न लगाएर बिदेशमा न्वारान् गरिएजस्तै ।
हुन पनि बितेको एकाध बर्षमा मान्छेहरु यति धेरै यान्त्रिक भएका छन कि उनीहरु मान्छेसंग भन्दा मेशिनसंग रमाउन थालेका छन । एक्लै गुनगुनाउने, एकलै हास्ने, एक्लै रुने र एक्लै मुस्कुराउने भएका छन् । सामुन्नेको मान्छेभन्दा मेशिनमा आउने मान्छेलाई बढि महत्व दिन थालेका छन । मान्छेले मान्छे भेट्दाको जुन महत्व र भावनात्मक सामिप्यता हुन्थ्यो त्यो बिस्तारै ओसिलो हुंदै जान थालेको छ । दुखसुखको औपचारिक वार्तालाप हुन छोड्यो । औपचरिकता पुरा गर्नका लागि सामान्य अभिबादन साटासाट गर्न पनि कसैलाई फुर्सद छैन । मान्छेले मान्छेको मुखमा हेर्न छोडे, रेस्पोन्स गर्न छोडे । बिपरित दिशातिर मुन्टो फर्काएर हातको सानो चारपाते मेशिनसंग चल्न थालेपछि जोसुकै जहाँसुकै मरुन कि बांचुन् ! बाल मतलब ! कहाँको टिका, के को जमरा, कसको आशिरबाद, के को शुभकामनाको लण्ठा, फ़ुर्सद नै कहां छ र ? अर्कोतिर यान्त्रिक मान्छेहरुलाई क्याण्डि क्रशको भूत चढेर बसिखा’नु छैन । हामी यान्त्रिक मानवहरुलाई सुत्दा, उठ्दा, सिरकभित्र, सिरकबाहिर, ट्वाईलेटमा बस्दा, खान खाँदा, रेलमा गुड्दासमेत एकछिन फूर्सद छैन, उबेलाको जस्तो दसैं मनाउन त झन के को फूर्सद हुनु ? यस्तो पनि के दसैं ? भैसीको सिङले भत्काउने पिङ हालेको बर्षको जस्तो दसै पो दसैं । कुहिनाबाट खसीको झोल चुहिएर तप तप भुंर्इमा खसुञ्जेल मासुभात खाँदाको मजै अर्को हुन्थ्यो, त्यस्तो पो दसैं । टह टह जूनेली रातमा साथीभाइसंग मालसिरी र पिङको मजा लिदैं गाउँभरि हल्ला गर्दै डुल्दाको मजै अर्को हुन्थ्यो, त्यस्तो पो दसैं । ***
(लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष हुन)