हाम्रो देशको सवालमा “कुमारी आमाहरु” भन्ने बित्तिकै निकै नै नकारात्मक हेराइ र प्रतिक्रिया हुने गर्दछ। कुमारी आमा यानेकि घरमै बसी-बसी विवाहबेगर नै बच्चा जन्माउनु। सोच्दै मान्छेले जिब्रो टोक्ने गर्छन।अधिकांश बखतमा बाबुको पहिचान नभएको कारणले गर्दा यी कुमारी आमाका बच्चाहरुले नागरिकता समेत नपाउने अवस्था छ नेपालमा। नेपाल जस्तो सामाजिक परिवेशमा बिना विवाह घरमै बसी-बसी बच्चा जन्माउने हिक्मत पनि सानो भने अबश्य होइन। हुन त क्षणिक आबेश लाई साहसको रुपमा लिन त नमिल्ला तर कुमारी आमा बने पश्चातको बाटो भने वास्तवमा साँच्चै नै नर्क सरि छ हाम्रो देशमा, नर्क त्यो पनि जिउंदै भोग्नुपर्ने। तर उता जापानमा भने त्यस्तो छैन। जापानमा आजकल आमा बने पस्चात विवाह गर्ने जोडीको संख्या बढ्दै गएको छ। जापानीहरुले यस्ता विवाहलाई “देकिच्यात्ता केक्कोन” अथवा छोटकरीमा “देकिकोन” भन्ने गर्छन।
केटी गर्भवती भएपछि गरिने विवाह अर्थात “देकिकोन” लाई अर्को शब्दमा कसैकसैले विवाह र बच्चा दुवै सुखद कुराहरु एकैचोटी पाउने विवाह भएको हुनाले “डबल ह्याप्पी विवाह” पनि भन्ने गर्छन। अमेरिकामा यस प्रकारको विवाहलाई “शटगन वेडिंग” भन्ने गरिन्छ। जसको अर्थ हो कुमारी अवस्थामा नै आफ्नी छोरीलाई गर्भवती बनाइदिएको झोंकमा गर्भवती केटीका बाबुले केटाको टाउकोमा बन्दुक राखेर गर्ने विवाह, विवाह नगरे गोलि हान्ने भन्ने अर्थमा “शटगन वेडिंग भन्ने गरिन्छ। तर नेपालमा भने कुमारी केटि आमा बनेपछि अधिकांश केसमा बाबु नै बेपत्ता हुन्छन, विवाह त धेरै अलग कुरा हो। सामाजिक परिवेश, साक्षरता तथा देशको परम्परागत अवस्था सँग कुमारी विवाह पनि फरक-फरक रहेका छन्।
|
|
एक तथ्यांक अनुसार जापानमा सन् १९८० को दशकमा “देकिकोन” गर्नेहरुको संख्या विवाह गर्ने व्यक्तिहरुको संख्याको १०.६ % थियो अर्थात सय जना वैवाहिक बन्धनमा बाँधिने जोडीहरुमा लगभग ११ जना “कुमारी आमा” दुलहिहरु भन्ने जनाउँछ। यो संख्या लगभग २४ बर्ष पछाडी, सन् २००४ तिर दुगुना भन्दा बढी बढेर २६.७% पुगेको थियो (सन् २००९ को आँकडा अनुसार २५.३% रहेको छ) र हाल सन् २००९ मा जापानको ओकिनावा क्षेत्र भित्र मात्र गरेको सर्वेक्षण अनुसार त १०० जना वैवाहिक जोडी मध्ये ४२ जना कुमारी आमाहरु रहेका छन्। यो संख्या देशभरिको आँकडालाई हेर्ने हो भने “देकि कोन” गर्नेहरुमा १५-१९ बर्ष उमेरका युवा-युवतिहरु लगभग ५८.४% रहेका छन्। जापान जस्तो विकसित देश तर यस्तो आँकडा देख्दा अचम्म लाग्नु स्वाभाविक हो। सायद कतिलाई त बिश्वाश पनि नलाग्न सक्छ तर यो तितो यथार्थ हो। जापानीहरु यसलाई खासै अचम्मको बिषयले हेर्दैनन् तर २० बर्ष मुनिका कुमारी आमाहरुको सवालमा भने निकै नै गम्भीर हुने गरेका छन्। यो आँकडा मा प्रमुखरुपमा २ वटा कुराले भूमिका खेलेको देखिन्छ १) २० बर्ष भन्दा मुनिका केटाकेटीहरुमा भएको अज्ञानता सँगसँगै बच्चा जन्मे पश्चात गर्नुपर्ने कर्तव्यहरुको हेक्का नहुनु २) जापानमा प्रेमी-प्रेमिका जोडीहरु कोठा शेयर गरेर बस्ने प्रचलन हुनु (नेपालको परिवेशमा जिब्रो टोकेपनि, जापानमा सँगै बस्नु खासै नौलो मानिंदैन)।
अचेल जापानमा पनि विवाह पहिला या बच्चा पहिला भन्ने बिषयमा निकै नै छलफल हुने गरेको छ। विवाह पहिला गरेर अनि बच्चा जन्माउनु पर्छ भन्नेहरु बच्चा जन्मेपछि गर्नुपर्ने काम र कर्तव्यहरुको हेक्का नराखी बच्चा जन्माउने अनुत्तरदायी काम भएको जनाउँछन् भने उता विवाह गर्नुअगावै बच्चा जन्माउँदा खासै फरक नपर्ने भन्नेहरु भने यहाँको व्यस्तता लाई ध्यान दिनुपर्ने बताउँछन्। हुनपनि अति नै व्यस्तताको जिन्दगि भएको हुनाले धेरैजसो जापानिजहरु विवाहमा त्यति चासो राख्दैनन् र प्रतिफलमा केटाकेटी सँगै बस्ने प्रचलन भएको हुनाले झुक्किने सम्भावना लाई नकार्न नमिल्ने उनीहरु जिद्धि गर्छन। जापानको सवालमा दुवै पक्षको कुरा मननयोग्य छ भने नेपालको सन्दर्भमा “को ठिक को गलत” भन्ने सवाल नै उठ्दैन, सिधै कुमारी आमाको टाउकोमा मात्र दोष थोपर्ने गरिन्छ।
यहाँसम्मकि प्राय:जसो केसमा त बच्चा को बाबु नै बेपत्ता हुन्छ र कुनै- कुनै केसमा समाजमा बेइज्जत हुने डरले अत्याँसलाग्दा आपराधिक क्रियाकलाप (कुमारी आमा नै मारिदिने) समेत हुने गरेका छन्। बच्चा बनाउने प्रक्रियामा केटा-केटि दुवै पक्षको उत्तिकै हात हुने भएपनि हाम्रो समाजले किन केटि पक्षलाई मात्र आँखा चिम्लेर दोष थोपर्ने गरेको होला? निकै नै गम्भीर प्रश्न हो यो किनकि कुमारी आमाको सवाललाई लिएर समाजमा निकै नै डरलाग्दा घटनाहरु घटेका छन्। केटि पक्षलाई मात्र दोष दिनुको साँटो अमेरिकाको जस्तो “शटगन म्यारिज” गराउँदा पो राम्रो हुने हो कि? खैर जे होस्, एउटा बच्चालाई आफ्नो बाबु-आमा सँगै भएको परिवार दिलाउनु नै समाजको कर्तब्य हो, कुमारी आमाहरुको सन्दर्भमा। जापानमा पनि कुमारी विवाह गरि सम्बन्ध-बिच्छेद गर्नेहरुको सङ्ख्या अति नै (कुमारी विवाह गरेका अधिकांश १०० मा ५३ जनाको सम्बन्ध-बिच्छेद) भएको हिसाबले “कुमारी आमा” बन्नु भन्दा अगावै नै सुरक्षित उपायहरु अपनाउनु सामाजिक दृस्टीकोणले एबम जन्मेर आउने बच्चाको सुखद भबिस्यको लागि पनि महत्वपूर्ण निर्णय हुनसक्छ।
झन् नेपाल जस्तो सामाजिक परिवेश, पारिवारिक परिवेश र एक्लै बाँच्न पनि हाड घोट्नु पर्ने देशमा कुमारी आमा हुनुभनेको जिउंदै नर्कको अनुभव लिनु बराबर हो। साथै जापान जस्तो विकसित देशमा समेत यस्तो समस्याले विकराल रुप लिनु भनेको समस्या विकसित देशहरुलाई हुन्दैनन, अविकसित देशहरुलाई मात्र हुन्छ भनेर सोच्नु बेकार हो भन्ने एउटा प्रमाण हो। मानव जाति भएको हिसाबले समस्या सबैतिर हुन्छन तर त्यसलाई समाधान गर्ने तौरतरिका र उपायहरु कतिसम्म विकसित भएको छ भन्ने नै महत्वपूर्ण पक्ष हो। कुमारी आमाहरुको सन्दर्भमा जापानले हरेक बर्ष जसो नयाँ नीति र नियमहरु तर्जुमा गर्ने गर्छ, नेपाल सरकारले पनि त्यसलाई केहि मात्रामा भएपनि अवलम्बन गरे कुमारी आमाहरुलाई केहि राहत मिल्थ्यो कि ?