काठमाडौं- कला देखाउने काम भन्दै गाउँका सोझासिधा बेरोजगार युवतीलाई तेस्रो मुलुक पुर्याएर यौनधन्दा लगाउने गिरोहको सक्रियता पछिल्लो समयमा बढेको छ । भारतीय ‘रेडलाइट’ एरिया पुर्याएर विक्री गरी यौनधन्दामा विवश तुल्याउने गरिएकामा पछिल्लो समय दिल्ली र मुम्बईका अलाबा खाडी मुलुक, एसियाली र अफ्रिकी देशसम्म कलाकारको आवरणमा लगेर धन्दामा लगाउने क्रम बढेको छ ।
प्रहरीले भदौ अन्त्यतिर पक्राउ गरेको यस्तै एक गिरोहबाट अहिले नेपाली युवती स्थलमार्गवाट भारतमामात्र होइन, कलाकार र पर्यटकको भिसामा हवाईमार्ग हुँदै दुबई, बहराइन, दक्षिण अफ्रिकाजस्ता देशमा रात्रिकालिन व्यवसायमा मनारेञ्जनको साधन बनाउने क्रम बढेको खुल्यो ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो अधिकारीका अनुसार पछिल्लो समय दुबई, मलेसिया, बहराइन, बैँकक, सिंगापुरदेखि दक्षिण अफ्रिकासम्म दलालहरुले कलाकार र पर्यटकको आवरणमा नेपाली युवती पुर्याउने गरेका छन् ।